विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलका क्रममा रिसाएर नेपाल कप्तानलाई जिस्क्याउने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो। खेलपछिको पोष्ट म्याच कम्फेरेन्समा नेपाली कप्तान पौडेलले घटनाबारे छोटो प्रतिक्रिया दिएका थिए । बंगाली खेलाडीले आफूलाई सक्छस् भने हान् (हिट मी) भनेको र आफूले गएर बलिङ गर भनेकोबाहेक अरु केही नभएको बताएका थिए । नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो। नेपाली कप्तान रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए। तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ। २.१२ को व्यवस्था खेलाडी, उनीहरुका सहयोगी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्ति (दर्शक समेत)सँग अन्तर्राष्ट्रिय खेलका दौडान अस्वाभाविक शारीरिक स्पर्शसँग सम्बन्धित छ। आईसीसीका मैदानमा रहेका अम्पायरद्वय अहसन राजा र साम नोगाज्स्कीसँगै तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले उक्त कारबाही गर्नुपर्ने ठहर गरेका थिए। तान्जिमले आफूले गरेको गल्ती महशुस गरेको र आईसीसीको कारबाही स्वीकारेको बताइएको छ। अम्पायर रिची रिचार्डसनले तान्जिमविरुद्ध कारबाही सिफारिस गरेका थिए। उक्त खेलमा नेपालविरुद्ध बंगलादेश २१ रनले विजयी भएको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.