राज्यलाई चुनौती दिदै विप्लवको पार्टीले १ अर्ब लगानीमा कालिकोटको माल्कोटसम्म पुर्यायो बाटो

डेली न्युजराप्ती       १६ असार २०८१ ०७:३२ मा प्रकाशित     37 No Comments

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले जिल्लाको खुलालुदेखि ‘सि गाँउ’ स्थित माल्कोटको सल्लारुखसम्म जनश्रमदान सहित करिब १ अर्ब लगानीमा मोटर बाटो पुर्याएकोे छ ।
नेपाल कम्युनिष्ट पार्टीले खुलालु –लालु लैफु सडक खण्डको नाम दिएको सो सडक खण्डको खुलालु –माल्कोट सडक खण्डको सल्लारुखसम्म करिब १२ किलोमिटर मोटर बाटो निमार्ण गरेको हो ।
कडा चट्टानी भागलाई कडा मिहिनेतका साथ कतै डोजर त कतै मान्छेले काट्दै मोटरबाटो सल्लारुख पुगेको हो ।
यो मोटर बाटो निमार्ण गर्न नेकपाले जनताको जनश्रमदान सहित जोडेर झण्डै १ अर्ब लगानी गरेको छ।
नेकपाले २०७४ साल फागुनदेखि यो मोटर बाटोको निमार्ण कार्यको थालनी गरेको थियो । तर पार्टीमाथि राज्यले २ बर्ष प्रतिबन्ध लगाएपछि मोटरबाटो निर्माण कार्य पनि प्रभावित भएको थियो ।
नेकपाले प्रतिक्रान्तिकारी,जनविरोधी सोच भएका तत्कालिन राजनीतिक दलका नेता तथा राज्यका संयन्त्रहरुले मोटर बाटो निर्माणमा अबरोध खडा गरेकाले प्रभावित भएको दाबी गरेको छ ।
नेकपाले निर्माण कार्य रोकिएको मोटर बाटो विगत १ बर्ष अघिदेखि पुनः सुचारु गरेको हो । निर्माणकार्य रोकिएको चिउरारुखबाट पछिल्लो पुस महिनादेखि नेकपाले मोटर बाटो निर्माण कार्य सुरु गरेको थियो ।
माल्कोटको चिउरारुखदेखि चौथा,सेरापाटा हुदै सल्लारुख ‘सी गाँउ’ माल्कोटसम्म करिब ४ किलोमिटर मोटर बाटोको निर्माण गर्ने कार्य सम्पन्न भएको नेकपा कालिकोटका इन्चार्ज विवेक सीले जानकारी दिएका छन।
सल्लारुखसम्म डोजरले खनेर मोटरबाटो पुर्याएपछि स्थानीय जनताहरु निकै हर्षित हुदै भव्य स्वागत समेत गरेका छन । खुलालु देखि चिउरारुख सम्म करिव ८ किलोमिटर मोटरबाटो यसअघि नै नेकपाले निमार्ण गरेको थियो ।
नेकपाले यो बाटो निमार्णमा करिब ९९ प्रतिशत जनश्रमदान र पार्टीको लगानी गरेको हो । राज्यले प्रतिबन्धको बेला असहयोग गरेपनि पछिल्लो समयमा बाटो निमार्णमा करिब ७० लाख राज्यले लगानी गरेको छ । सरकारी क्षेत्रको यो लगानी नेकपाले गरेको लगानीको १ प्रतिशत पनि पुग्दैन ।
राज्यलाई नै चुनौती दिदै नेकपाले एक्लै हिक्मत राखेर जनतासंगको सहकार्यमा यो मोटर बाटो बनाउने काम गरेको हो । यसले यो मोटर बाटो निर्माणमा राज्यले गरेको व्यवहारमाथि प्रश्न उठेको छ ।
यो मोटर बाटो निर्माणमा हजारौ जनताको जनश्रम लागेको छ । करिब ९९ करोड ३० लाख रुपैया वरावरको पार्टीको लगानी र जनश्रमदान भएको नेकपाका प्रवक्ता प्रकाण्ड सीले दाबी गरेका छन ।
नेकपाले सडक निमार्ण गर्दा जनश्रमसंगै डोजर प्रयोग गरेर अहोरात्र खटिदै मोटर बाटो ‘सी गाँउ’ माल्कोट पुर्याएको हो ।
सरकारको तर्फबाट एक पटक ४० लाख र अर्को पटक ३० लाख गरी करिब ७० लाख रुपैया सडकमा लगानी भएको नेकपाले बताएको छ ।
संघीय कार्यक्रम अन्तरगत सडक डिभिजन कार्यालय जुम्लाबाट १ करोडको ठेक्का परेको आयोजनामा घटी घटाउनमा च्यासरा निमार्ण सेवाले ४० लाखमा ठेक्का पाएको थियो । सोही ठेक्का अन्तरगतको काम अरु प्राविधिक खर्च कटाएर ३० लाखमा नेकपाले आफै जिम्मा लिएर गरिरहेको छ ।
यसअघि गाउँपालिका मार्फत १ करोडको ठेक्कामा घटिघटाउ गर्दा करिब ४० लाखमा अर्को निर्माण सेवाले ठेक्का पाएको थियो । त्यो काम पनि नेकपाले गरेको छ ।
मोटर बाटो माल्कोट पुगेपछि ‘सी गाँउ’वासी जनताले नेकपाका नेता कार्यकर्ता तथा डोजर चालक प्राविधि टिमलाई विहिवार भव्य स्वागत गरेका हुन ।
नेकपाले लालु लैफु सडक खण्ड अन्तरगत खुलालु देखि ‘सी गाँउ’ माल्कोटसम्म करिब १२ किलोमिटर बाटो खनेको हो । यो बाटो निमार्ण गर्ने कार्यमा प्रत्यक्ष नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले गरेका हुन।
तत्कालिन सत्तामा हुने पार्टीहरुले सो मोटरबाटो निमार्ण कार्यलाई अबरोध गरेका थिए । पछिल्लो समयमा नेकपाका प्रवक्ता प्रकाण्ड सीले राज्यबाट केही बजेट हाल्न लगाएर सडक निमार्णको कामलाई निरन्तरता दिएका हुन ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीको जन्म गाउँ माल्कोट भएकाले पनि प्रतिपक्षीय पार्टीहरुले प्रवक्ता प्रकाण्डलाई बदनाम गराउन बाटो निमार्णमा कुनै साथ दिएका थिएनन् ।
नेकपाको उच्च तहको नेता तथा पूर्वमन्त्री भएको गाँउमा अझै मोटर बाटो पुगेन भनेर बदनाम गराउनु प्रतिपक्षीहरुको काम थियो एकजना स्थानीयले भनेका छन ।

प्रवक्ता प्रकाण्डलाई जनताबाट अगल गराउने डिजाईन अन्तरगत बाटो निर्माणमा असहयोग गरिएको थियो । तर पनि नेकपाले बाहिरीय विभिन्न चुनौतीहरुको सामना गर्दै खुुलालु देखि ‘सी गाँउ’माल्कोट सम्म मोटर बाटो पुर्याउने कार्य निकै महत्वपूर्ण छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीले ठुला– ठुला चुनौतीहरुको सामना गर्दै पार्टीको नेतृत्वमा बाटो सी गाउँ पुगेकोप्रति खुसी व्यक्त गर्दै यस कार्यमा सहभागी सबैलाई धन्यवाद दिएका छन ।

नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले स्वागत कार्यक्रममा बाटो निमार्ण कार्यमा सी गाउँका लागि अर्को विजयको दिन भएको भन्दै निमार्ण कार्यमा सहभागी डोजर चालक लगायत पार्टी नेता कार्यकर्ता र जनतालाई विशेष धन्यावाद दिएका छन ।
स्थानीय जनताले पार्टीको उक्त कार्यप्रति खुसी व्यक्त गर्दै पार्टी प्रवक्ता प्रकाण्ड,नेता कार्र्यकर्ता र सिंगो पार्टीलाई विशेष धन्यवाद दिएका छन । नेकपाले यो मोटर बाटोलाई रुप्सा हुदै माथिल्लो पहाडी भागबाट लैफुसम्म पुर्याउने लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार