सोभियत समाजवादी गणराज्य सङ्घ (USSR) मजदुर र किसानहरूको समाजवादी राज्य हो ।”
रुसी जनताले विश्वलाई सन्देश दिने गरी अक्टोबर समाजवादी क्रान्ति सन् १९१७ मा सम्पन्न गरे । अक्टोबर क्रान्तिको तोपले संसार गुञ्जियो । यसले विश्वका श्रमजीवी जनतालाई व्यूँझायो । अक्टोबर क्रान्ति पश्चात सोभियत सत्ता स्थापना भयो ।
अक्टोबर क्रान्तिपश्चात रुसी भूमीमा समाजवाद लागू गर्न सन् १९३६ डिसेम्बरमा संविधान जारी गरियो । माक्र्सवादले देखाएको बाटो, लेनिनवादी नीतिको कार्यान्वयन नै सो संविधानको मूल मर्म थियो । माक्र्स र एङ्गेल्सले तयार पार्नुभएको कम्युनिस्ट घोषणापत्रको भावना समेटिएको रुसी संविधान नै श्रमजीवी वर्गको पहिलो संविधान थियो ।
श्रमजीवी वर्गको संविधान कस्तो हुन्छ ? यसबारे बुझ्न कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र सबै नेपालीहरुले पढ्नुपर्ने संविधान ‘सोभियत सङ्घको संविधान १९३६’ हो । सोभियत संविधान पढेर नेपालीहरुले त्यसको शिक्षा लिनुपर्दछ । यो किताबको अंग्रेजी भर्सन गुगलमा भेटिन्छ । https://ladyizdihar.com/blogs/izdihars-soviet-archive-2/constitution-of-the-ussr-december-5-1936 मा रहेको छ । यसको नेपाली अनुवाद वि.सं. २०६६ सालमा पत्रकार समाज भक्तपुरले गरेको छ ।
नेपालको संविधानले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्न सकेको छैन । यो संविधानको चौतर्फी आलोचना हुँदै आएको छ । यो परिदृश्यमा सोभियत संविधानको अध्ययन आवश्यक छ ।
क्रान्तिको उपलब्धिका रूपमा प्राप्त सर्वहारा हुकुममा गाउँ र सहरहरूका जनताका प्रतिनिधिहरूको परिषद्ले सोभियत सङ्घको राजनैतिक आधार तयार गर्छ । पुँजीवादी ढाँचाको अर्थतन्त्रलाई पल्टाएर पूर्णतः समाजवादी ढाँचाको अर्थतन्त्रको निर्माण र उत्पादनका सम्पूर्ण साधनहरूमा समाजवादी स्वामित्व खडा गर्छ । मानिसले मानिसलाई गर्ने सबैखाले शोषणको अन्त्य गर्ने आर्थिक आधार निर्माण गर्ने कुरा संविधानमा उल्लेख छ । सामूहिक खेती र सहकारी सङ्गठनहरू राज्यअन्तर्गत सञ्चालन गरिन्छ । समाजवादी ढाँचाको अर्थ प्रणालीअन्तर्गत ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’को व्यवस्था संविधानमा छ ।
सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ नै सोभियत सङ्घ हो । सोभियत सङ्घको मन्त्रीपरिषद् अर्थात् जनकमिसार परिषद्, सङ्घीय गणराज्यहरू, मन्त्रालयहरू, जनताका सङ्गठन र स्थानीय निकायको संयुक्त रूप सोभियत सङ्घ हो । सोभियत सङ्घमा १६ वटा सोभियत समाजवाद गणराज्यहरू समावेश थिए । सर्वोच्च सोभियतका दुई सदन थिए – सङ्घीय गणतन्त्रको सोभियत र राष्ट्रियताहरूको सोभियत । सन् १९३६ डिसेम्बरमा जारी गरिएको सोभियत सङ्घको संविधानलाई सर्वोच्च सोभियतका प्रथम, द्वितीय, तृतीय, छैटौँ, सातौँ र आठौँ अधिवेशनले संशोधन गरेको जानकारी प्रकाशकीयबाट मिल्छ । सोभियत समाजवादी गणराज्यहरूको सङ्घको सबैभन्दा माथिल्लो सोभियत सङ्घको संविधान १९३६ को पहिलो धारामा लेखिएको छ – “सोभियत समाजवादी गणराज्य सङ्घ (USSR) मजदुर र किसानहरूको समाजवादी राज्य हो ।” जसले काम गर्दैन उसले खान पाउँदैन भन्ने सिद्धान्तअनुरूप सोभियत सङ्घमा प्रत्येक सक्षम व्यक्तिका लागि श्रम भनेको कर्तव्य एवम् इज्जतको विषय हो भनी संविधानमै लेखिएको छ ।
सोभियत सङ्घ अर्थात् केन्द्रीय सरकारको क्षेत्राधिकार प्रस्ट तोकिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, सन्धि सम्झौताहरू, सुरक्षा मामिला, युद्ध र शान्ति, सिमाना निर्धारण, केन्द्रीय आर्थिक योजना र राजश्व बाँडफाँड, बैङ्क, यातायात र सञ्चार क्षेत्रको प्रशासनिक अधिकार, मौद्रिक र वित्तीय क्षेत्र, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित सवाल, श्रम ऐन–कानुन, न्यायप्रणाली, नागरिकता, नयाँ गणराज्यहरूको प्रवेश अर्थात् विशेष विषयहरूमा केन्द्रीय सरकारको प्रत्यक्ष अधिकार क्षेत्रका रूपमा उल्लेख छ । साथै, केन्द्रले संविधान, ऐन–कानुन कार्यान्वन भए–नभएको विषयमा नियमन पनि गर्दछ ।
१६ वटा गणराज्यहरूको आ–आफ्नो मौलिकता अनुसारको संविधान हुने र सो संविधान केन्द्रीय संविधानसँग नबाझिएको हुनुपर्ने उल्लेख छ । ती गणराज्यहरूलाई स्वाधीनतापूर्वक आफ्नो अधिकार क्षेत्रमा काम गर्ने सार्वभौम अधिकार दिइएको छ । सोभियत अधिकार दिइएको छ । सोभियत नागरिकहरूलाई एकल नागरिकताको बन्दोबस्त छ । सम्पूर्ण गणराज्यका जनता सोभियत सङ्घकै नागरिकका रूपमा परिचय बोक्छन् । गणराज्यभित्र स्वशासित क्षेत्रहरूको अभ्यास सोभियत सङ्घले ग¥यो ।
जातजाति र वर्णका आधारमा विभेद गर्न नपाइने, धर्मका आधारमा द्वेष या घृणा फैलाउन नपाइने कानुन छ । नागरिकको विवेकसम्बन्धी स्वतन्त्रता सुनिश्चित गर्न चर्चहरूलाई राज्यबाट र विद्यालयलाई चर्चबाट अलग्ग गरियो । सञ्चार, प्रकाशन र वाक स्वतन्त्रतासँगै सोभियत जनतालाई सङ्गठनहरूमा सङ्गठित हुने अधिकार संविधान प्रदत्त छ ।
निर्वाचन प्रणालीबारे प्रस्ट धाराहरू उल्लेख छन् । कानुनमा उल्लेख भएबमोजिम निर्वाचित प्रतिनिधिले काम गर्न नसकेको अवस्थामा बहुमत मतदाताहरूले कुनै पनि बेला प्रत्याह्वान गर्न सक्ने व्यवस्था छ । संविधानमा राष्ट्रिय चिन्ह, झन्डा र राजधानी साथै संविधान संशोधनको व्यवस्था उल्लेख छ । १३ भाग र १४६ वटा धारा भएको सोभियत सङ्घको संविधान सन् १९३६ अत्यन्त पठनीय छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.