विप्लव नेतृत्वको नेकपाको एक्सन सुरु, घुस लिँदालिँदै झापाका वडा अध्यक्ष ओली पक्राउ

डेली न्युजराप्ती       ९ आश्विन २०८१ १०:०५ मा प्रकाशित     45 No Comments

प्रविण अधिकारी
झापा । झापाका एक वडा अध्यक्ष सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका २ नम्बर वडा अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडा अध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपाका पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । स्ट्रिङ अपरेशन चलाएर वडा अध्यक्ष ओलीलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स बाहिरबाट मंगलबार दिउँसो करिब १ बजे घुस रकमसहित पक्राउ गरेको विप्लव नेकपाका नेता सञ्जय राईले जानकारी दिए । पक्राउ परेका ओलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान इटहरीको टोली आउन लागेको उनले बताए ।

यता स्थानीयले पनि जनप्रतिनिधि भएर जनताको सेवा गर्नुका साटो उल्टै जनताबाट मोटो रकम घुस लिएर ढाड सेक्ने कार्य निन्दनीय रहेको बताउँछन् । यस कार्यमा संलग्नलाई कानुनी कार्वाही गरिनुपर्ने उनीहरूको भनाइ छ ।

घटना विवरण अनुसार भारतीय नागरिक अमरनाथ चौहानले बुद्धशान्ति गाउँपालिकामा आफ्नो व्यवसाय सञ्चालनका लागि स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए ।

चौहानले बुद्धशान्तिमा जग्गा खरिदका लागि घिमिरेलाई भारतीय रुपैयाँ १४ लाख ५० हजार अर्थात् नेपाली रुपैयाँ २३ लाख २० हजार दिएका थिए । सोही रकम बमोजिम घिमिरेले बुद्धशान्ति ५ मा जग्गा खरिद गरेका थिए । पछि घिमिरेले भारतीय नागरिक भएकोले चौहानलाई धोका दिएर जग्गामा आफ्नो नाममा हडपी हाले । चौहान पीडित भएपछि न्यायका लागि बुद्धशान्ति २ नम्बर वडा कार्यालय पुगे ।

वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता वा जग्गा नामसारी गरिदिने सर्तमा लिखित कागज गराएका थिए । सो कागज वडा अध्यक्ष डिल्लीप्रसाद घिमिरेकै रोहबरमा २०८० साल चैत १ गते गराइएको थियो । कागजमा भनिएको छ, चौहानले घिमिरेलाई दिएको २३ लाख २० हजार रकममध्ये घिमिरेले २ लाख २७ हजार ३ सय रुपैयाँ खर्च भएको बताएकोले बाँकी रकम २० लाख ९२ हजार ७ सय रुपैयाँ २०८१ भदौ मसान्तभित्र वडा कार्यालयको रोहबरमा चौहानलाई उपलब्ध गराउने वा खरिद गरिएको जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।

सोही निर्णय बमोजिम घिमिरेले चौहानलाई रकम फिर्ता गर्ने हुँदाहुँदै पछि वडा अध्यक्ष ओलीले पीडित चौहानसँग रकमको बार्गेनिङ गर्न थालेका थिए । रकम उपलब्ध गराइदिने सर्तमा वडा अध्यक्ष ओलीले चौहानसँग एक लाख भारु मागेका थिए । चौहानले त्यत्रो रकम दिन नसक्ने भनेपछि वडा अध्यक्ष ओलीले उल्टै उनलाई धाकधम्की दिँदै आइरहेका थिए । आफू पीडित भएकोले ५० हजार भारु मात्र दिन सक्ने भनेपछि अन्तत वडा अध्यक्ष ओली उनका कुरामा सहमत भए ।

तर, चौहान आफू पीडित भएको कुरा विप्लव नेकपाका कार्यकर्तालाई भेटेर सुनाइसकेका थिए । विप्लव नेकपाका कार्यकर्ताहरूले नै चौहानलाई बोलाएर रकम दिन लगाएर वडा अध्यक्ष ओलीलाई घुससहित पक्राउ गरिएको विप्लव नेकपाका झापा जिल्ला सचिव सञ्जय राईले जानकारी दिए ।

घुससहित पक्राउ परेका वडाध्यक्षलाई अख्तियार कार्यालय लगियो
मंगलबार दिउँसो घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका बुद्धशान्ति–२ झापाका वडाध्यक्ष डिल्लीप्रसाद (गोपाल) ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय लगिएको छ ।

उनलाई बिर्तामोडको हनुमान सेन्ट्रलमा घुस लिँदै गरेको अवस्थामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले कानुनी प्रक्रिया पुरा गरी मंगलबार राति लिएर गएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनले अमरनाथ चौहानलाई घरजग्गा बाटोको सिफारिस उपलब्ध गराउन डेढ लाख रुपैँया घुस मागेको बताइएको छ । मंगलबार ८० हजार रुपैँया घुस सहित उनी पक्राउ परेका थिए ।

ओलीले घुस मागेको घटना बाहिरिएपछि नेकपाका प्रदेश समिति सदस्य अर्जुन पाण्डे नेतृत्वको टोलीले अपरेशन चलाएको नेकपाका केन्द्रिय सदस्य सुमनसिंह सीले जानकारी दिए । उनले बुझिलिएका सम्पूर्ण नोटहरुको नम्बर अग्रिम नोट गरिएको र घटनाको अडियो भिडियो सुरक्षित गरिएको नेकपाका झापा सेक्रेटरी सञ्जय सीले जानकारी दिए । अपरेशनको क्रममा प्रदेश समिति सदस्य हुकुम सीलगायतको सहभागिता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार