नेकपा (एस )ले किन गर्यो ‘एक पद एक व्यक्ति’ को संरचनामा जाने निर्णय?

डेली न्युजराप्ती       २० कार्तिक २०८१ १२:५६ मा प्रकाशित     109 No Comments

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ‘एक पद एक व्यक्ति’ को संरचनामा जाने भएको छ। सो पार्टीका सचिव सोमप्रसाद पाण्डेयले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने जानकारी दिए । उनले संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’ को अवधारणा कार्यान्वयन गर्न लागिइएको बताउदै पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको जानकारी दिए।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ। कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ।
नेताहरूको सक्षमता, विगतका कार्यसम्पादनको मूल्यांकन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सांगठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले बताए।
अध्यक्ष नेपाल विदेश भ्रमणमा रहेकाले उनी स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय संगठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ। पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको सचिव पाण्डेयले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार