विप्लवको पार्टीले दाङमा एकैदिन बेच्यो २ लाखको धान

डेली न्युजराप्ती       २८ कार्तिक २०८१ २१:०७ मा प्रकाशित     135 No Comments

कार्तिक २८,दाङ । विप्लव सी नेतृत्वको नेकपाले दाङको तुलसीपुरमा एकैदिन २ लाख रकम बराबरको धान बेचेको छ ।
पार्टीले तुलसीपुर-१६ कन्ज्वारमा लगाएको धान बिक्रि गरेको हो ।

पार्टीको स्वामित्वमा करिव २ बिघा जमिन भाडामा लिएर पार्टीका नेताकार्यकर्ताहरुले गरेको धान खेतिमा करिव ७५ क्विन्टल धान उत्पादन भएको थियो ।

पार्टीले ७५ क्विन्टल मध्यबाट करिव ६० क्विन्टल धान स्थानीय मिल व्यवसायीलाई बिक्रि गरि बचेको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि पार्टीको गोदाममा राखेको नेकपाका दाङ जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् ।

यस्तै पार्टीले जिल्लालाई तिनवटा उत्पादन केन्द्रमा बिभाजन गरि सामुहिक खेतिपाती गरिरहेको छ ।
पार्टीले देउखुरी , घोराही र तुलसीपुरलाई उत्पादन केन्द्र बनाएको छ ।

मंगलबारदेखि नेकपा दाङले जिल्लामा धान भित्र्याउन सुर गरेको पनि जनाएको छ ।
मंगलबार तुलसीपुर-१७ घट्टेकुलामा पार्टीको एकीकृत स्वामित्वको प्रणाली अनुसार गरिएको साढे ३ बिघा क्षेत्रफलमा लगाएको धान भित्र्याएको छ ।

पार्टीले सो जमिनमा मात्रै १ सय १० क्विन्टल धान उत्पादन गरेको जनाएको छ । साथै उक्त परिमाणको धान पनि पार्टीले गोदाममा सुरक्षीत गरेको छ ।

पार्टीले कृषि मार्फत आत्मनिर्भर र उधोग मार्फत समृद्धिको नारासहित बिस्तारै उधोग , कलकारखानातिर पनि लगानी गर्ने सोच बनाएको नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले बताए ।

उनले भने– ‘हामी कृषि मार्फत आत्मनिर्भर बन्ने र उधोग , कलकारखाना मार्फत समृद्धि हासिल गर्ने नीति लिएर उत्पादनलाई अघि बढाएका छौँ । हामिले उत्पादनलाई समाजवादी व्यवस्थाको अर्थप्रणालीसंग जोडेर काम गरिरहेका छौँ । यो हाम्रो कार्यदिशाको मौलिक पक्ष हो । हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत देशलाई दलाल पुजीवादी संसदीय व्यवस्थाको चंगुलबाट मुक्त गर्दै समाजवादी व्यवस्थामा रुपान्तरण गर्न चाहान्छ । हामिले राजनीतिक क्रान्तीसंगै उत्पादनको क्रान्ती , सांस्कृतिक क्रान्तिलाई पनि संगसंगै अघि बढाएका छौँ । जनताले हाम्रो राजनितिलाई नियालेर हेरेका छन् , हामी सकारात्मक छौँ । एकदिन जनताले हाम्रो राजनीति वरिपरि बिशाल जनमत खडा गर्नेछन् । हाम्रो चाहना यो देशमा स्वाधिन राजनीतिको जग खडा गर्नु हो । हामी निरन्तर यो अभियानमा छौँ ।’

यस्तै नेकपाका जिल्ला सेक्रेटरी तिलक सीले जिल्लामा यो वर्षको उत्पादनमा तुलनात्मक हिसाबले वृद्धि भई नाफामा पुगेको बताए ।

यता नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले अब पार्टीले जिल्लामा कृषिमा प्रविधीलाई जोड्दै व्यवसायिक उत्पादनमा ध्यान दिने सोच वनाएको बताए ।

नेकपा दाङले अबको साताभित्रै सबै उत्पादन केन्द्रको धान भित्र्याउने काम सकिने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार