काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले नामसहितको सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको जनाएको छ । परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए । उनले भने, “ड्रेसकोडको पालना भए/नभएको परिषद्बाट नियमित अनुगमन हुनेछ । पालना नभएको अवस्थामा परिषद्को नियमावली, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।”
परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको ड्रेसकोड लगाउनुपर्ने नियम बनाएको छ । त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.