काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अब बुधबारदेखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् । त्यसमा पनि सुरूवातमै यस्तो खेल हुनेछ कि हार्ने टिम बाहिरिन्छ ।
लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरू हुनेछ ।
क्वालिफायर टु मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोली क्वालिफायर टु मा पुग्नेछ । अर्थात अघोसित सेमिफाइनल खेल्नेछ ।
एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोली सँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ ।
लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णाली भन्दा अघि रहँदै तेस्रो भएको थियो ।
अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डु गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो ।
चितवन र कर्णाली दुवैले लिग चरणमा कन्सिस्टेन्ट प्रदर्शन गर्न सकेन । चितवनले सुरूवाती दुई खेल जितेर राम्रो सुरूवात पाएपनि त्यसपछि हार्ने जित्ने क्रम चलिरह्यो । अन्तिम लिगमा जित हात पारेर चितवनले प्लेअफ यात्रा तय गरेको थियो ।
चितवन दुई मिडियम पेस बलर र मध्यक्रममा कप्तान कुशल मल्ल र रवि बोपारामा धेरै निर्भर छ । चितवनले ओपनिङ जोडी धेरै परिवर्तन गरिरहेका छ । चितवनले हसन एइसाखिल, सन्तोष कार्की, दीपक बोहरा, विपिन रावल र लुक बेनकेन्सटाइनलाई ओपनिङ गराएपनि उपयुक्त जोडी भेट्टाउन सकेको छैन ।
कर्णालीले सुरूवाती दुई खेल हारेर पनि लगातार चार खेल जित्यो तर अन्तिम खेलमा फेरि पराजित भयो । जितेको खेलमा पनि तीन खेल निकै क्लोजमा पुगेर जितेको थियो । ब्याटिङ र बलिङ दुवैमा कर्णालीको प्रदर्शन औसत छ । कर्णालीले सोचे जस्तो प्रदर्शन देखाउन सकेको छैन ।
कर्णालीका लागि विलयम बोसिस्टोले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । यस्तै ट्यालेन्ट हन्टबाट आएका युवा स्पीनर विपिन प्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सम्भावना देखाएका छन् ।
हेड टु हेड
लिग चरणमा यी दुई टोली भेट हुँदा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो ।
लिगमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।
चितवनका रवि बोपारले अर्धशतक बनाउनु बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । बोराले ४० बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा अविजित ५९ रन बनाए । कप्तान कुशल मल्लले २३ रन जोडे ।
कर्णालीका लागि ट्यालेन्ट हन्टबाट छनोट भएका युवा स्पीर विपिन शर्माले ३ विकेट लिएका थिए ।
१३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल अघि ४ विकेट गुमाएर १३२ रन बनाउँदै पूरा गरेको थियो । कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाउँदा चाडविक वाल्टनले ३० र देव खनालले २५ रन जोडेका थिए । जिसान मक्सुदले अविजित १२ रन जोडे ।
दुई टिमको प्लेअफ यात्रा
चितवन राइनोज
लिगअघि चितवनलाई कागजमा सबैभन्दा कमजोर टोलीको रुपमा हेरिएको थियो । युवा अलराउण्डर कुशल मल्ल कप्तान रहेको चितवनमा अन्य नेपाली स्टार खेलाडीहरू पनि थिएनन् । कुशल र लेफ्ट बर्म मिडियम पेसर रिजन ढकाल मात्र राष्ट्रिय टिमका खेलाडी थिए । अन्य युवा खेलाडीहरू थिए । जसमध्ये केहीले उमेर समूहबाट राष्ट्रिय टिममा खेलेका थिए । त्यसमा भेट्रान शरद भेषावरकलाई पनि चितनवले समेटेको थियो ।
यसबाहेक चितवनले दुई अनुभवी विदेशी खेलाडी सोहेल तनविर रवि बोपारालाई समावेश गरेर मिश्रित टोली तयार पारेको थियो । सुरूमा मर्चेन्ट डे लाङलाई अनुबन्ध गरेपनि उनी चोटका कारण नआउने भएपनि तनविरलाई रिप्लेसमेन्टको रुपमा अनुबन्ध गरेको थियो । उनलै तनविरले चितवनलाई लिगमा सानदार सुरूवात दिलाउन सहयोग गरे ।
लिग चरणमा चितवनले ७ मध्ये ४ खेल जितेको थियो भने ३ खेलमा पराजित भएको थियो । चितवनले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि पोखराविरुद्ध सानदार बलिङ गर्दै ७४ रनमा अलआउट गरेर ८७ रनको जित हात पारेको थियो । त्यसपछि कर्णाली विरुद्ध ६ विकेटले पराजित भएको चितवनले सुदूरपश्चिमको लगातार तीन खलेको अपराजित यात्रा ब्रेक गर्दै ३३ रनको जित निकालेको थियो ।
तर त्यसपछि भने चितवनल लुम्बिनी लायन्ससँग ३३ रनले नै पराजित भयो । लुम्बिनीले लिगमा हात पारेको यो नै एक मात्र जित थियो ।
त्यसपछि चितवन विराटनगर किंग्सँग ५१ रनले पराजित भयो । लिगको अन्तिम खेलमा चितवनले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको थियो । लिगमा चितवनले पराजित गरेको दुई टोली सुदूरपश्चिम र जनकपुरले शीर्ष दुईमा रहेर क्वालिफायर वान खेल्दैछ । लिगमा यी दुई टिमलाई हराउने एक्लो टिम हो चितवन ।
लिगमा चरणमा चितवन कर्णालीसँग पराजित भएको थियो र त्यही टिमसँग एलिमिनेटर खेल्दैछ ।
चितवनका लागि विदेशी खेलाडीले ब्याटिङ र बलिङमा राम्रो गरिरहेका छन् । त्यसमा ब्याटिङमा अलराउण्डर रवि बोपाराले २३३ रन बनाएका छन् जसमा दुई अर्धशतक सामेल छ । उनी लिगमै धेरै रन बनाउनेमा दोस्रोमा छन् । यस्तै कप्तान कुशल मल्लले २०२ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउनेमा चौथोमा छन् । मल्लले ८ विकेट समेत लिएका छन् ।
अर्का विदेशी खेलाडी हसन एइसाखिलले ५ खेलमा १२४ रन बनाएका छन् ।
बलिङमा भने दुई बायाँहाते मिडियम पेसर सोहेल तनविर र रिजन ढकालले राम्रो प्रदर्शन गरिरहेका छन् । रिजनले १३ र तनविरले १२ विकेट लिएका छन् । दुवै खेलाडी सर्वाधिक विकेट लिने होडमा समेत छन् । जसमा रिजन तेस्रो र तनविर चौथो स्थानमा छन् । सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक १५ विकेट लिँदा जनकपुरका ललित राजवंशीले १३ विकेट नै लिएका छन् ।
कर्णाली याक्स
कर्णालीले पनि लिग चरणमा ७ मध्ये ४ खेल जितेको थियो भने ३ खेलमा पराजित भएको थियो ।
सुरूवाती दुई खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको कर्णालीले त्यसपछि लगातार चार खेल जितेको थियो । कर्णालीले लिगमा चितवन, पोखरा, लुम्बिनी र विराटनगरलाई हराएको थियो । यस्तै लिगको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भयो ।
भारतीय स्टार ब्याटर शिखर धवन भित्र्याउने देखि सामाजिक सञ्जालमा धेरै चर्चा पाएको कर्णाली याक्स लिगअघि सन्तुलित टिम देखिएको थियो ।
तर सुरावती दुई खेलमा पराजित भएपछि कर्णालीको प्रदर्शनबारे आलोचना समेत भयो । त्यसपछि कर्णालीले लगातार चार खेल जितेर लयमा फर्किएको संकेत गरेपनि अन्तिम लिग खेलमा लयमा रहको सुदूरपश्चिमसँग पराजित भयो ।
प्लेअफअघि अन्तिम खेलमा पराजित भएकोले कर्णालीलाई लयमा फर्कनुपर्ने चुनौती पनि छ ।
लिग सुरू हुनुअघि कागजमा सबैभन्दा सन्तुलित टोली देखिएपनि कर्णालीको सुरूवात राम्रो भएन । कर्णाली याक्स पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो भने त्यसपछि काठमान्डुसँग ३ विकेटले पराजित भयो । त्यसपछि चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जितको यात्रा थालेको कर्णालीले विराटनगरलाई ७ रनले, पोखरालाई ७ विकेटले तथा लुम्बिनीलाई ५ रनले पराजित गरेको थियो । अन्तिम लिग खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो ।
अष्ट्रेलियन अलराउण्डर विलियन बोसिस्टो आएपछि कर्णालीले राम्रो प्रदर्शन गरेको थियो । तीन खेलमा बोसिस्टो नै प्लेअर अफ दि म्याच बने ।
हाल खेलिरहेका मध्ये बोसिस्टोले कर्णालीका लागि ५ खेलमा सर्वाधिक १२८ रन बनाएका छन् भने ८ विकेट समेत लिएका छन् । सुरूवाती चार खेल खेलेर फर्केका शिखर धवनले एक अर्धशतकसहित १३६ रन बनाएका थिए । जुन हालसम्म कर्णालीका ब्याटरले बनाएको धेरै रन हो ।
यस्तै चाडविक वाल्टनले ७ खेलमा १२६ रन बनाएका छन् । बलिङमा पनि कर्णालीको प्रदर्शन औसत छ । ट्यालेन्ट हन्टबाट आएका लोकल आइकोनिक प्लेअर विपिन प्रसाद शर्माले सर्वाधिक ९ विकेट लिएका छन् । यसले पनि कर्णालीको बलिङ कस्तो छ भनेर संकेत गर्छ । बोसिस्टोको ८, नन्दन यादवले ७ तथा कप्तान सोमपाल कामी र जिशान मकसुदले समान ६ विकेट लिएका छन् ।
खेल : चितवन राइनोज भर्सेस कर्णाली याक्स – इलिमिनेटर
मिति र समय : ३ पुस बिहान ९ बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
चितवन राइनोज सम्भावित ११ : हसन एइसाखिल, सन्तोष कार्की, विपिन रावल, रबि बोपारा, कुशल मल्ल, बासिल हामिद, दिपक बोहरा, अमर सिंह राउटेला, सोेहल तनविर, रिजन ढकाल, रन्जित कुमार
कर्णाली याक्सका सम्भावित ११ : देव खनाल, बाबर हायत, चाडविक वाल्टन, गुल्सन झा, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.