काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो विजेता पाउन अब एक खेल मात्र बाँकी छ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स फाइनलका लागि भिड्न तयार छन् ।
लिग चरणमा शीर्ष दुईमै रहेका दुई टोली क्वालिफायर जित्दै फाइनलमा पुगेका हुन् । त्यसैले उत्कृष्ट दुई टोलबीच नै फाइनल पुगेको भन्न सकिन्छ ।
लिग चरणमा शीर्ष दुईमा रहेपछि सुदूरपश्चिम र जनकपुर नै क्वालिफायर वान मा भिडेका थिए जहाँ सुदूरले जनकपुरलाई हराएर फाइनल पुगेको थियो ।
त्यसपछि जनकपुरले पाएको अर्को अवसरलाई सदुपयोग गर्यो । एलिमिनेटरमा चितवन राइनोजलाई हराएर आएको कर्णाली याक्सलाई क्वालिफायर टु मा २ विकेटले पराजित गर्दै फेरि सुदूरसँगकै भेट पक्का गर्यो ।
सुदूर र जनकपुरबीचको फाइनल खेल शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ ।
फाइनल जित्ने टिमले एनपीएलको आकर्षक ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउनेछ । यो नेपाली खेलकुदमा कुनै पनि खेलको विजेताले पाउने सबैभन्दा ठूलो रकम हो । उपविजेताले पनि ५१ लाख हात पार्नेछन् । यस्तै प्लेअर अफ दी सिरिज (नेपाली खेलाडी) ले ओमोडा ई ५ कार पुरस्कार पाउनेछन् ।
फाइनल खेलका लागि सुदूरपश्चिम र जनकपुर बोल्ट्स दुवै टिम तयार छन् । सुदूरपश्चिमले क्वालिफायर वान जितेर सिधै फाइनल पुगेकोले दुई दिनको ब्रेकपछि खेल्दैछ भने जनकपुरले एक दिनको आरामपछि मैदान उत्रँदैछ ।
सुदूरपश्चिम र जनकपुर फाइनल खेल्न मैदान उत्रँदा यी दुई टोलीबीचको केही रोमाञ्चक विशेषताहरु पनि छन् । मैदान शेख दाजुभाई (आरिफ र आसिफ) दुई फरक टिमबाट प्रतिस्पर्धा गर्दैछन् । मैदान बाहिर राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके र जगत टमाटा टिमलाई जिताउन रणनीति बनाउँदैछन् । अनी सुदूर र जनकपुर एकै प्रतियोगतामा तेस्रो पटक आमने सामने हुँदैछन् ।
यसैगरी यी दुई टिम यस्ता टिम हुन् जसको समर्थक पनि सबैभन्दा धेरै छ । एनपीएलमै सबैभन्दा धेरै समर्थक हुने टोली सुदूरपश्चिम हो । सिंगो सुदूरपश्चिमको साथ सुदूरको टिमलाई छ । यस्तै जनकपुरको समर्थक पनि कम छैनन् । सम्भवत सुदूरपछि मैदानमा पुगेर समर्थन गर्नेमा जनकपुरकै समर्थक दोस्रोमा छ ।
यस्तै विषयले फाइनललाई अझै प्रतिस्पर्धातम्मक र रोमाञ्चक बनाउने अपेक्षा छ ।
सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेखले फाइनल खेलमा राम्रो क्रिकेट खेल्दै उपाधि जित्न प्रयास गर्ने बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.