एनपीएल २०२४ को उपाधी जनकपुर बोल्ट्सलाई,फाइनलमा कसरी चुक्यो सुदूरपश्चिम?

डेली न्युजराप्ती       ७ पुष २०८१ ०७:४३ मा प्रकाशित     36 No Comments

काठमाडौं । नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्टिङ इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ ।

आयोजना, पुरस्कार राशी, सहभागी टिमको संख्या, लगानी अनि विदेशी खेलाडीहरुको आगमन र प्रदर्शनले पनि यसलाई अहिलेसम्मकै ठूलो खेल महोत्सवको रुपमा लिइएको छ । जहाँ जनकपुर बोल्ट्सले बाँकी ७ टिमलाई पछि पार्दै च्याम्पियन बन्यो ।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेट हरायो । यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्दै पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो ।

त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे ।

काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते एनपीएल ट्रफी अनावरण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेको यो ट्रफीमा सर्वोच्च शीखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ ।

आयोजक क्यान सचिव पारस खड्काले एनपीएलको मुख्य आकर्षण खेलसँगै ट्रफी पनि रहेको बताएका थिए । हुन पनि ट्रफीको प्रयोग भएको कालापत्थरको ढुंगाले त्यतिबेलै सबैको ध्यान खिचेको थियो । ट्रफीलाई केवल खेलको हारजितसँगमात्र जोड्ने नभइ हिमाल संरक्षणको सन्देश दिन पनि सर्वोच्च स्थानको ढुंगा जडान गरिएको उनको भनाइ थियो ।

ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका हुन् । ट्रफी अनावरण कार्यक्रममा शेर्पाद्वयलाई सम्मान गरिएको थियो । मंसिर १६ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आज सकिएको छ ।

प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी थिए । र अन्तत: कालापत्थरको ढुंगाजडित पहिलो नेपाल प्रिमियर लिगको ट्रफी जनकपुर बोल्टस्‌को नाममा भएको छ । जनकपुरले ट्रफीसहित अहिलेसम्मको ठूलो पुरस्कार राशी १ करोड १० लाख प्राप्त गर्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख र तेस्रो भएको कर्णालीले २५ लाख हात पार्‍यो । चौथो चितवन राइनोजको भागमा १५ लाख पर्‍यो ।

कालापत्थरको ढुंगा ल्याएर बनाइएको एनपीएलको पहिलो ट्रफी उचाल्ने सौभाग्य मधेश प्रदेशको प्रतिनिधितव गर्ने जनकपुरले पायो । जनकपुरले त्यस्तो टिमलाई फाइनलमा हरायो जो सँग यसअघि आफैँ दुई पटक पराजित भएको थियो ।

एनपीएलमा नेपालको सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी टिम बनाइएको थियो । जसमा बागमतीको दुई टिम बाहेक हरेक प्रदेशको एक-एक टिम थिए । कीर्तिपुरको टीयू मैदानमा मात्र प्रतियोगिता भएपनि नेपालका सबै क्षेत्रका समर्थकहरुले एनपीएललाई निकै चासो र रोमाञ्चकताका साथ हेरे ।

फाइनलअघि सम्म एक हार बाहेक सानदार प्रदर्शन गरेको सुदूरपश्चिमलाई जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरेको हो ।

नेपाली खेलकुदमा सय करोड (एक अर्ब) को ट्याग दिइएको एनपीएलमा ८ टिम सहभागी थिए । ३० भन्दा बढी विदेशी खेलाडीहरु अनि विश्व चर्चित स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण । चर्चित टिभी च्यानलमा प्रत्यक्ष प्रसारण हुँदा नेपाली खेलाडीको प्रदर्शन पनि विश्वभर हेर्न अवसर मिल्यो । यस्तै भारतीय स्टार शिखर धवनदेखि मार्टिन गप्टिल र जिमी नीशमजस्ता खेलाडीहरुले पनि नेपाल आएर एनपीएल खेले ।

नेपाली घरेलु क्रिकेटमा अझ फ्रेन्चाइज टी२० क्रिकेटमा यो उत्कृष्ट फाइनलको रुपमा रह्यो । हाई स्कोरिङ म्याच, दुई ब्याटरको अर्धशक अनि दर्शकहरुको उल्लासपूर्ण सहभागिता । यो कुनै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा कम थिएन । दर्शकहरुको लागि पनि यो इन्टरटेन दिने खालको म्याच भयो ।

दुवै टिमका ओपनर चले । सुरुवात उत्कृष्ट भयो । दुवैले फिनिसिङमा केही संघर्ष गर्नुपर्‍यो । टस जितेर सुरुमा पावर प्लेमा दुवै टिमले विकेट गुमाएनन् । पावरप्लेमा जनकपुरले ७१ र सुदूरपश्चिमले ४८ बनाए । टी२० मा सुरुको पावर प्ले वा डेथ ओभरमा जसले राम्रो खेल्छ उही टिमले बाजी मार्ने आकलन गरिन्छ ।

पावर प्लेमा सुदूरपश्चिम भन्दा २३ रन बढी बनाएको जनकपुरले खेल आफ्नो पक्षमा ल्याउने संकेत गरिसकेको थियो । डेथ ओभरमा पनि सुदूरले अन्तिम ५ ओभरमा ४१ रन मात्र बनाउन सक्यो । जसमा ६ विकेट गुमाएको थियो ।

सुदूरले पनि डेथ ओभरमा उत्कृष्ट बलिङ गर्‍यो । १५ ओभरमा १५९/२ मा पुगेको जनकपुरले १६औं ओभरमा १५ रन जोड्यो । त्यसपछि सुदूरका बलरले सानदार बलिङ गर्दै खेललाई अन्तिमसम्म पुर्‍याएको थियो । तर आफ्नो हातबाट खेल फुत्किसकेपछि सुदूरले बलिङमा पुनरागमन गर्‍यो । जतिबेला जनकपुरलाई जितका लागि २४ बलमा १३ रन मात्र चाहिएको थियो ।

अनिल साह घाइते भएपछि प्लेअफमा फाइनसम्म कप्तानी गरेका जनकपुरका कप्तान आसिफ शेखले उपाधि जित्न पाउ खुशी व्यक्त गरे । ‘उपाधि जित्न पाउँदा एकदम खुसी छौं । आज राम्रो स्टार्ट चाहिएको थियो र त्यस्तै भयो,’  उनले भने ।
फाइनलमा हारपछि सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले बलिङमा राम्रो गर्न नसकेको र राम्रो खेल्न नसकेको बताए । ‘मिलान्थाले एकदमै राम्रो खेले अनि आसिफले पनि ओपनिङमा राम्रो गरे । आजको पिच राम्रो थियो । हामीसँग राम्रा बलरहरू थिए तर आज राम्रो खेल्न सकिएन’, उनले भने ।

फाइनलअघिसम्म राम्रो खेलेर पनि फाइनलमा भने सुदूरपश्चिमले तुफान देखाउन सकेन । प्रशिक्षक टमाटाले ब्याटिङमा १०-१५ रन कम भएको बताए । उनले दुवै टिमले राम्रो खेलेको र जनकपुरले अझ राम्रो खेलेको बताए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्याटिङमा सानदार सुरुवात गरेको थियो । सैफ अली जैब र विनोद भण्डारीको शतकीय साझेदारीले सुदूरपश्चिमले एनपीएलमा २०० रनको आँकडा पार गर्छ कि भन्ने आश देखाएको थियो । तर बलिङमा जनकपुरले पुनरागमन गर्‍यो ।

सैफ जैबले सर्वाधिक ६९ रन बनाउँदा ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । विनोदले ३१ बल खेल्दै १ चौका र ३ छक्का मद्द्तमा ४१ रन जोडे । यो जोडीले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेको थियो ।

किशोर महतोले यो साझेदारी ब्रेक गरेपछि जनकपुरले बलिङमा पुनरागमन गर्‍यो । त्यसपछि ६७ रन जोड्दा सुदूरपश्चिमले ९ विकेट गुमाएको थियो । जनकपुरका मोहम्मद मोहनसिन र किशोर महतोले ३-३ विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याउँदै जनकपुरले आक्रमक सुरुवात गर्दै पावर प्लेमै धेरै रन जोडेर जितको आधार तय गरेको थियो । यसअघिका खेलमा उत्कृष्ट देखिएको सुदूरको बलिङ फाइनलमा चल्न सकेन ।

चार ओभरमै ४८ रन जोडेको जनकपुरले पावर प्लेमा ७१ रन बनाएको थियो भने १० ओभर सकिँदा १०५/२ को स्थितिमा थियो ।

जनकपुरका ओपनिङ जोडी मिलान्था र कप्तान आसिफ शेखले पहिलो विकेटका लागि सात ओभरमा ७३ रनको साझेदारी गरे । १६औं ओभरमा स्कट कुगेलेइनबाट कट एण्ड बोल्ड हुनुअघि मिलान्थाले सर्वधिक ८७ रन बनाइसकेका थिए । उनले ४९ बल खेल्दा ९ चौका र ४ छक्का प्रहार गरे ।

जनकपुरको जितमा नायक रहेका श्रीलंकन मूलका अमेरिकी खेलाडी मिलान्थाले भने, ‘म धेरै नै खुसी छु, शब्दमा व्यक्त गर्न सकिरहेको छैन । दर्शकहरूबाट पनि भरपुर साथ पाइएको छ । जित हार जे हुँदा पनि समर्थन गरिरहनुभएको छ ।’

दुई वर्षअघि भएको नेपाल टी२० लिगमा पनि लुम्बिनी अल स्टार्स च्याम्पियन बन्दा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । त्यसबेला उनले ३४९ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा तेस्रोमा थिए ।

आसिफले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा ३३ रन योगदान गरे । हर्श थाकरले अविजित रहँदै २४ बलमा ३० रन जोडे । उनले २ छक्का पनि प्रहार गरे । वान डाउमा आएका मोहसिन ९ रनमा आउट भए । मयन यादवले विजयी रन प्रहार गर्दै २ रनमा अविजित रहे ।

८ बलर प्रयोग गरेको सुदूरका लागि कुनै पनि खेलाडीले १ भन्दा बढी विकेट लिन सकेनन् । सबैभन्दा किफायती बलिङ गरेका सैफ जैबले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार