समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित, फाइनलका लागि भोलि युएईसंग भिड्ने

डेली न्युजराप्ती       १६ कार्तिक २०८० १४:०३ मा प्रकाशित     63 No Comments

नेपाल घरेलु मैदानमा जारी आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ रनको हार बेहोर्दै नेपाल समूह उपविजेताको रूपमा समेफिाइनलमा पुगेको हो । 

समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १ सय ४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । नेपालका लागि युवा अलराउन्डर विवेककुमार यादवले उत्कृष्ट पारी खेले पनि जित दिलाउन सकेनन् ।

नेपालका लागि अन्तिम ओभरमा जितका लागि २६ रन आवश्यक थियो । यो ओभरमा विवेकले ३ छक्का हिर्काउँदै नेपाललाई जित नजिक पुर्याए । उनी आउट भएपछि नेपाललाई जितका लागि तीन बलमा ७ रन चाहिएको थियो । अविनाशले एक रन लिँदै स्ट्राइक करण केसीलाई दिलाए । तर, करणको प्रहार बाउन्ड्री कटेन । विवेकले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।  

यस्तै, कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, सन्दीप जोरा, कप्तान रोहित पौडेलले १२/१२ र कुशल मल्लले १० रन बनाए । ओमानका लागि बिलाल खानले तीन, मेहरान खान, शाकील अहमद, अकिब इलियासले दुई/दुई र जीशास मक्सूदले एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

उसका लागि कप्तान जीशान मक्सूदले ३२, नसीम खुसीले २५, प्रतीक आठवालेले २४, अयान खानले १८ र शाकील अहमदले अविजित २२ रन बनाए । नेपालका लागि करण केसीले तीन, सोमपाल कामी, सन्दीप लामिछानेले दुई/दुई, गुलशन झा र अविनाश बोहराले एक/एक विकेट लिए ।  

आजको हारले नेपालले सेमिफाइनलमा यूएई प्रर्तिस्पर्धी पाएको छ । नेपाल र यूएईबीचको सेमिफाइनल शुक्रबार मूलपानी क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । ओमानले भने समूह ‘बी’ को उपविजेता टिमको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार