कार्तिक ५ ।अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार बिहान सम्पन्न तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।
टी–२० आईमा नेपालको यो ऐतिहासिक उपलब्धि हो । यसअघि नेपालले विदेशी भूमिमा तीन खेलको टी–२० आई सिरिज क्लिन स्विप गरेको थिएन । तेस्रो खेलमा अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र दुई छक्कासहित ५० रनको पारी खेलेका हुन् । टी–२० आईका आसिफको यो छैटौँ अर्धशतक हो ।
यस्तै, कुशल मल्लले ३० बलमा चार चौका र एक छक्कासहित अविजित ४४ रन बनाए । यस्तै, कुशल भुर्तेलले ३२ बलमा दुई चौका र एक छक्काको मद्दतमा नटआउट ४० रनको पारी खेले । अनिलकुमार साहले ११ बलमा १३ रन जोडे । अमेरिकाका लागि जुआनोय ड्रिसडेल र जसदीप सिंहले मात्र एक/एक विकेट लिन सके ।
त्यसअघि डालासस्थित ग्रान्ड प्रेयरी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि ओपनिङ ब्याटर साइतेजा मुक्कामल्लाले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा पाँच चौका र दुई छक्कासहित ६८ रनको पारी खेलेका हुन् । यस्तै, मिलिन्द कुमारले अविजित ४३ र आरोन जोन्सले १३ रन बनाए ।
नेपालका लागि बलिङमा तीव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । सोमपालले आइतबार दोस्रो टी–२० आईमा पनि सानदार प्रदर्शन गरेका थिए ।
उक्त खेलमा उनले सुपर ओभरसहित जोड्दा कुल चार विकेट लिए । यस्तै, तेस्रो खेलमा रिजन ढकाल र ललितनारायण राजवंशीको नाममा एक/एक विकेट रह्यो । नेपालले पहिलोमा १७ रनको जित निकालेको थियो । यस्तै, दोस्रो टी–२० आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो ।
नेपालले अब बुधबार अमेरिका ‘ए’ सँग एकदिवसीय अभ्यास खेल्ने तालिका छ । त्यसपछि नेपालले आइसिसी विश्वकप लिग–२ श्रृंखलामा अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।
उक्त सिरिजमा नेपालले २७ सेप्टेम्बर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डको सामना गर्नेछ । लिग–२ तालिकामा नेपाल हाल सातौं स्थानमा छ ।
नेपालले अहिलेसम्म दुईवटा श्रृंखला खेलिसक्दा ६ मा हार, एकमा जित र एक खेलमा अंक बाँडेको छ । नेपालले अब लिग–२ मा २८ वटा म्याच खेल्न बाँकी छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.