भूमिकाः
“गरिबहरुले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठुलो स्थान दिन्छन् जबकी नेताहरुले गर्ने अपराधको घटनालाई दबाउँछन ।” – कार्ल मार्क्स
माथि उल्लेख गरिएको भनाई एक प्रसिद्ध मार्क्सवादी दार्शनिक, राजनितिक अर्थशास्त्री, इतिहासकार, राजनितिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी व्यक्तित्व कार्ल मार्क्सको हो । १९औँ शताब्दी मै मार्क्सले यस्तो महशुस गरेका थिए । उतिबेलै मार्क्सले सञ्चार माध्यमको शक्ति बुझेका थिए ।
मानिसको सोचाई प्रभावित गर्नका लागि सञ्चार माध्यम उपयुक्त माध्यम थिए । आजकाल हामी झुठ्ठा समाचारका कुरा गर्छाै तर मार्क्सले त्यतिबेलै यो कुरा बताईसकेका थिए । त्यसैले ‘सञ्चारमाध्यम माथि निगरानी राख्नुपर्छ’ भनेका थिए । तथाकथित समाचार, स्वार्थ प्रेरित समाचार, अधिकांस मुलधारका मिडियाहरुले सूचना र ‘असूचना’हरु हमेसा चवाउछन र निलिदिन्छन् भन्ने मार्क्सको मान्यता थियो । बनिबनाउ रिपोर्टीङ, झुट रिपोर्टिङ, सत्तासिनको समर्थनमा नक्कली समाचार र प्रोपगाण्डा मच्चाउने खालका समाचारको बारेमा उल्लेख गरेका थिए । उनले सतही खबर सम्प्रेषण गर्ने भन्दा राजनितिक, सामाजिक र साँस्कृतिक गतिविधिहरुका जटिल र परिवर्तनकारी पहलुलाई ठुलो मेहनत र दार्शनिक विष्लेशन गर्ने र इमानदारी पूर्वक उजागर गर्ने पत्रकारिताको आज ठुलो अर्थ रहन्छ । मार्क्सले त्यही गरेका हुन् ।
सामान्य अर्थमा सञ्चार भनेको सूचना एवं जानकारी आदान – प्रदान गर्ने प्रक्रिया हो । यो सञ्चारका माध्यमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य विविध सञ्चारका माध्यमहरु मार्फत जनतामा सूचना, विचार, विचारधारा र सन्देशहरु सम्प्रेषण गर्ने कार्य हो । सञ्चारले समाजमा चेतना फैलाउन, विचारहरु साटासाट गर्न र समाजको विकासमा योगदान पु¥याउन महत्वपूर्ण भूमिका खेल्दछ ।
नेपालको पत्रकारिता क्षेत्रले पछिल्लो समय गुणात्मक फड्को मारेपनि खासगरी नयाँ नयाँ चुनौतिको सामना गरिरहेको छ । पत्रकारितालाई स्वतन्त्र संवैधानिक रुपमा सुरक्षित भनिएको छ र तर त्यो कुरा व्यवहारमा लागु भएको पाइदैन । राज्य, राजनिति र आर्थिक प्रभावहरुले कार्यमा हस्तक्षेप गरिरहेका छन । सम्वेदनशिल मुद्दाहरु तथा सम्पादकिय स्वतन्त्रताको दवाव सामना गर्नुपरेको छ । डिजिटल युगसँगै प्रविधिको प्रभावले अनलाईन पोर्टलहरु, सामाजिक सञ्जाल एवं डिजिटल मिडियाहरुको आगमनले परम्परागत छापा माध्यम, रेडियो लगायतलाई चुनौति दिएको छ भने समाचार सम्प्रेषणको गतिका कारण प्रतिस्पर्धा पनि बढेको छ । अहिले पत्रकारितामा गुणस्तर र विश्वसनियताको सवाल पनि जव्वर ढङ्गले उठेको छ । अपुष्ट समाचारलाई प्राथमिकता दिने प्रवृति वढेको छ यसले विश्वसनियतामा असर गरेको छ ।
राज्यको विज्ञापन नीति एवम आर्थिक स्वामित्वको अभावमा कतिपय मिडिया हाउसहरु व्यापारीकरणमा परिणत भएका छन् । यसको असर समाचार चयन र प्रस्तुतीकरणमा पनि परेको छ । सामाजिक उत्तरदायित्वको दृष्टिकोणबाट केही साना स्वरोजगारमुलक एकदमै नगन्य मिडियाले मात्रै समाजको आवश्यकता र चासोलाई सम्बोधन गर्ने प्रयास गरेका छन् भने बहुसंख्यक कर्पोरेट मिडिया हाउसहरुले सामाजिक प्राथमिकतालाई उठाउने गरेको पाइदैन ।
पत्रकारहरुका लागि पर्याप्त तालिम र क्षमता विकासको अभाव यथावत नै छ । प्रेस काउन्सिल एवम पत्रकार महासंघको भुमिकाको बिषयमा पनि अनेकौं प्रश्नहरु छन्। पत्रकारिताको गुणस्तर कायम गर्न , प्रेस स्वतन्त्रताको रक्षा गर्न र पत्रकारहरुलाई आवश्यक दिशानिर्देश गर्ने कार्य तथा महासंघमा सबैको साझा बैचारिक प्रतिनिधित्वका बारेमा गहन आलोचना हुँदै आएको छ ।
यस अर्थमा वर्तमान पत्रकारिता संक्रमणकालिन अवस्थामा छ । पत्रकारिताको स्वरुप परिवर्तन भएपनि स्वतन्त्रता , गुणस्तर र सामाजिक उत्तरदायीत्वको क्षेत्रमा सुधारको आवश्यकता छ । यसलाई सशक्त ,जिम्मेवार र जनपक्षीय बनाउने अभिभारा हाम्रो काँधमा आएको छ ।
आजको नेपाली समाज वर्ग विभाजित समाज हो ।वर्गीय समाजमा सबै कुरा वर्गीय नै हुन्छ सार्वभौम मान्यतालाई हाम्रो प्रचार मोर्चाले आत्मसाथ गर्न जरुरी छ । एकाथरी ठुला कर्पोरेट मिडिया हाउसहरुले पुजीवादी वर्गको वा सत्तासीन वर्गको संरक्षणका खातिर कलम चलाइरहेका छन् भने अर्कोतिर बहुसंख्यक श्रमिक जनताको प्रतिनिधित्व जनपक्षीय मिडियाहरुले गरिरहेका छन् ।
सत्ता, शक्ति र पहुँचको आधारमा राज्य संयन्त्रको प्रयोग गर्दै शक्तिशाली एवम प्राविधिक ढंगले सुसज्जित छन् । केही साना स्वरोजगारमुलक जनपक्षीय मिडियाहरुले अप्ठ्यारोमा पनि देशको काँध थामेका छन् ।
हामी जनपक्षीय पत्रकार एवम त्यसका मिडिया प्रतिनिधि हौं । आज नेपालको संसदीय शासन प्रणाली असफल सिद्ध हुँदै गएको छ । बहुसंख्यक श्रमिक जनता यो शासनबाट सन्तुष्ट छैनन् र विकल्पमा समाजवादको आन्दोलनमा अग्रसर छन् ।
हाम्रो कार्यभार ती श्रमजीवी जनतालाई समाजवादी आन्दोलनको वेगमा जोड्न विचार , विचारधारा र नेतृत्वलाई सुचनाको माध्यमबाट जनतामा स्थापित गर्दै जाने हो । हाम्रो संगठन समाजवादी आन्दोलनको प्रचार मोर्चा हो । यसको भुमिका अत्यन्त महत्वपूर्ण छ । हामी तिनै जनसमुदायद्वारा सञ्चालित छौ जसले समाजको वास्तविकता , अन्याय , विभेद र शोषणको प्रत्यक्ष अनुभव गरेका छौँ । त्यसकारण समाजवादी आन्दोलनलाई थप शसक्त र सक्षम बनाउन संगठनका केही महत्वपूर्ण आगामी कार्यभारहरु संक्षिप्तमा निम्न बुदामा उल्लेख गरिएको छ ।
१) गतिशील संगठन:मानिस आफू एक्लैले कुनै ठुलो उद्देश्य हासिल गर्न नसक्ने हुनाले उसलाई संगठनको आवश्यकता पर्दछ । संगठन भनेको साझा उद्देश्य प्राप्तिका लागि दुई वा दुई भन्दाबढी मानिसहरुको समूह हो । यसको निश्चित उदेश्य हुन्छ । त्यसैले हाम्रो आगामी कार्यभार एक गतिशील संगठन निर्माणको हुनुपर्दछ । हाम्रो सांगठनिक ढाँचा देशैभरी छ तर त्यसलाई समाजवादी आन्दोलनको प्रवाहमा बग्ने गतिशील ,जुझारु एवम प्रतिबद्ध संगठनमा रुपान्तरण गर्न जरुरी छ ।
२) जनपक्षीय मिडिया प्लेटफर्महरुको सवलिकरण: हाम्रो प्रमुख कार्यभार आफ्ना जनपक्षीय मिडिया प्लेटफर्महरुको विकास एवम सवलीकरण गर्नु हो । हाम्रा प्लेटफर्महरु निश्चित स्रोत साधनको अभावमा चलायमान र सक्रिय हुन सकेका छैनन् त्यसको वृद्धि विकास , वैज्ञानिक व्यवस्थापन र सवलीकरण गर्नु नै चुनौतीपूर्ण कार्यभार हो ।
कर्पोरेट मिडियाले प्राय पुजीवादीको पक्षमा समाचार र विचारहरु प्रसारित गर्दछन जसले समाजवादी आन्दोलनका एजेन्डाहरुलाई प्राथमिकता दिदैनन । त्यसकारण हाम्रो कार्यभार वैकल्पिक जनपक्षीय मिडियाको विकास गरि त्यसको सवलीकरण आवश्यक छ जसले समाजवादी आन्दोलनका विचार , एजेन्डा र समाचारहरुलाई श्रमिक जनतामा पुर्याउन सकिनेछ ।
३) क्षमता अभिवृद्धि एवम प्रशिक्षण:हाम्रो अर्को कार्यभार भनेको जनपक्षीय पत्रकारहरुलाई क्षमता अभिवृद्धि एवम प्रशिक्षणको व्यवस्था गर्नु हो । यसका लागि कार्यशाला , गोष्ठी , प्रशिक्षण कार्यक्रम एवम आवश्यक पाठ्यक्रमको निर्माणमा ध्यान दिन आवश्यक छ ।
समाजवादी सिद्धान्तको महत्व , इतिहास र यसको व्यवहारिक पक्षबारे जानकारी दिने कार्यक्रमको आवश्यकता गहिरो गरि बोध गर्नुपर्दछ । साथै अनुसन्धानात्मक पत्रकारिता , तथ्य जाँच , रिपोर्टिङ प्रविधी , डिजिटल मिडिया उपयोगको ज्ञान दिने कार्यक्रमहरु समावेश गर्न सकिन्छ । प्रशिक्षित र सक्षम पत्रकारहरुले आन्दोलनका एजेन्डाहरुलाई प्रभावकारी ढंगले उठाउन सक्नेछन् ।
४)मित्रहरूको मोर्चावन्दी: हामिले मित्रवत अन्य जनपक्षीय सञ्चार संघ/सङगठनहरुसंग मोर्चावन्दीको कामलाई पनि अगाडि बढाउने आवश्यकता महसुस भएको छ । वास्तविक मानव अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेका , प्रेसमाथी हुने दमन वा मानवअधिकारको उलंघनको बिरोध गर्ने , सामाजिक उत्तरदायित्व सहित जनपक्षीय पत्रकारिता गरिरहेका तथा राज्य , महासंघ लगाएतका व्यथिती , प्रेसमाथिको राज्यको विभेदकारी चरित्रका विरुद्धमा वा समाजवादका पक्षधरहरुसंग सहकार्य र मोर्चावन्दीको पहल गर्नुपर्दछ । साथै स्वरोजगारमुलक एवम सानो लगानीमा सञ्चालित जनपक्षीय मिडियाहरुसंग सुमधुर एवम मैत्रीपुर्ण सम्बन्ध कायम गर्नुपर्दछ ।
अन्त्यमा समाजवादी आन्दोलनका पक्षमा जनपत्रकार संगठनको भुमिका महत्वपूर्ण छ । समाजको वास्तविकता , अन्याय , असमानता र विभेदको चित्रण गरि आन्दोलनका पक्षमा युगिन योगदानको कार्यभार पूरा गर्नुपर्नेछ । तसर्थ संक्षिप्तमा माथी उल्लेख गरिएका कार्यभारहरु पुरा गर्न सके समाजमा परिवर्तनको बाटो खुल्न सक्छ ।
(लेखक हेमन्तप्रकाश वलीको यो लेख जनपत्रकार संगठन नेपालको बिशेष प्रकाशन ‘मिडिया र राजनीति’बाट साभार गरिएको हो । लेखक वली संगठनका लुम्बिनी प्रदेश संयोजक हुनुहुन्छ ।)
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.