हेमन्तप्रकाश वली ।
आजभोलि छाडा पशु चौपायाको व्यवस्थापन नहुँदा सडक दुर्घटना देखि अन्य बिबिध समस्याहरुले नागरिकलाई सास्ती दिएका घटनाहरु दिनानुदिन सुनिने गर्दछन । छाडा पशु चौपायाको संरक्षण एवम उचित व्यवस्थापनको जिम्मेवारी राज्य , स्थानीय सरकारको भएपनी सम्बन्धित निकाय जिम्मेवार नबन्दा समस्या झन चुनौतीपूर्ण बन्दै गएको छ ।
छाडा पशु चौपायाको संरक्षणमा नेपालको कुनै राजनीतिक दल नै सक्रिय बनेको छ भन्दा आम नागरिकलाई पत्याउन मुस्किल हुन सक्दछ तर यो कुरा सत्य हो ।
नेपालमा राजनीतिलाई केवल संसद , सरकार , कुर्सी ,पद , पैसा तथा पावरको दृष्टिकोणबाट बुझ्ने संसदीय परिपाटी भन्दा फरक एउटा दल विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कृषि उत्पादन मात्रै होइन छाडा पशु चौपाया संरक्षणमा पनि पहलकदमी लिएको छ ।
नेकपाले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका स्थित शिवगढिमा छाडा पशु चौपाया संरक्षण केन्द्र नेपाल सञ्चालन गरेको छ ।
पार्टीले करिव ३ बिघा जमिन भाडामा लिएर छाडा पशु चौपाया संरक्षण केन्द्र चलाइरहेको छ ।
वार्षिक ३६ हजार जग्गाको भाडा दर रहेको नेकपाले जनाएको छ ।
उक्त संरक्षण केन्द्रमा पार्टीका ७ जना नेताकार्यकर्ताले प्रत्यक्ष रोजगारी पाएका छन् ।
‘स्थानीयलाई पार्ट टाइम रोजगारी दिएका छौँ । पार्टीका नेताकार्यकर्ता ७ जनाले यहाँ काम गरिरहेका छौँ । काम अनुसारको उचित पारिश्रमिक लिने पार्टीको नीति छ । हामिले यहाँ पशु संरक्षण सहित तरकारी खेती , आलु , तोरी खेती , मसुरो , गहुँ खेती तथा घाँस उत्पादन लगाएत उत्पादनमा पनि राम्रो गरिरहेका छौँ । गाइहरु संरक्षण गर्दा स्थानीयहरु खुशी छन् , यसले पर्यावरणीय रुपमा पनि फाइदाजनक छ भने सडक दुर्घटना पनि न्यूनीकरण हुन सक्दछ ,’ डेलिन्युजराप्तीसंग कुरा गर्दै संरक्षण केन्द्रका प्रमुख असल सीले भने ।
असल सी नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य समेत हुन् ।
अहिले संरक्षण केन्द्रमा १५० बढी गाईहरु रहेका छन् भने बंगुर , कुखुरा समेत पालन गरिएको नेता असलले बताए। उनले संरक्षण केन्द्रबाट मल र दूध उत्पादनबाट राम्रो मुनाफा भइरहेको बताएका छन् ।
पशु संरक्षण केन्द्रको कमान्ड गरिरहेका नेता असलले भने– ‘हामिले सुरुमा साढे ७ लाखबाट सुरु गरेका हौं तर अहिले लगानी करिव २५ लाख पुगेको छ । संस्थाको लिजमा ३ बिघा जमिन छ भने २ बिघा थप्ने सोचेका छौँ । यो जग्गा बिधालयको हो , बाँझो थियो त्यसैले हामीले यसमा पशु चौपाया संरक्षण केन्द्र चलाएर उत्पादनमुलक काम गरिरहेका छौँ । गड्यौला मलको तयारी गर्दैछौं ।’
‘यहाँ कोहि मालिक र कोहि मजदुर छैनन् । यहाँ काम गर्ने हामी सबैले लगानी गरेका हौं । अहिले सबैको लगानी फिर्ता गरेर नाफामा छौँ । नाफाबाटै लगानी थप गर्दै बहुआयामिक ढंगले अन्य उत्पादनलाई जोड्ने प्रयास गरेका छौँ । यहाँ पार्टीको पनि लगानी थियो त्यो पनि फिर्ता गरिसकेका छौँ । जनताको राम्रो प्रतिक्रिया रहेको छ । स्थानीय अत्यन्त खुशी छन् । वास्तवमा हामिले राजनीतिको परिभाषा बदलेका छौँ । नेता भनेपछि कोट पाइन्टमा ठाटिएर बस्ने , सांसद , मन्त्री हुने , अर्बौं रकम कुम्ल्याउने ,श्रम नगर्ने जुन संसदवादी प्रवृती हो हामी यो प्रवृतीबाट एकदम अलग छौँ । हामिले अहिले केन्द्रीय समितिबाट अर्थमा नयाँ आर्थिक मार्गको संस्लेसन गरेका छौँ । यसले पार्टी , नेताकार्यकर्ता र जनतालाई समृद्धितिरको दिशामा अभिप्रेरित गर्नेछ । कम्युनिस्ट आन्दोलनमा उत्पादनको नयाँ कोर्ष सुरु गरेको पार्टी हाम्रो पार्टी हो । हामिले नेता भनेको मागेर मात्रै खान्छन भन्ने बुझाईबाट मुक्त गरेका छौँ । अहिले हामिले मागेर खानुपर्दैन । यहीँबाट बचाएर लेबिको रुपमा पार्टीलाई सहयोग गर्ने गरेका छौँ ,’ संरक्षण केन्द्रका प्रमुख असलले भने।
उक्त पशु संरक्षण केन्द्रको रेखदेखको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य बेग बहादुर सीले पाएका छन् भने कमान्ड पिबिएम असलले गर्ने निर्णय छ ।
नेता असलले राज्यले बन र राम्रो क्षेत्रफलको जग्गा उपलब्ध गराउने हो भने कपिलवस्तु जिल्लालाई छाडा पशु चौपायाबाट मुक्त गर्ने सोच रहेको समेत बताए ।
उनले समाजलाई छाडा पशु चौपायाबाट मुक्त गर्नैपर्ने धारणा व्यक्त गरेका हुन् । साथै कोहलपुर , नवलपरासीमा पनि संरक्षण केन्द्र सुरु गर्ने योजना रहेको सुनाए ।
यता नेकपाले मोरङमा पनि गाई फर्म सञ्चालन गरेको छ।
‘पहिले पहिले राम्रो दूध उत्पादन हुन्थ्यो । उत्पादित दूध डेरीलाई वितरण गर्ने गर्थ्यौ तर अहिले कम मात्रामा दूध उत्पादन भएको छ । तर अहिले खानालाई दूध प्रशस्त हुन्छ । मल चाहिँ अहिले मुख्य उत्पादन भइरहेको छ । अब यसलाई विस्तार गर्ने योजना बनाएका छौँ । दुधबाट अन्य उत्पादन गर्ने र आँफ्नै डेरी सञ्चालन गर्ने योजना बनाएका छौँ ,’ संरक्षण केन्द्रका प्रमुख असलले भने।
यसरी अहिले विप्लव सी नेतृत्वको नेकपाको परिचय कृषी गरेर खाने पार्टीको रुपमा परिचीत हुँदै गएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.