जनता मोटाउने व्यवस्था चाहेका छौँ:महासचिव विप्लव

डेली न्युजराप्ती       १३ जेष्ठ २०८२ २१:१६ मा प्रकाशित     187 No Comments

हेमन्तप्रकाश वली ।
जेठ १२,हंसपुर ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनता मोटाउने व्यवस्था चाहेको बताएका छन् ।
सोमबार बबई-३ हंसपुरमा सहिद महानको शालिक अनावरण तथा स्मृति सभालाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने– ‘राजतन्त्र भन्दा गणतन्त्र राम्रो व्यवस्था हो तर यस्तो गणतन्त्र पनि हाम्रो चाहना होइन् । हामिले जनयुद्धबाट प्राप्त भएको गणतन्त्रमा जनता मोटाएको हेर्न चाहेका हौँ तर अहिले पार्टी र तिनका नेता मोटाएका छन् । जनताबाट निर्वाचित भनिएका प्रतिनिधिले नै तिनै जनताले तिरेको राजस्वमा लुट मच्चाएका छन् । यो गणतन्त्रमा मुठ्ठीभर लुटेराहरुको रजाइँ छ । बहुसंख्यक श्रमिक जनता यो शासनबाट सन्तुष्ट छैनन् , यसको विकल्पमा हाम्रो पार्टीले नेपाली बिशेषताको समाजवाद प्रस्ताव गरेको छ । अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नु नै आजको संकटको समाधान हो ।’

महासचिव विप्लवले राजतन्त्र वा अहिलेको दलाल पुजीवाद मुलुकको निकासका विकल्प नभएको ठोकुवा थिए ।
उनले थप भने– ‘नेपालमा आजकाल तिनथरी बहस छ ।राजतन्त्र , अहिलेको दलाल पुजीवाद र अग्रगामी निकास समाजवाद । राजतन्त्र वा दलाल पुजीवादले मुलुकको संकटको निकास होइनन् । हामिले भनेको मुलुकको शान्ती,समृद्धि र स्वाधीनताको विषय समाजवादले हल गर्नेछ । नेपाललाई सामन्तवादतिर फर्काएर पनि हुँदैन,सामन्तवादको अवैध सन्तान दलाल पुजीवादले झन जनतालाई कंगाल बनाउँदै लगेको छ । त्यसैले जनताको चाहना समाजवाद हो । समाजवादका लागि बहस खुल्ला गरेर अघि बढौँ । हाम्रो पार्टी संविधान संशोधन , जनमत संग्रह वा बिद्रोह जुनसुकै बाटोबाट भएपनी जनताको सदियौंदेखीको चाहना समाजवादी व्यवस्थाको लागि अनवरत लड्ने छ ।’

‘नेपाली जनताको भावना र चाहनाको प्रतिनिधित्व गर्दै समाजवादका लागि सबै मोर्चा खोलेका छौँ , विप्लवले थप भने‘०८४ मा नेकपा जनताको बिचमा जाने हो । यो चुनावको कुरा मात्रै होइन् , नयाँ ध्रुवीकरण हो । अब सबै माओवादी , कम्युनिस्ट , बामपंथी तथा प्रगतिशील शक्तिहरु एक ठाउमा आएर आगामी ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा जानुपर्दछ। हामिलाई बिश्वास छ ०८४ ले समाजवादको नयाँ अभियान खोल्नेछ ।’

एक अर्को प्रसंगमा बोल्दै महासचिव विप्लवले पार्टीले चलाएको आत्मनिर्भर उत्पादन अभियानले मुलुक बनाउन सकिन्छ भन्ने आत्मबिश्वास अटुट रहेको बताए ।

‘५ वर्ष हामिलाई मौका दिनुस् , यो देशलाई चलाउन सकेनछौँ भने हात उठाउँछौँ , महासचिव विप्लवले भने ‘हाम्रो पार्टी र नेताकार्यकर्ता अहिले कृषि गरेर खाइरहेका छन् । हाम्रो नीति छ कृषिबाट आत्मनिर्भर , उधोगबाट समृद्धि । हाम्रो सिंगो पार्टी उत्पादनमा छ । हामि दलाली गरेर बाँचेका छैनौँ । अहिलेका संसदवादी दलालहरुले देश नै बेचेर खाएका छन् , जनताले अब बुझ्नुपर्छ । पार्टीलाई आत्मनिर्भर बनाएको अनुभवले देशलाई आत्मनिर्भर बनाउँदै समृद्ध बनाउन चाहेका छौँ तर यसमा जनताको साथ अनिवार्य छ ।’

यस्तै सोमबार नै एकीकृत जनक्रान्तिका सहिद गादिराम राना (महान)को बबई-३ हंसपुरमा निर्मित शालिकको अनावरण गरिएको छ ।
नेकपाका महासचिव विप्लव सी , पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सी , पार्टीका केन्द्रीय सदस्यहरु , केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु एवम सहिद महानका आमा , जिवनसंगिनि एवम छोराछोरी तथा स्थानीयहरुको उपस्थितिमा शालिक अनावरण एवम स्मारक पार्कको उद्घाटन गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा आयोजित शालिक अनावरण एवम स्मृति सभामा नेकपाका पोलिटब्युरो सदस्य शितल सी , असल सी , पार्टीका केन्द्रीय सदस्यहरु लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहिद महानकि आमा तिलकुमारी राना , शालिक निर्माणमा जमिन उपलब्ध गराउन पहल गर्ने बबई-३ का वडाअध्यक्ष मान बहादुर केसि , सरकारी दमनको बिच सहिद महानको पार्थिव शरीरमा झण्डा ओढाएर महत्वपूर्ण भुमिका निर्वाह गर्ने पार्टी सदस्य भीउ कुमारी वली लगाएतलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्य प्रदिप सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपाका केन्द्रीय सदस्य एवम दाङका सचिव तिलक सीले गर्नुभएको थियो भने अध्यक्षता पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गरेका थिए ।

शालिक अनावरण एवम स्मृति सभा कार्यक्रममा नेता सविन सीले एकीकृत जनक्रान्तिका सहिद महानको जिवनी वाचन गरेका थिए ।
कार्यक्रममा लुम्बिनी सामना सांस्कृतिक परिवारले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार