तुलसीपुर पुगेर विप्लवले गृहमन्त्री लेखकको भ्रष्टाचार काण्डबारे के भने?

डेली न्युजराप्ती       १३ जेष्ठ २०८२ २१:३६ मा प्रकाशित     168 No Comments

तुलसीपुर, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको तेस्रो लहर सुरु भएको बताउनुभएको छ । अहिले चर्चामा रहेको भिजिट भिसा प्रकरण प्रति सङ्केत गर्दै महासचिव विप्लवले काँग्रेस र एमालेको सरकार नै भ्रष्टाचारको लहर भएको दाबी गर्नुभयो । 

‘गृहमन्त्री रमेश लेखक सोझै भन्या मान्छे हुन् । हामीसँग भेट हुँदा पनि राम्रै कुरा हुन्थ्यो । मान्छे पनि अलि भद्र र बौद्धिक मान्छे लाग्थ्यो । उहाँले नै ५० लाख रुप्पे खानुहुन्छ भनेर सचिवले भनेपछि, कि त सचिव नै पागल भा हुनुपर्‍यो । होइन भने ठूलै चलखेल भएको कुरा त बाहिर आयो नि ।’ विप्लवले भन्नुभयो । 

भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखकको मात्रै मुद्दा र विषय भन्दा पनि राज्यका निकायले जनताले तिरेको करलाई लुकाएर कसरी खान्छन् र राज्यका मेकानिजम कस्ता छन भन्ने कुराको सानो प्रमाण फेला परेको उहाँले बताउनुभयो । 

तलदेखि माथिसम्म देश भ्रष्टाचारको दलदलमा फसेको बताउँदै उहाँले देशका विभिन्न ठाउँमा बन्दै गरेका र बनेका एयरपोर्टमा १० अर्व रुपैयाँसम्म भ्रष्टाचार भएका कुरा पनि यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो ।

‘पार्टीहरू मिलेर खाइरहेका छन् तर पनि विभिन्न घटनाक्रमहरु बाहिर आइरहेका छन् । यो देशको एउटा चित्र मात्रै हो । जुन नेताहरू देशको जिम्मा लिन्छौ भनेर जान्छन् । तीनीहरुले जनताको पैसा यसरी कुम्ल्याउने । ऋण चाही हामीले बोक्नुपर्ने ? पार्टीको गठजोडबाट हुने जुन अपराध छ, त्यसको भागिदार किन नेपाली जनता हुने ?’ विप्लवले भन्नुभयो । 

छुट्टै प्रसङ्गमा महासचिव विप्लवले आर्थिक उत्पादन विना देश परिवर्तन गर्न सकिने बताउँदै हरेक नागरिक उत्पादनमा जोडिन आवश्यक रहेको बताउनु भएको छ ।
महासंघका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव भद्र वलीले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार