आदर्श बचाएर ०८४ को निर्वाचनमा चुनावी मोर्चा खोल्न चुनौती मोलेका छौँ:विप्लव

डेली न्युजराप्ती       १४ जेष्ठ २०८२ २२:३९ मा प्रकाशित     431 No Comments

हेमन्तप्रकाश वली ।
जेठ १३,घोराही ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ०८४ को निर्वाचनमा चुनावी मोर्चा खोल्न चुनौती मोलेको बताए ।
मंगलबार घोराहीमा नेकपा दाङको आयोजनामा आयोजित महासचिव विप्लव सी संग सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

‘आदर्श बचाएर ०८४ को निर्वाचनमा चुनावी मोर्चा खोल्न चुनौती मोलेका छौँ , विप्लवले भने, ‘ संसदीय चुनावमा जाने नीति लिँदा अनेकौं आशंका , चिन्ता , चासो तथा सबैका सुझावहरु छन् तर यो चुनौती मोल्ने सोचेका छौँ । हाम्रो लागी कम्युनिस्ट आदर्श मुख्य कुरा हो । ०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा प्रयोग गर्ने नीति छ । अहिले पार्टीमा प्रयोग गरेको अनुशासन , उधम , पार्टी नितिलाई राज्यमा प्रयोग गर्ने सोच छ । जनताले साथ दिए भने गोरु जस्तै जोतिएर जनताको सेवा गर्ने चाहाना छ ।’

विप्लवले अहिले भइरहेको गोलचक्करको प्रमुख कारण माओवादी भएको बताए ।
उनले भने– ‘अहिलेको यथास्थितिमा भइरहेको गोलचक्करका कारण थुप्रै छन् तर प्रमुख कारण माओवादीको हो । हामिले माओवादी आन्दोलनलाई निष्कर्ष दिन सकेनौं । क्रान्तिले न्याय पाएन । जनताले माओवादी आन्दोलनलाई जनताको आन्दोलन , साझा आन्दोलन बनाउन चाहान्थे तर हामी नै अल्मल भएका हौं । प्रचण्ड-बाबुरामले काठमाडौं पसेपछी आन्दोलनको भावना , मर्म र जनताको स्थिती बुझ्न सकेनन् ।
काठमाडौमा पुगेपछि माओवादी अल्मलियो , जनता सडकमा छन् । यसको जिम्मेवारी कांग्रेस , एमाले पनि होलान् तर मुख्य कुरा हाम्रो हो , माओवादीको हो ।’

‘माओवादी फुट्यो फुट्यो भन्नुहुन्छ ,फुट्नु पनि ठिक हो , विप्लवले थप भने , ‘प्रचण्ड संगसंगै सिंगै जहाजमा सबै डुब्नुभन्दा केही यात्रुहरु उत्रिएर नयाँ यात्रा गर्नु ठिक हो । हामिले काठमाडौं पसेपछी माओवादीका विचलनहरु नजिकबाट देखेका हौं । कतिपय माओवादीहरु फुट्नु ठिक होइन् भन्छन् । फुट्नु ठिक होइन् , ठिक पनि हो । सबै माओवादी बिग्रनुभदा हामिहरु त्यहाँबाट निस्किएर जनताका पक्षमा नयाँ आन्दोलन सुरु गरेका छौँ । कहिलेकाही फुट्नु पनि ठिक हुँदो रहेछ ।’

पुराना र आ-आफ्ना मान्यताबाट मात्रै बृहत् कम्युनिस्ट एकता नहुने विप्लवले जिकिर गरेका थिए ।
उनले बृहत कम्युनिस्ट एकताका लागि पुरानो परम्परागत मान्यताबाट माथी उठेर नयाँ प्रस्तावमा गर्नुपर्ने बताए ।

महासचिव विप्लव सीले विश्व कम्युनिस्ट आन्दोलनमा दर्शनमै विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘दर्शनमा निषेधको निषेध नियम र अनिवार्य दुई लाईन संघर्षको नियम काम लाग्दैन , विप्लवले भने , ‘जनताकै लागि लड्ने हो भने जनताबाट अलग्गिने नीति तोड्नुपर्छ। नीति हेरफेर गर्नुपर्छ । कम्युनिस्टहरुले दर्शनमा विकास गर्नुपर्दछ । कम्युनिस्टहरुले आफ्ना विचारलाई गतिशील समयसंग जोड्नुपर्दछ । हाम्रो पार्टीले दर्शनमा अनिश्चय , सम्भावना , रक्षा र रुपान्तरणको नियम जोडेको छ । कम्युनिस्टले स्वामित्व सम्बधिको दृष्टिकोण पनि बदल्नुपर्छ । अब सामुहिक स्वामित्व वा निजि मात्रै भनेर पुग्दैन । स्वामित्वको प्रश्न हल नगर्दा बनेका कम्युनिस्ट सत्ताहरु ढलेका छन् । अहिले नै सामुहिक स्वामित्व सम्भव छैन् , निजि मात्रै पनि चल्दैन । यसको निकास हामिले निजि सहितको सामुहिक स्वामित्व ठिक छ भनेका छौँ, त्यो हो एकीकृत स्वामित्व ।’

महासचिव विप्लवले राजनीतिक प्रणालीलाई आर्थिक प्रणालीसंग जोड्न नसक्दा मुलुकको संकट नटरेको उद्घोष गरेका हुन् ।
उनले नेकपाले देशव्यापी कृषि उत्पादन मार्फत आत्मनिर्भर र उधोग मार्फत समृद्धिको नीति लिएको सन्दर्भ जोड्दै पार्टीको नीति सहि भएको ठोकुवा गरेका हुन् ।

यस्तै महासचिव विप्लवले माओवादीसंग पार्टी एकताको प्रसंगमा बोल्दै कुनै पार्टीमा गएर विलय हुनेजस्तो एकता नहुने बताए ।

उनले माओवादीहरुले संगठनात्मक विषय मात्रै उठाएर एकता गर्ने खोजेको बताउँदै एकताका लागि नयाँ प्रस्ताव , देश र जनताको भविष्यसंग जोडेर छलफल गर्नुपर्ने समेत बताए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा (माओवादी केन्द्र)दाङका सचिव बरुण , राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य , एकीकृत समाजवादीका राम प्रसाद चौधरी , प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रीयासन , दाङ जिल्ला उधोग बाणिज्य संघका पुर्व अध्यक्ष नारायण भुषाल , मानवअधिकारकर्मी बिनोद केसि , नेपाल जेसिज पुर्व केन्द्रीय महासचिव निशान्त आचार्य , राप्ती इन्जिनियरिङ कलेजका प्रमुख डा.भिमसेन गिरी , रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली , महेन्द्र बहुमुखी क्याम्पस दाङका प्नमुख नारायण पन्थी , शिक्षक तथा बुद्धिजीवी वसन्त प्रसाद रिजाल , प्याब्सन दाङका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र चन्द , नागरिक समाज दाङका पुर्व संयोजक चन्द्रराज पन्तले विभिन्न जिज्ञासा , सल्लाह सुझाव एवम टिप्पणी राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सन्तोष सी , पार्टीका पोलिटब्युरो सदस्य शितल सी लगाएतको आतिथ्यता रहेको थियो ।
नेकपाका केन्द्रीय सदस्य एवम घोराहीका इन्चार्ज पाटन सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज तिलक सीले गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार