काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लवले संघर्ष र निर्वाचन दुबैका निम्ति तयार रहन नेताकार्यकर्तालाई निर्देशन दिएका छन् ।
बिहिवार काठमाडौँ सम्पन्न पार्टी केन्द्रिय समितिको विशेष बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले चुनाव लड्नैपरे एक्लै लड्नेगरी तयारी गर्न समेत निर्देशन दिएका हुन् ।
संघीय राजधानी काठमाडौंमा बिहिवार बिहानबाट सुरु भएको बैठक बेलुका सम्पन्न भएको थियो।
बैठकले निर्वाचनको तयारीलाई तीव्रतामा अगाडि बढाउने निर्णय गरेको छ ।
मुख्यगरी आगामी निर्वाचनका सम्बन्ध धारणा तय गर्न माओवादीको बैठक बसेको हो ।
आगामी निर्वाचनमा नेकपा(माओवादी) पनि सहभागी हुने निर्णय गरिसकेको छ । तर माओवादीले केही सर्तहरू अगाडी सारेको छ । माओवादीले सुशीला नेतृत्वको सरकारलाई विस्तापित गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने प्रमुख माग राखेको छ । साथै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय शक्तिशाली नागरिक आयोग गठन हुनुपर्ने, भ्रष्टाचार सम्बन्धि अन्तिम निर्णय गर्ने विशेष अदालत गठन गर्नु पर्ने, १००० र ५०० का नोट खारेज गर्नुपर्ने लगायतका मागहरू अगाडि सारेको छ । माओवादीले विशेष बैठकमा उपर्युक्त विषयमा पनि छ्लफल गरेको बुझिएको छ ।


महासचिव विप्लवले आगामी राजनीतिक परिस्थिति निकै पेचिलो हुने भन्दै संघर्ष र निर्वाचन दुबै परिस्थितिका लागि तयार रहन केन्द्रिय सदस्यहरूलाई निर्देश दिएको एक सहभागी केन्द्रिय सदस्यले बताए ।
बेथिति कुशासन र भ्रष्टाचारका विरुद्ध हामी निरन्तर संघर्षरत छौँ तर राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेकाकोले हामी संघर्षका लागि पनि तयार रहनुपर्ने भन्दै विप्लवले धारणा राखेको बुझिएको छ ।
नेकपा(माओवादी) ले जनताको समर्थनलाई गोलबन्द गर्न निर्वाचन भाग लिने बताएको छ ।
कसैसँग तालमेल र चुनावी गठबन्धन नगर्ने माओवादीले बताएको छ । भय रहित र धाधलीरहित निर्वाचनको वातावरण बने प्रत्यक्ष १६५ सिटमै एक्लै प्रतिस्पर्धा गर्ने निर्णय पनि माओवादी गरेको बुझिएको छ ।
वैठकले समानुपातिक निर्वाचन प्रणालीका लागि ११० सदस्यीय सिटमा देशका ७७ ओटै जिल्ला र विभिन्न क्षेत्रबाट उम्मेदवारको नाम मागेको छ । साथै माओवादीले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू पार्टी बाहिरबाट पनि समावेश गर्ने बताएको हो ।
उत्पादनमा आफ्नो पार्टी सफल रहेको निष्कर्ष निकाल्दै थप व्यवस्थित बनाउने निर्णय पनि माओवादीले गरेको छ।
बैठकले विभिन्न राजनीतिक र साँस्कृतिक अभियानहरू संचालन गर्ने निर्णय गरेको छ । पुर्वको झापा, पश्चिमको कंचनपुर र बागमतीको काठमाडौं उपत्यकाबाट युवा मार्च अभियान संचालन गर्ने, गण्डकी प्रदेश र मधेस प्रदेशमा विशेष सांस्कृतिक अभियान संचालन गर्ने माओवादीले जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.