नेकपा (माओवादी)द्वारा तुलसीपुरमा कार्की सरकार विरुद्ध राँके जुलुस प्रदर्शन

डेली न्युजराप्ती       १५ पुष २०८२ ०४:३१ मा प्रकाशित     387 No Comments

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले तुलसीपुरमा राँके जुलुस प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको छ ।

पार्टीको अर्घाखाँची स्थित शितगंगा-११ मा रहेको केन्द्रीय जनकम्युनमा प्रहरी हस्तक्षेप र खानतलासी विरुद्ध केन्द्रीय कार्यक्रम अनुसार आइतबार जिल्लाभरी मसाल जुलुस सहित कोणसभा सम्पन्न गरेको हो ।

मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले उत्पादन र श्रममा जोडिएको पार्टीका विरुद्ध गरिएको षड्यन्त्र अस्वीकार्य हुने बताए ।
उनले भने – ‘हामिले फलाएको आलुलाई शुसिला सरकारले बम देखिरहेको छ । हामि श्रम र उत्पादन मार्फत मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको दिशातिर लिन खोजेका छौ । हामिले नेपाली बिशेषताको समाजवादी कार्यक्रम पार्टीमा लागु गरिरहेका छौँ तर राज्य हाम्रा विरुद्ध षडयन्त्रका तानाबाना बुनिरहेको छ । चुनावको तयारी गरिरहेको पार्टीका विरुद्ध कठपुतली सरकारको दमनकारी रबैया विरुद्ध चुप लागेर बस्दैनौँ , दमन नरोके प्रतिरोध हुन्छ ।’

नेता प्रदिप सीले कार्की सरकारको विकल्पमा सर्वपक्षीय अन्तरिम सरकार गठनगरि चुनावतिर जानुपर्ने समेत बताए ।

काठमाडौंमा माओवादीको केन्द्रिय समितिको विशेष बैठकले निर्वाचनका लागि रणनीति तय गरिरहेको अवस्थामा केहि दिनअघि राज्य प्रशासनले माओवादीको शितगंगा ११ अर्घाखाँचीमा रहेकोे कम्युनमा छापा मारेको थियो।

कम्युनमा प्रहरीले अनावश्यक अपरेशन गरेको भन्दै माओवादी आक्रोशित भएको छ। माओवादीले प्रहरीको अपरेशनविरुद्ध पुष १२ गते देखि १५ गते सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।

माओवादीले देशैभरी मशाल जुलुस , कोणसभा गरेर विरोध प्रदर्शन गरेको छ। माओवादीले राज्य-प्रशासनले आफ्नो अपरेशन नरोके कडा प्रतिरोध गर्ने बताएको छ।

माओवादीका महासचिव विप्लवले कम्युनमा हस्तक्षेप अस्वीकार्य हुने बताउँदै राज्यले अनावश्यक अपरेशन नरोके जनताले कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार