हेमन्तप्रकाश वली ।
माघ ६,तुलसीपुर । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दाङमा पनि विभिन्न पार्टीका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगको तालिका अनुसार मंगलबार दाङका तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट पनि दाङ-१ मा पार्टीका युवा नेता प्रकाश शाहीले प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले पार्टीका नेताकार्यकर्ता , समर्थक , शुभचिन्तक सहित आज लमही स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
शाही भ्रष्टाचार बिरोधि आन्दोलनका अगुवा हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका शाही देउखुरी क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।

यता दाङ-३ मा माओवादीबाट पार्टीका पोलिट्ब्युरो सदस्य बलबहादुर वली (शितल)ले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले तुलसीपुर स्थित सरकारी वकिल कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
बाजागाजा सहित उम्मेदवार वलीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधिसभा सदस्य उम्मेदवार वलीले राष्ट्रको अस्तित्व रक्षाको लागि आँफुले उम्मेदवारी दिएको बताए ।

उनले भने – ‘ देशमाथि गम्भीर प्रकारका चलखेलहरु भईरहेका छन् । मुलुकको अस्तित्व रक्षाको प्रश्न महत्वपूर्ण भएर आएको छ । हाम्रो पार्टीले राष्ट्रको रक्षाको निम्ति यो चुनावलाई संघर्षको मोर्चा बनाउने निति लिएको छ । इमानदार प्रतिनिधिको संसदमा प्रतिनिधित्व भएन भने दलालहरुले देश नै बेच्नेगरी षडयन्त्र बनाएका छन् । जनताले एकपटक देश सोचेर , राष्ट्रिय स्वाधीनता , अग्रगामी परिवर्तन , राज्यको पुनर्संरचना र समाजवादको पक्षमा मतदान गर्नेछन् भन्ने विश्वास लिएका छौँ ।’
उम्मेदवार वलीले आफ्नो पार्टी नयाँ भएकाले नेपाली जनताले मुद्दा र एजेन्डाको मुल्यांकनसहित पार्टीलाई विजयी बनाउने विश्वास व्यक्त गरेका थिए ।
नेकपा (माओवादी)ले दाङ-२ मा भने पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको छैन् ।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का महासचिव विप्लव सी र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलका बीच भएको समझदारी अनुसार दाङ जिल्ला निर्वाचन क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उम्मेदवार शंकर पोखरेल लाई नेकपा (माओवादी )ले समर्थन गर्ने र कालिकोटको निर्वाचनमा नेकपा(माओवादी)का प्रत्यक्ष तर्फका उम्मेदवार नेकपा (माओवादी)का स्थायी समिति सदस्य पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)लाई नेकपा एमालेले समर्थन गर्ने, सहमति अनुसार दाङ जिल्ला निर्वाचन क्षेत्र नं २ पार्टीले उम्मेदवारी दर्ता नगराएको पार्टीका जिल्ला इन्चार्ज सविन सीले जानकारी दिएका छन् ।
६ ,माघ २०८२दाङ ।
धन्यवाद !
फोटोफिचर:







सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.