रास्वपाको उदय जनमतको संकेत, तर वास्तविक परीक्षा सरकारपछि हुने — विप्लव

डेली न्युजराप्ती       २४ फाल्गुन २०८२ ०९:३७ मा प्रकाशित     275 No Comments

दाङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पछिल्लो चुनावी परिणामले नेपाली जनताले परिवर्तन चाहेको स्पष्ट सन्देश दिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पुराना संसदवादी दलको स्थान नयाँ शक्तिले लिनु आश्चर्यजनक नभएको उल्लेख गरेका छन्।
उनका अनुसार यस चुनावमा पुराना संसदवादी दलहरू कमजोर बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिहरू अगाडि आएका छन्। उनले नयाँ शक्ति संसदमा बहुमततर्फ उन्मुख हुनु नयाँ भए पनि संसदीय व्यवस्थामा यस्तो परिवर्तन अस्वाभाविक नभएको टिप्पणी गरेका छन्।

विप्लवले चुनावी परिणाम पुँजी, प्रचार र विभिन्न प्रपञ्चबाट प्रभावित भएको पनि उल्लेख गरेका छन्। उनले संसदीय प्रवृत्ति सत्तामा पुगेपछि उद्दण्ड, अक्षम वा बेकम्मा बन्दै पतन हुने गरेको विगतको अनुभव रहेको बताए।
उनले विशेषगरी बालेन शाह र रवि लामिछाने जस्ता नयाँ नेतृत्वले सरकार गठनपछि कस्तो नीति र निर्णय लिन्छन् भन्ने विषय महत्वपूर्ण हुने बताएका छन्।

विप्लवका अनुसार संविधान पुनर्लेखन, राज्यको पुनर्संरचना, शासकीय स्वरूप र आर्थिक नीतिबारे उनीहरूले लिने निर्णयले देशको आगामी राजनीतिक दिशा स्पष्ट गर्नेछ।
विप्लवले अन्ततः नयाँ शक्ति सत्तामा पुगेपछि उनीहरूको व्यवहार र निर्णयले नै वास्तविक परिवर्तन सम्भव हुन्छ कि हुँदैन भन्ने कुरा प्रमाणित हुने बताए।

यस्तो छ सामाजिक सञ्जाल फेसबुकमा लेखेको विप्लवको स्टाटस:
यो चुनावमा पुराना संसदवादी दलको स्थान रास्वपाले लिएको पक्ष नयाँ भए पनि संसद्मा बहुमत हुने विषय नयाँ र आश्चर्य होइन । जनमतले परिवर्तन चाहेको भने प्रष्ट भयो ।

पुँजी,प्रचार,प्रपञ्चबाट प्रभावित परिणाम संसदीय प्रवृत्ति र सत्तामा पुगेर या उद्दण्ड भएर या बेकम्मा भएर पतन भएको छ। बालेन-रविले संविधान पुनर्लेखन,राज्यको पुनर्संरचना,शासकीय स्वरूप,आर्थिक नीतिबारे कस्तो निर्णय लिन्छन् सरकार बनेपछि स्पष्ट हुँने छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार