नेकपा (माओवादी) दाङले जनसम्बन्ध विस्तारदेखि संगठन सुदृढीकरणको अभियान चलाउने

डेली न्युजराप्ती       १ जेष्ठ २०८३ १९:०४ मा प्रकाशित     133 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

बिहीबार घोराहीको झिंगौरामा सम्पन्न बैठकले राजनीति, संगठन, संघर्ष र उत्पादनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको हो ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षता तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी जेठ ५ गतेदेखि असार ५ गतेसम्म एक महिने जनभेटघाट अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियानअन्तर्गत मतदातालाई धन्यवाद ज्ञापन गर्ने, जनस्तरसम्म पार्टीका एजेन्डा पुर्‍याउने तथा पालिकास्तरमा बहस कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

बैठकले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै पालिका र वडा कमिटीलाई सम्मेलन आयोजक कमिटीमा रूपान्तरण गर्ने, सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने तथा भदौ १४ गतेसम्म वडा भेला/सम्मेलन र भदौ मसान्तसम्म पालिका सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । सोहीअनुसार विभिन्न पालिकामा भेला तथा सम्मेलनका मिति समेत तय गरिएको छ ।

यस्तै, बैठकले सुकुम्बासी संघर्ष समितिको संयोजकमा विकास सीलाई जिम्मेवारी दिएको छ । संघर्षतर्फ धानखोला–लमही सडकखण्डलाई राष्ट्रिय सहमतिविना चार लेन विस्तार गर्न खोजिए त्यसविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको पार्टीले जनाएको छ ।
उत्पादनतर्फ सामूहिक उत्पादनलाई विशेष प्राथमिकता दिने, प्रत्येक पालिकाले स्थानीय आवश्यकता र सम्भावनाअनुसार आयमूलक उत्पादनमा जोड दिने तथा उत्पादनलाई नाफामुखी बनाउने नीति बैठकले अघि सारेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज सन्तोष सीले “नेपाल र नेपाली विशेषताको समाजवाद” पार्टीको मूल लक्ष्य कायमै रहेको बताउनुभयो । उहाँले पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामै अगाडि बढिरहेको उल्लेख गर्दै निर्वाचनलाई संघर्षकै एक रूपका रूपमा उपयोग गरिएको धारणा राख्नुभयो ।
निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि निराश नहुन आग्रह गर्दै उहाँले पार्टीको वास्तविक धरातल पहिचान गर्न चुनावले मद्दत गरेको बताउनुभयो । विज्ञान र प्रविधिको प्रयोगमा कमजोरी हुँदा मत परिणाम प्रभावित भएको उल्लेख गर्दै अब डिजिटल माध्यम र प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्मेलन आयोजक समितिका सदस्य शीतल सीले पार्टीले निर्वाचनलाई संघर्षकै माध्यमका रूपमा उपयोग गरेको बताउँदै कम्युनिस्ट आन्दोलनले हजारौं उतारचढाव पार गर्दै अघि बढ्ने क्षमता राख्ने दाबी गर्नुभयो । उहाँले वैचारिक रूपान्तरण, सांगठनिक शुद्धीकरण र पार्टीभित्र गम्भीर बहसको आवश्यकता औंल्याउनुभयो ।

जिल्ला इञ्चार्ज सविन सीले निर्वाचनमा खटिएका उम्मेदवार र कार्यकर्तालाई धन्यवाद दिँदै समाजको अपेक्षा र पार्टीबीच देखिएको दूरीलाईआत्मालोचनासहित सच्याउनुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा कम्युनिस्ट आन्दोलन पुनर्स्थापित हुने दाबी गर्दै त्यसको नेतृत्व माओवादी शक्तिले गर्ने उल्लेख गर्नुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, सम्मेलन आयोजक समितिका सदस्य सम्झना सी, विक्रम सी, प्रदीप सी, पाटन सी , विकाश सी निर्मल सी , जिवनी सी लगायत जिल्लाका नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

जिल्ला सेक्रेटरी तिलक सीले नवौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकले पारित गरेको राजनीतिक प्रस्ताव र सर्कुलर वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार