राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जानेछ : आजाद सी

डेली न्युजराप्ती       २६ माघ २०८० २०:३८ मा प्रकाशित     131 No Comments

हेमन्त प्रकाश ओली ।

माघ २६ , हापुरे । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आजाद सीले राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जाने बताएका छन् ।

शुक्रवार बबई गाउँपालिका ४ हापुरेमा आयोजित अन्तरर्क्रीया कार्यक्रममा अवधारणा पत्र पेश गर्दै नेता आजाद सीले उक्त कुरा बताएका हुन् ।

अवधारणा पत्रका बारेमा प्रष्ट पार्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता आजादले भने– ‘ नेपालमा अहिले राजनीतिक संकट गहिरो छ । अहिले नेपालमा देखिएको राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जाने निश्चित छ । बिशेषगरि अमेरिकीले अघि सारेको एमसिसी प्रोजेक्ट मार्फत नेपाललाई उपनिबेश बनाउन चाहान्छ । सुगौली सन्धी हुँदै एमसिसीसम्म आइपुग्दा नेपालको राष्ट्रियता सर्वाधिक संकटमा छ । हामी र हाम्रो पार्टीको अपिल छ यो संकटलाई कम्युनिस्ट , बामपंथी , सच्चा लोकतन्त्रवादी , प्रगतिशिल शक्ति , देशभक्त , राष्ट्रवादी मिलेर समाधान गरौं।’

अमेरिकाको षडयन्त्र बेलैमा बुझेनौ भने हेर्दाहेर्दै यो मुलुक युक्रेन बन्छ , उनले थपे ‘ एमसिसी प्रोजेक्ट बिकासको नाममा गम्भीर सैन्य योजना हो । नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने , छिमेकी मुलुक बिश्वको उदयीमान चीनलाई सैन्य ढंगले घेराबन्दी गर्ने र दक्षिण एसियाबाट कम्युनिस्ट प्रभावलाई निस्तेज गर्ने रणनीति हो । अर्कोतिर नेपालको दलाल पुजीवादी संसदीय सत्ता राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक लगाएतका सबै क्षेत्रमा संकटको भार थेग्न नसक्ने अवस्थामा छ । भ्रष्टाचार , कमिसन , अनियमितता , अन्याय , अत्याचारका साथै अहिले भइरहेका घोटाला काण्डहरुले जनताले यो व्यवस्थालाई धेरै दिन टेको लगाउने ठाउमा नहुने बताए ।’

नेता आजादले अहिलेको संकटको निर्विकल्प निकास नेपाली बिशेषताको समाजवाद भएको ठोकुवा गरेका थिए । उनले भने– ‘ अहिले हामिले नेपाली बिशेषताको समाजवादको कुरा गरेका छौं । नेपालका सबै पार्टीहरुले समाजवाद भनिरहेका छन् त्यसोभए समाजवादमा जान के कुरा रोकेको छ ? त्यतिमात्र होइन नेपालको संविधान नै समाजवाद उन्मुख संविधान हो । त्यसैले हाम्रो पार्टीले अहिलेको संकटको निकास नेपाली बिशेषताको समाजवाद अगाडि सारेको छ । नेपाली बिशेषताको समाजवादले मात्रै नेपालका सबै जनतालाई अधिकार सम्पन्न बनाउनेछ।’

नेपाली बिशेषताको समाजवाद स्थापनाका लागि मुलुकका राजनीतिक बृत तयार रहनुपर्ने बेला आएको समेत बताए ।

कार्यक्रममा बबई गाउँपालिकाका राजनीतिक पार्टी , विभिन्न संघ/संस्था , मानवअधिकारकर्मी , शैक्षिक व्यक्तित्व , सामाजिक अभियान्ता , जनप्रतिनिधि सहित करिव २०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दूध उत्पादन संघका अध्यक्ष जित बहादुर वली , पर्यटकीय छहरा सेवा केन्द्र पुर्ण भण्डारी , सबै सामुदायिक बनहरुको तर्फबाट चितल गैरा सामुदायिक बनका अध्यक्ष छबि बिक , सबै सामुदायिक बिधालयको तर्फबाट जनता माबी हंसपुरका सहायक प्रअ तिलकराम शर्मा , बबई – २ का वडा सदस्य हरि वली , समाजवादी मोर्चा बबईका संयोजक ध्रुब , रजमो जिल्ला सदस्य देव बहादुर बिक , राप्रपा बबईका अध्यक्ष वीर बहादुर बिष्ट , विपि बिचार नेपाली कांग्रेस जिल्ला उपसभापति ध्रुब भण्डारी , नेकपा ( एकीकृत समाजवादी ) दाङ जिल्ला उप-सचिव डिल बहादुर पुन , नेकपा एमाले जिल्ला सदस्य राम बहादुर डाँगी , नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य भीम बहादुर वली , बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री , नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले लगाएतले अवधारणा पत्रमा उल्लेखित विषयमा सुझाबसहित टिप्पणी पेश गरेका थिए ।

नेकपाका नेता हिक्मत सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा बबईका सेक्रेटरी रण बहादुर सीको अध्यक्षता थियो भने कार्यक्रमको सञ्चालन नेकपा बबईका इन्चार्ज उज्वल सीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार