२४औँ इच्छुक स्मृति दिवस: कृष्णसेनका ३ कविता

डेली न्युजराप्ती       १४ जेष्ठ २०८३ ०७:४७ मा प्रकाशित     136 No Comments

जनपक्षीय पत्रकार तथा प्रगतिशील साहित्यकार कृष्णसेन इच्छुक को २४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिक दल, पत्रकार संगठन, साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले स्मरण सभा, श्रद्धाञ्जली कार्यक्रम, अन्तरक्रिया तथा विचार गोष्ठी आयोजना गरेका छन्।
पटक–पटक गरी करिब दश वर्षसम्म जेल जीवन बिताउन बाध्य पारिएका इच्छुकलाई तत्कालीन राज्य पक्षले २०५९ साल जेठ ६ गते गिरफ्तार गरी काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखेको थियो। हिरासतमा अमानवीय ढङ्गले यातना दिइएपछि २०५९ साल जेठ १३ गते उहाँको हत्या गरिएको थियो।
इच्छुक नेपाली जनवादी पत्रकारिता, साहित्य र सांस्कृतिक आन्दोलनका एक अग्रणी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले तत्कालीन शोषण, अन्याय र दमनविरुद्ध कलममार्फत सशक्त आवाज उठाउँदै जनताको पक्षमा निरन्तर योगदान पुर्‍याउनुभएको थियो।
स्मृति दिवसको अवसरमा विभिन्न वक्ताहरूले इच्छुकको हत्या नेपाली प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भएको उल्लेख गर्दै सत्य, न्याय र परिवर्तनका लागि उहाँले देखाएको साहसिक योगदान सधैं प्रेरणाको स्रोत रहने बताएका छन्।

उहाँको सम्झनामा उहाँले लेखेका ३ कविता जेल, प्रतिबन्ध अनि कान्छी, भट्टी र देशलाई यहाँ समेटिएको छ।

जेल

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र ?
मित्र, अर्काको मुठीभित्र पराधीन जिन्दगी
जहाँ काट्नुपरे पनि त्यो जेल हुन्छ

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकांक्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र ?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नुपरे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्काे आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र ?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नुपरे पनि त्यो जेल हुन्छ

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभंग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनुपरे पनि त्यो जेल हुन्छ।

प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ।

ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ।

उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध संघर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ।

इतिहासको यस घडीमा
यसबेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई
झन् ठाडो देख्न चाहिरहेछु

यसबेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठीलाई
झन् सबल देख्न चाहिरहेछु

यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई
झन् अग्रसर देख्न चाहिरहेछु

यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा
युगको हुंकार सुन्न चाहिरहेछु

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटमा ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न।

कान्छी, भट्टी र देश

अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र, अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौँ, प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर
चियाको किट्लीजस्तै भकभकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरूमा पस्केर
सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ

यात्रीहरू आइरहेछन् र गइरहेछन्
परदेशीहरू गइरहेछन् र आइरहेछन्
कोही उसको रूपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छटपटीको तातो भुंग्रोभित्र
खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ

भट्टीमा भात पाकिरहेछ
भात सँगसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासु सँगसँगै कान्छीको आँशु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ
नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ
विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ
गहबाट बहका नदीहरू झारिरहिछ
कान्छी भट्टी थापिरहिछ।

उसका आँशुहरू
मानौँ, खुशी खोसिएका कोशीका अशान्त छालहरू हुन्
उसका रहरहरू
मानौँ, बन्धकी परेका गण्डकीका बेचैन लहरहरू हुन्
र ऊ, मानौँ, गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो
जो आफूदेखि धेरै टाढा
सुदूर छाउनी र पराईका मोर्चाहरूमा बेखबर
प्रिय पति र मायालु बन्धुहरूलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार