दाङ , जेठ २५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले संगठन अधिवेशन आयोजक समितिका सदस्य असललाई पार्टीका सम्पूर्ण जिम्मेवारी तथा साधारण सदस्यताबाट मुक्त गरेको छ।
पार्टीका महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिअनुसार असलले पार्टीको जानकारी र निर्णयविपरीत ‘वाम–लोकतान्त्रिक युवा अभियान’ निर्माण गरेको सूचना पार्टी नेतृत्वलाई दिएका थिए। पार्टीले उक्त कदमलाई आफ्नो विचार, नीति र कार्यक्रमसँग असंगत ठहर गर्दै उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको जनाएको छ।
विज्ञप्तिमा राजनीतिक आन्दोलनमा कसरी र कुन दिशाबाट काम गर्ने भन्ने विषय व्यक्तिको स्वतन्त्रताको क्षेत्रभित्र पर्ने भए पनि पार्टीको मान्यता र नीतिभन्दा बाहिर गएर समानान्तर अभियान सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ।
पार्टीले मालेमावादी विचार, वैज्ञानिक समाजवाद–साम्यवाद तथा एकीकृत जनक्रान्तिको कार्यदिशामा प्रतिबद्ध रहेको बताउँदै हाल सार्वजनिक भएको मोर्चाका केही विषयहरू यथास्थितिवादी र पार्टीको मूल राजनीतिक लाइनसँग बाँझिने दाबी गरेको छ।
यस्तै, संगठन अधिवेशन आयोजक समितिको सदस्य जस्तो जिम्मेवार तहमा रहेर पार्टीको विचार र कार्यक्रम लागू गर्नुको सट्टा फरक राजनीतिक अभियानमा संलग्न भएको निष्कर्ष निकाल्दै असललाई पार्टीका सम्पूर्ण जिम्मेवारी र सदस्यताबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.