तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा निसासिएर दुई जनाको मृत्यु

डेली न्युजराप्ती       ७ श्रावण २०८३ १५:२२ मा प्रकाशित     134 No Comments

तुलसीपुर, दाङ — दाङको तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासिँदा दुई जना निर्माण व्यवसायीको दुःखद मृत्यु भएको छ।
मृत्यु हुनेमा सल्यानको माल्टा घर भई हाल तुलसीपुर–९ दोघर निवासी कमल गिरी र घनश्याम गिरी रहेका छन्। उनीहरू दाजुभाइका छोरा हुन् र लामो समयदेखि संयुक्त रूपमा घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। कमल गिरी निर्माण ठेकेदार तथा घनश्याम गिरी मिस्त्रीका रूपमा कार्यरत थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार उनीहरू निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र सेन्टरिङ (सेन्टरिङ) निकाल्न पसेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभाव हुँदा उनीहरू निसासिएको हुन सक्ने अनुमान गरिएको छ। ट्याङ्कीमा भर्‍याङसमेत नराखिएकाले उनीहरू बाहिर निस्कन नसकेको हुन सक्ने प्रहरीको भनाइ छ।
स्थानीयले बुधबार बिहान ट्याङ्कीभित्र उनीहरू रहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि रातिदेखि बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शव निकाल्न कठिनाइ भएपछि ट्याङ्की फोडेर बाहिर निकालिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार उक्त निर्माणाधीन घर तुलसीपुरका व्यवसायी मनिराम चन्दको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार