कविता : निरन्तर क्रान्ति

डेली न्युजराप्ती       २५ पुष २०७८ २०:२३ मा प्रकाशित     696 No Comments

शंकर दाहाल,बझाङ ।
हो म बदलिएको छु
यो होइन कि,
हाम्रो लक्ष्य र उद्देश्य बदलिएको छ,
पक्कै हो, हाम्रो बाटो बदलिएको छ
यो होइन कि
हाम्रो गन्तव्य बदलिएको छ ।

जनयुद्ध
अंकगणित र विजगणितको हिसाव थिएन
जहाँ लासहरु नविराई गन्न मात्र सकियोस्
हिंसालाई सवथोक भन्न मात्र सिकियोस्

जनयुद्ध
लेखापालले वासलात बनाएजस्तो थिएन
जहाँ यति पीडा र आहत बराबर
यति उपलब्धी र राहत भनेर
हिसाव फच्चे गर्न सकियोस्

जनयुद्ध, धङ्धङ्गी थिएन
जसलाई जीवनपर्यन्त मुसारेर बस्न सकियोस्
जनयुद्ध, युद्धउन्माद थिएन
जसलाई मनोगत लालसाले चलाउन सकियोस्

बरु
जनयुद्ध, परिस्थितिको उपज थियो
रहर होइन बाध्यता र आवश्यकता थियो
जनयुद्ध
बचपना र सनक थिएन
सुविचारित आन्दोलन थियो
यो आफैमा क्रान्तिको उद्घोष थियो
मुक्तिकामी विचार थियो
जनसंघर्षकै स्वरुप थियो

त्यसैले त
तिमीले बगाएको रगतले
गणतन्त्र लेखिएको छ
जनयुद्धकै जगमा
संविधानसभाबाट संविधान बनेको छ
शहिदहरुको बलिदानीले
लोकतन्त्र स्थापित भएको छ
पिंधमा परेका जनताकै तागतले
संघीयता आएको छ
तिम्रो सांस्कृतिक आन्दोलनले
धर्मनिरपेक्षता पाएको छ
पिछडावर्गकै सचेत संघर्षले
समानुपातिक प्रतिनिधित्वको व्यवस्था भएको छ

तिम्रै जीवनोत्सर्ग बलिदान, अविचलित संघर्षलाई
जनताले लालमोहर लगाइदिएका छन् र
पाएका छौं दुई तिहाई
यो समय, अतितका घाउ कोट्याएर
न विरक्त हुने अवस्था हो
न विक्षिप्त ।
बरु हामी,
कालकूट विष पिएर पनि बाँच्नुपर्ने छ
क्रान्तिको ‘नयाँ कोर्स’ पढेर
निर्माणको यो अग्निपरिक्षामा
उत्तीर्णि हुनु पर्नेछ
हामीले ‘मरेर’ लेखिएका इतिहासलाई साच्ची राख्दै
सिर्जना गरेर नवीन युगको
देखाउनुपर्ने छ
नवनिर्माणको आठौं आश्चर्य

हामीलाई चाहिएको छैन
त्यस्तो कायर बहादुरीता
जसले इतिहासको पुनरावृत्ति मात्र गरोस् ।

त्यसैले,
क्रान्तिको नाममा, मैले तिम्रोे रगत मागेको हो
आज म समृद्धिको नाममा, तिम्रो पसिना माग्दैछु
तिमी विनाको मुलुक,
तिमी विनाको परिवर्तन
तिमी विनाको विकास र समृद्धि
कल्पना पनि गर्न सकिन्न

शहिदहरुका सपनाको
मलामी जान नपरोस्
रगतले लेखिएका स्वर्गिम उपलब्धीमा
कालो नपोतियोस्
बहादुरीताका साथ मर्नेहरुको
संकल्प नमरोस्
वेपत्ता पारिएकाहरुको
सपना बेपत्ता नहोस्
बाँच्नेहरुको आशाबादिता
जीवन्त वाँचिरहोस्
यसैका लागि,
म ध्वंस पछिको निर्माणको कुरा गरिरहेको छु
म निषेध पछिको सिर्जनाको कुरा गरिरहेको छु

मैले पानी भित्र आगो
आगो भित्र उर्जा
उर्जा भित्र विरात संभावना देखिरहेछु
म तिमीभित्र प्रविणता खोजिरहेछु
निरिहता र लाफ्वाजी होइन
धैर्यता, साहस र वीरता खोजिरहेको छु
पाखण्ड र दम्भ होइन
त्यसैले म आह्वान गरिहेछु
प्रतिशोध होइन प्रतिज्ञा लेऊ
कुण्ठाग्रस्त होइन विश्वस्त होऔं
दुर्गति होइन स्वगति बुझौं
ढोंगी होइन, बुद्धिमानी हाऔं
अतिवादी होइन, वस्तुवादी बनौं

किनकि !
हामीले क्रान्ति गर्नु छ
आफैभित्र र बाहिर पनि
हामी मनोगत हुनु छैन,
हामीले बुझ्नु छ
कारण र परिणामको अन्योन्याश्रित सम्बन्ध
रुप र सारको संघर्ष,
हामीले आत्मसात गर्नु छ
सामान्य र विशिष्टको द्धन्द्धात्मकता
संभावना र वास्तविकताविचको तादाम्यता
हामीले हेर्नु छ, देख्नु छ
दृश्यरुप र अन्र्तवस्तु
अनिवार्यता र आकस्मिकता

त्यसैले यो निरन्तर जारी छ
एकिकृत जनक्रान्ति
विकास र समृद्धिको क्रान्ति
वैज्ञानिक ,समाजबादको क्रान्ति
व्यवस्था, विचार र प्रविधिको क्रान्ति
क्रान्तिको स्थगन भएको छैन
मात्र स्वरुप बदलिएको छ
अवको क्रान्ति
सिर्जनाको लागि हो
ध्वंसको लागि होइन ।
लेखक: शंकर दाहाल (बझाङ)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार