जनगणतन्त्र कोरियाद्वारा सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण

डेली न्युजराप्ती       २८ पुष २०७८ १९:१८ मा प्रकाशित     689 No Comments


क्षेप्यास्त्रको क्षमता ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी : प्रतिघन्टा ६,२०० किलोमिटर
काठमाडौँ : समाजवादको रक्षाका लागि साम्राज्यवादसँग लडिरहेको जनगणतन्त्र कोरियाले सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । सर्वोच्च नेता मार्सल किम जोङ उनको उपस्थितिमै जनगणतन्त्र कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार स्रोतहरूले जनाएका छन् । जनगणतन्त्र कोरियाको आधिकारिक सञ्चारमाध्यम केसीएनएले मङ्गलबार प्रहार गरिएको क्षेप्यास्त्र कम्तीमा एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ । यसको निशानाको अन्तिम दूरी कतिसम्म हो भन्ने नजनाइए पनि यसले हजारौँ किलोमिटर दूरी तय गर्नसक्ने जनाइएको छ ।

जनगणतन्त्र कोरियाले यसअघि पनि हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो तर यो भने अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रहेको जनाइएको छ । स्रोतहरूका अनुसार यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो ।
अङ्ग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२२ का अवसरमा देश र दुनियाँका समाजवादीहरूलाई सम्बोधन गर्दै सर्वोच्च नेता मार्सल किम जोङ उनले प्योङयाङको प्रतिरक्षालाई बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसको एक साताभित्रै दुईवटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेर कोरियाले आफ्नो प्रतिबद्धता पूरा गरेको छ।

जनगणतन्त्र कोरियाले मङ्गलबार प्रक्षेपण गरेको क्षेप्यास्त्रको पुष्टि गर्दै साम्राज्यवादको इसारामा चलिरहेका कोरियाका ‘शत्रु’ राष्ट्रहरू दक्षिणकोरिया र जापान दुवैले कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका छन् ।

केसीएनए समाचार संस्थाले त्यसपछि उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यसमा उच्च गतिशीलता भएको व्याख्या गरेको थियो । कोरियाले यसअघि जनवरी ५ तारिखमा पनि सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिका, बेलायत, फ्रान्सलगायत साम्राज्यवादी मुलुकहरूले भने विगतमा झैँ जनगणतन्त्र कोरियाको कदमको विरोध गरिरहेकै छन् । ती देशहरूले गरेको कथित निन्दा र ‘अस्थिर कार्यहरू’ रोक्न गरेको आह्वान ‘हात्ती लम्किँदैछ, कुकुर भुक्दैछ’ साबित भएको छ। हाइपरसोनिक अस्त्रहरू प्रायः ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा निसानातर्फ कम उचाइ हुँदै जान्छन् तर तिनको गति भने ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी अर्थात् प्रतिघन्टा ६,२०० किलोमिटर हुनसक्ने बताइएको छ । केसीएनएले प्रसारण गरेका तस्बिरहरूमा सर्वोच्च नेता किम जोङ उन अन्य अधिकारीसँगै परीक्षणको अवलोकन गरिरहेको देख्न सकिन्छ ।
स्रोत: eratokhabar.com

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार