एमसीसी पास गर्न देउवा–प्रचण्डको गोप्यपत्र सार्वजनिक, प्रचण्डको आपत्ति (पूर्णपाठ)

डेली न्युजराप्ती       २३ माघ २०७८ १६:४९ मा प्रकाशित     308 No Comments


दाङ। एमसीसीविरुद्ध देशव्यापी तीव्र विरोध भइरहेको बेला एमसीसीलाई देउवा प्रचण्डले लेखेको गोप्यपत्र सार्वजनिक भएको छ । सत्ता गठबन्धन दलले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र सार्वजनिक भएको छ। पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरेर सेप्टेम्बर २९ मा वासिङटन डिसीस्थित एमसीसी बोर्डलाई पत्र पठाएका थिए। गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष दाहालसमेत सहमत भएको पुष्टि भएको छ। अध्यक्ष दाहाल संसोधन नभई एमसीसी पास गर्न नसकिने अभव्यिक्ति दिँदै आएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठकमा संसदबाट एमसीसी पारित गर्ने प्रस्ताव गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा केन्द्रका अध्यक्ष दाहालले संसोधन नगरी एमसीसी पास गर्न नसकिने जवाफ दिएका थिए। एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि अध्यक्ष दाहाल चेपुवामा परेका छन्। प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्कटल्यान्डबाट स्वदेश फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसी पारित गर्ने प्रतिबद्धतासहित आफू र एकीकृत माओवादी केन्द्रका अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरी एमसीसी बोर्डलाई पत्र पठाएको खुलासा गरेका थिए। त्यही बेला दाहालले प्रधानमन्त्री देउवाको भनाइको खण्डन गरेका थिए। एमसीसीलाई लेखेको पत्र सार्वजनिक गरेकोमा आपत्तिसार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरे ।नेताहरुका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्ने माओवादी नेताहरुको प्रधानमन्त्री देउवालाई प्रश्न छ । जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको जनाइएको छ ।नेकपा एमसीसी सम्झौताविरुद्ध निरन्त संघर्षमा
एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेकपाले सुरुको अवस्थादेखि नै निरन्तर संघर्ष गर्दै आएको छ । नेकपाका महासचिव विप्लवले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग भएको भन्दै यसलाई कुनैपनि हालतमा अस्वीकार गर्ने बताउदै आएका छन् । महासचिव विप्लवले अगाडी एमसीसी, पछाडी एमसिक्स्टीन भएको भन्दै यसलाई खारेज गर्नपर्ने बताउदै आउनु भएको छ । नेकपाले यो सम्झौताविरुद्ध राजधानीमा विशाल आमसभा समेत गरेको थियो । २२ दलीय मोर्चाले आगामी माघ २६ गते देशव्यापी विरोध सभा गर्ने समेत बताएको छ ।
पत्रको पूर्णपाठ :
अध्यक्ष
मिलेनियम च्यालेन्ज कर्पोरेसन बोर्ड
फोर्टिन्थ स्ट्रिट नर्थवेस्टवासिङ्टन, डीसी २०००५
संयुक्त राज्य अमेरिका
सन्दर्भः नेपालसँगको एमसीसी कम्प्याक्ट र अनुमोदनप्रिय अध्यक्ष,हामी संयुक्त राज्य अमेरिकाको सरकार र जनतामा हाम्रो न्यानो अभिवादन तथा शुभेच्छा प्रकट गर्दछौं ।हामी एमसीसीमार्फत काम गरिरहेको संयुक्त राज्य अमेरिका र अर्थ मन्त्रालयमार्फत काम गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालबीच १४ सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (द कम्प्याक्ट) तथा २९ सेप्टेम्बरमा हस्ताक्षर भएको द प्रोग्राम इम्प्लिमेन्टेसन एग्रिमेन्ट (द पिआईए) लाई सह्राहनासहित स्वीकार गर्दछौं ।यस परिप्रेक्षमा, हामी, वर्तमान नेपाल सरकारका गठवन्धन साझेदारका नेताहरू, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संयुक्तरूपमा एमसीसी बोर्डलाई कम्प्याक्ट अनुमोदनका लागि अतिरिक्त समय उपलब्ध गराउन अनुरोध गर्दछौं ।कम्याक्ट अपरेसन्सकी उपाध्यक्ष फर्तेमा जेड सुमारको हालैको भ्रमणका क्रममा विस्तृत छलफलहरू भए र हामीले अनुमोदन गर्ने हाम्रो प्रतिवद्धता जाहेर गर्यौं । नवनिर्मित गठबन्धन सरकार यसतर्फ सबै सम्भावित प्रयासहरु लगाइरहेको छ ।हामी नेपालको आर्थिक विकासका लागि एमसीसी अनुदान हासिल गर्न तथा यसको कार्यान्वयन गर्न नेपाल सरकारको अभिरुचिबारे तपाईंलाई प्रत्याभूति दिलाउन चाहन्छौं ।एमसीसी कम्प्याक्टप्रति हाम्रो प्रतिवद्धता उजागर गर्नका निम्ति, अनुमोदनका लागि संसदको आवश्यक बहुमत हासिल गर्ने लक्ष्यसहित हामी आगामी चार-पाँच महिनाभित्र देहायका कार्यहरू गर्न सहमत छौं । हामी विशेषरूपमा प्रतिवद्धता जनाउँछौंः–
हाम्रो पार्टीका सदस्यहरुलाई सुसूचित गर्न सबै गठवन्धन साझेदारहरुसँग एमसीसीबाट प्राप्त भएको प्रष्टीकरणमाथि छलफल गर्ने।
नेपाली जनतासँग सार्वजनिकरूपमा सञ्चार गर्न नेपाल सरकारको स्रोत-साधनहरू प्रयोग गर्ने तथा कम्प्याक्टको कार्यान्वयन गर्न र कम्प्याक्टबारेका गलत बुझाई तथा आशंका निवारण गर्न सरकारले सहयोग गर्ने।
एमसीसी अनुमोदनका सम्वन्धमा सरकारको सकारात्मक दृष्टिकोण प्रदर्शन गर्न गठवन्धन साझेदारका नेताहरुसँग संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने।
सरकारी सञ्चारमाध्यममार्फत कम्प्याक्टका विषयमा सत्य सूचनाहरू सम्प्रेषण गर्ने।
एमसीए नेपाललाई प्राविधिक तथा सञ्चार क्रियाकलापहरु पूरा गर्न प्रोत्साहित गर्ने, जसले गर्दा कम्प्याक्टको कार्यान्वयन छिटो हुन सक्छ।
प्रतिनिधिसभाका सभामुखलाई चाँडोभन्दा चाँडो अनुमोदनका लागि कम्प्याक्ट टेबुल गर्ने योजना बनाउन संयुक्त अनुरोध गर्ने यी क्रियाकलापहरुले आगामी चार-पाँच महिनामा कम्प्याक्टको अनुमोदनका लागि आवश्यक संसदीय बहुमत जुटाउन सम्भव तुल्याउने हामीलाई विश्वास छ। उल्लेखित विषय तथा हाम्रा दुई राष्ट्र र जनताबीच कायम रहेको अनवरत मित्रता र सहकार्यलाई ध्यानमा राख्दै हामीले अनुमोदनका लागि अनुरोध गरेको अतिरिक्त समय एमसीसी बोर्डलाई स्वीकार्य हुने विश्वास लिएका छौं ।हामी यथासक्य चाँडो सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने प्रतीक्षामा छौं।
शेरबहादुर देउवा
प्रधानमन्त्री तथा सभापति, नेपाली कांग्रेस
पुष्पकमल दाहाल ‘प्रचण्ड’
पूर्वप्रधानमन्त्री तथा अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
साभार: जनबाटोबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार