एमसीसीविरुद्ध भोलि शक्तिशाली र जुझारु नेपाल बन्द आह्वान,पुर्वसन्ध्यामा देशभर मशाल जुलुस

डेली न्युजराप्ती       ३ फाल्गुन २०७८ १९:५० मा प्रकाशित     429 No Comments


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा भोलि बुधबार शक्तिशाली र जुझारु नेपाल बन्द आह्वान गरिएको छ । नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले मङ्गलबार अपराह्न संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको र उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी कम्प्याक्टले नेपाली राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सर्वाधिक रूपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठोर सङ्घर्ष गर्दै आइरहेको छ । जसको परिणाम एमसीसी कम्प्याक्टलाई संसद्‌बाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन, बरु सरकारी गठबन्धन र संसद्‌वादी दलभित्रै नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्षले पैदा गरेका अन्तरविरोध एवम् अवरोधहरूको सामना गर्नुपरेको थियो ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेका छन् । उपरोक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरिराखेका देशभक्त नेपाली जनतालाई सह्य छैन । एमसीसी कम्प्याक्टलाई खारेज गर्ने सशक्त र उच्च तहको सङ्घर्षको कार्यक्रम अनिवार्य बन्न पुगेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो राष्ट्रिय स्वाधीनतामाथि खतरा निम्त्याउने एमसीसी कम्प्याक्टका विरुद्ध उच्च तहको जुझारु एवम् प्रभावकारी सङ्घर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरूको फागुन ४ गते संसद्‌मा एमसीसी कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्नु हामी सङ्घर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधीनताको आन्दोलनको ऐतिहासिक आवश्यकता ठानेका छौँ । विषयको यही गाम्भीर्यलाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरिएको देशव्यापी विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रूपमा विकास गरी तपसिलबमोजिम सार्वजनिक गरेका छौँ । घोषित सङ्घर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पारी देउवा सरकारको एमसीसी कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिस्ट क्रान्तिकारी, सच्चा लोकतन्त्रवादीहरू देशभक्त शक्तिहरू मजदुर, किसान मध्यम वर्ग राष्ट्रिय उद्यमी, व्यवसायी, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, व्यापारी, कर्मचारी, सुरक्षा क्षेत्र, साहित्यकार, कलाकार, पत्रकारलगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आह्वान गर्दछौँ ।’

६ दलले सङ्घर्षका कार्यक्रमहरू यसप्रकार घोषणा गरेका छन:

१) फागुन ४ गते शक्तिशाली र जुझारु नेपाल बन्द ।
२) फागुन ५ गतेबाट थप सङ्घर्षका कार्यक्रम दिइने ।

बन्दको पुर्वसन्ध्यामा दाङमा मशाल जुलुस
यस्तै नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा भोलि बुधबार शक्तिशाली र जुझारु नेपाल बन्द आह्वानको पुर्वसन्ध्यामा दाङमा मशाल जुलुस प्रदर्शन गरिएको छ। पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा दाङ जिल्ला अन्तर्गतका पालिकाहरुमा भव्य मशाल जुलुस सम्पन्न भएको जनाइएको छ।
मशाल जुलुस पछिको कोणसभालाइ संयुक्त दलका नेताहरुले सम्बोधन गरेका हुन। सम्बोधनका क्रममा संयुक्त दलका नेताहरुले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनि हालतमा पास गर्न नदिने उद्घोष गरेका थिए। नेताहरुले राष्ट्रिय स्वाधीनतामाथी आच आउने कुनैपनी सन्धी-सम्झौता नेपाली जनतालाइ स्विकार्य नहुने बताएका थिए भने भोलीको बन्द राष्ट्रिय स्वाधीनताको रक्षाका लागि उठाइएको कदम भएकाले बन्दलाई सबैले साथ सहयोग र समर्थनका लागि अपिल समेत गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार