राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा तेस्रोपटक प्रदर्शन सहित सिडियो कार्यालय घेराउ

डेली न्युजराप्ती       १५ फाल्गुन २०७८ १७:१२ मा प्रकाशित     346 No Comments


सडकबाट एमसिसी सम्झौताका पक्षधरहरुलाइ राष्ट्रघाती घोषणा गर्छौं: नेता शितल
हेमन्त प्रकाश वली, फागुन १५, घोराही। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले सडकबाट एमसिसी सम्झौताका पक्षधरहरुलाइ राष्ट्रघाती घोषणा गर्नुभएको छ।
आज आइतबार नेपाल कम्युनिस्ट पार्टी सहित दाङमा कृयासिल ३ कम्युनिस्ट पार्टीहरु नेकपा ( मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र २ मोर्चा राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा आयोजित राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताउनुभएको हो। उहाले सदनमा राष्ट्रघाती एमसिसी सम्झौताका पक्षमा रहनेलाई राष्ट्रघाती घोषणा गर्नुभएको हो। नेता शितलले महाकाली सन्धीमा जस्तै व्याख्यात्मक टिप्पणीको हवाला दिएर राष्ट्रघाती एमसिसी सम्झौताका पक्षमा प्रचण्ड नेतृत्वको नेकपा ( माओवादी केन्द्र)ले जनताको आखामा छारो हालेर राष्ट्रघात गरेको समेत बताउनुभएको हो। उहाले हजारौं नेपाली जनताहरुले राष्ट्रघाती एमसिसी सम्झौता पास नगर्न आन्दोलन गरिरहदा पनि अमेरिकी साम्राज्यवादका नेपाली दलालहरुले सेना प्रहरी र तारबारले संसदभवन घेरेर राष्ट्रघात गर्न खोजेको बताउनुभयो। उहाले भन्नुभयो,” संसदबाट जबर्जस्त राष्ट्रघात गर्ने दुस्साहस गरे नेपाली जनताले सडकबाट फैसला गर्नेछन।”
नेता शितलले एमसिसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग, नेपालको कानुन भन्दा माथी रहने परियोजना,परियोजनामै अमेरिकाले सहयोग नभएर लगानी लेखिएको लगाएतका थुप्रै राष्ट्रघाती बुदाहरु छर्लङ्ग देख्दादेख्दै पनि बिदेशी दलालहरु पास गर्न कम्मर कसेर लागेको समेत बताउनुभएको हो। एमसिसी पास भए युक्रेनले जुन अवस्था आज भोगेको छ त्यहि अवस्था भोलीका दिनमा नेपालको भोग्ने समेत नेता शितलको भनाइ थियो। संसदबाट आ-आफ्ना नेताहरुले राष्ट्रघात गरेको टुलुटुलु हेरेर नबस्न र दास नबन्न नेता शितलले पार्टी भित्र रहेका इमानदार,देशभक्त,राष्ट्रबादी कार्यकर्ताहरुलाइ देश जोगाउने आन्दोलनमा सक्रिय सहभागीता जनाउन अपिल समेत गर्नुभएको हो।

कार्यक्रममा नेकपा माले लुम्बिनी प्रदेश कमिटी सदस्य कपिलदेव पोख्रेल, देशभक्त जनगणतान्त्रीक मोर्चा दाङका अध्यक्ष इश्वरी गैरे,राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शुरेस थापा र नेकपा ( क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य समीर केसिले सम्बोधन गर्नुभएको थियो।
घोराहीको ट्राफिक चोकबाट सुरु भएको बिरोध र्याली बजारका विभिन्न चोकहरु परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय घेराउमा परिणत भएको हो। घेराउ पछिको सभाको सहजीकरण अखिल( क्रान्तिकारी) का केन्द्रीय सदस्य अमर खड्काले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार