मेट्रो कलेजमा न्यायिक संवाद

डेली न्युजराप्ती       ११ चैत्र २०७८ २०:१९ मा प्रकाशित     270 No Comments


तुलसीपुर ११ चैत । तुलसीपुर मेट्रो कलेज विएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थी विपना गिरीले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधिश निता गौतम दिक्षितलाई प्रश्न गरिन् ‘ आफ्नै आँखाले मान्छे मारेको देख्नुभयो भने मुद्दा कसरी लड्नुहुन्छ’ उनकै प्रश्नलाई सघाएर श्रेया गौतमले सोधिन् ‘न्यायाधिशको आँखाले नै देखेको अपराधमा मुद्दा लड्दा के हुन्छ ?’ गौतमले १८ वर्ष नपुगेको बालिका नावालिक हुने तर बालक किन नावालिक नहुने भनेर प्रश्न पनि गरिन् । मुख्य न्यायाधिश दिक्षितले न्यायिक प्रक्रियामा न्यायाधिशले आफैले देखेको घटनाको फरक तरिकाले न्याय निरुपण नहुने वताईन् । ‘प्रत्यक्षदर्शीका हिसाबले घटनाको विवरण प्रशासनलाई जानकारी गराउनु बाहेक अन्य विकल्प केही हुँदैन’ उनले भनिन् । न्यायाधिश दिक्षितले आँखाले भन्दा पनि प्रमाणित डकुमेन्ट र वयानका आधारमा न्यायको छिनोफानो हुने वताइन् ।

तुलसीपुर उच्च अदालतले राखेको न्यायिक संवादन कार्यक्रममा कानूनका विद्यार्थीहरुले अनेक प्रश्न र गुनासा गरेका थिए । विद्यार्थी देविसरा वलीले सर्वोच्च अदालतको मुख्य न्यायाधिसलाई राजनीतिक बाटोबाट नियुक्त गर्ने कुरा संविधानमा उल्लेख हुनुले न्यायपालिकाको गरीमा घटाउँदै लगेकोमा दुख व्यक्त गरिन् । ‘कानूनको सर्वोच्च निकायमा रहने व्यक्ति अनेक बहानामा राजनीतिक तवरले नियुक्त हुनु के राम्रो कुरो हो ’ उनको प्रश्न थियो । अर्का विद्यार्थी पारस अर्यालले महिला न्यायाधिशका संख्या अत्यन्त न्युन हुनुको कारणका बारेमा सोधेका थिए । विद्यार्थी सरु चौधरीले पैसा नहुनेको बारेमा मुद्दा लड्ने कोही हुन्छ या हुँदैन भनेर प्रश्न गरेकी थिइन् ।
विद्यार्थीका अनेक गुनासाको जवाफ दिदै न्यायाधिश रमेशराज पोखरेलले उच्च अदालत तुलसीपुरले न्यायिक प्रक्रियालाई सहज वनाउँदै लगेको वताए । उनले पैसा नहुनेहरुका लागि अदालतले वैतनीक वकिलको व्यवस्था गरेको पनि वताए । ‘पैसा नहुनेले पनि हामीलाई जानकारी गरायो भने वैतनिक वकिल मार्फत मुद्दा लड्ने प्रक्रिया अगाडी वढाउँछौ ’ उनले जानकारी दिए ।
मुख्य न्यायाधिश दीक्षितले अदालती प्रक्रियालाई सहज बनाउनका लागि उच्च अदालतले डिजिटल माध्यमलाई जोड दिएको वताईन् । उनले अनलाईन मार्फत जाहेरी दिन सकिने वताउँदै उच्च अदालतमा आएर काठमाडौमा तारिख दिन सकिने पनि वताइन् । ‘हामीले जुम मार्फत टाढा जान नसक्नेलाई तारिख लगाउन सक्ने व्यवस्था समेत गरेका छौ’ दिक्षितको भनाई थियो ।

सो अवसरमा उच्च अदालतका रजिष्ट्रार यमबहादुर बुढामगरले नेपालको न्यायिक प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले न्यायिक र अर्धन्यायिक निकायले गर्ने काममा बारेमा पनि वताए । कार्यक्रममा कलेज प्रमुख बसन्त आचार्य, विद्यार्थी देविसरा वली लगायतले बोलेका थिए भने सञ्चालन उच्च अदालतका सूचना अधिकारी भुपाल भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार