केन्द्रीय प्रशिक्षण कार्यक्रममा के-के भने नेकपाका नेताहरुले? क्रान्ती सफल हुन्छ:विप्लव

डेली न्युजराप्ती       १८ चैत्र २०७८ २३:३४ मा प्रकाशित     1018 No Comments


भरतपुर(चितवन)। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयमा कुनै पनि समस्या नरहेको बताएका छन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा पार्टीको १२ औँ केन्द्रीय समिति बैठकपछि चितवनमा केन्द्रीय समितिले आयोजना गरेको केन्द्रीय सदस्य, विशेष समिति, केन्द्रीय विभाग र जिल्ला सेक्रेटरीसहित तीन सयभन्दा बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव विप्लवले ‘प्रतिक्रियावादी सत्ताले आफ्नो रक्षाका लागि गराउने चुनावको विषयलाई लिएर हामीले टाउको दुखाउनु हुँदैन । हामी क्रान्तिका विषयमा चिन्तित हुनुपर्छ । हामी क्रान्ति जित्ने दिशातर्फ अग्रसर भएका छौँ ।’
एकीकृत जनक्रान्तिको कार्यदिशासँगै पार्टीले सम्पत्तिको स्वामित्व, राजनीतिक प्रणाली, शासकीय स्वरुपका विषयमा पनि बहस अघि बढाएको प्रष्ट पार्दै महासचिव विप्लवले समाजवाद, उच्च चेतनाको अभिव्यक्ति भएको र राजनीतिक रुपमा देश नेकपाकै पक्षमा रहेको धारणा राखे । पार्टी उत्पादनमा निर्भर हुँदै गएको र केही समयमै यो अवस्था अझ राम्रो हुँदै जाने महासचिव विप्लवले बताए ।

एकध्रुवीय विश्वमा क्रान्ति सम्भव छैन भन्दै प्रचण्ड–बाबुराम क्रान्तिबाट भागेको समयमा नेकपाले श्रमिक वर्गमा क्रान्तिप्रति आशा र विश्वास जगाएको बताउँदै जनता, क्रान्तिको आशा र विश्वास अनुसार राजनीतिलाई सङ्गठनमा रुपान्तरण गरेर क्रान्तिलाई उचाइँमा उठाउनुपर्ने महासचिवको भनाइ थियो । एमसीसीविरुद्ध नेकपाले सञ्चालन गरेको आन्दोलन साम्राज्यवाद र दलाल पुँजीवाद दुवैका विरुद्धको आन्दोलन भएकाले यो एकीकृत जनक्रान्तिको सफलतासँग गाँसिएको विषय रहेको उनले बताए ।
क्रान्तिप्रति धोका नहुने कुरामा दृढ विश्वास दिलाउँदै महासचिव विप्लवले भने, ‘दलाल पुँजीवादले गराउने चुनावको विषयमा क्रान्तिकारीहरुबीच मतभिन्नता आउनु हुँदैन । एमसीसी विरोधी र पक्षधरता बीचमा ध्रुवीकरण गराउनुपर्छ । जनताले नेकपालाई आशाको दृष्टिले हेरेका छन् । जनताको आशा र विश्वासमा घात गर्नु हुँदैन ।’

महासचिवले नेता–कार्यकर्ताले राखेको जिज्ञासा पनि शान्त पारेका थिए । बैठक आजै सकिएको छ ।

दलाल पुँजीवादप्रति कसैको विश्वास छैन : प्रकाण्ड
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले यो दलाल पुँजीवादी व्यवस्थाप्रति कसैको पनि विश्वास नरहेको बताएका छन् । पार्टीको १२ औँ पूर्ण बैठकपछि चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणमा उपस्थित पार्टी नेता–कार्यकर्ताका बीच प्रवक्ता प्रकाण्डले अवसरवादी, पलायनवादी र संशोधनवादीहरसँग विद्रोह गरी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यदिशा प्रवर्तन गर्ने नेता र नेतृत्वलाई निरन्तर विश्वास र सहयोग गरिरहनुपर्ने पनि बताए ।

संसारमै र नेपालमा पनि अरू नेताबाट भएको प्रतिक्रान्तिभन्दा प्रचण्ड–बाबुराम भट्टराईले कम्युनिस्ट आन्दोलनमाथि गरेको गद्दारी र प्रतिक्रान्ति ठूलो रहेको र नेकपाले नै यसलाई उल्ट्याएर क्रान्ति सम्पन्न गर्ने विश्वास प्रवक्ता प्रकाण्डले व्यक्त गरे । उनले भने, ‘एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादप्रति हाम्रो पार्टी दृढ छ । क्रान्ति आँट, साहस इच्छाशक्ति र बलिदानले आगोसँग खेल्ने कुरा हो । यसका लागि हामी तयार छौँ ।’

पार्टीले चुनावमा भाग नलिने र देशभक्त तथा एमसीसी विरोधीहरुलाई सहयोग गर्नसक्ने पार्टी निर्णय प्रष्ट पार्दै उनले भने, ‘यो हाम्रो कार्यनीति मात्र हो । मोहनविक्रम सिंहको जस्तो रणनीतिक विषय होइन ।’

प्रतिक्रियावादी सत्ताको चुनावमा हामी भाग लिँदैनौँ : कञ्चन
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राष्ट्रघाती एमसीसी पास गर्ने दलाल पुँजीवादी सत्तालाई नै बलियो पार्ने गरी प्रतिनिक्रियावादी सत्ताले गराउने चुनावमा नेपाल कम्युनिस्ट पार्टीले भाग नलिने बताएका छन् । पार्टी केन्द्रीय प्रशिक्षणमा हसभगाी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता कञ्चनले भने, ‘यो प्रतिक्रियावादी चुनावमा हामी भाग लिँदैनौँ । बहिष्कार गछौँ । इन्कार गछौँ । यो व्यवस्थाको प्रतिक्रियावादी चरित्रको भण्डाफोर गछौँ ।’

नेता कञ्चनले नेता–कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘स्थानीय चुनावमा पार्टीभन्दा बाहिरका स्वतन्त्र उम्मेदवार, एमसीसीमा राष्ट्रघात गर्ने र तिनका मतियारहरुविरुद्ध लड्नेलाई समर्थन गर्न सकिन्छ, गर्नैपर्ने होइन । एमसीसीविरोधीलाई समर्थन गर्ने होइन, गर्न सकिने कुरा मात्र हो ।’
पार्टीको कुनै जिम्मेवारी लिएका नेता चुनाव लड्न गए पदबाट राजीनामा दिएर स्वतन्त्र भएर जानुपर्ने उनले प्रष्ट पारे । उनले भने, ‘स्वतन्त्र रुपमा चुनावमा उठ्ने व्यक्ति पार्टीको सदस्य हुँदैन । स्वतन्त्र हैसियतले लड्ने हुन्छ ।’ हरेक पार्टी नेता–कार्यकर्ता र सदस्यले यो दलाल पुँजीवादी व्यवस्था र उसले गराउने चुनावको भण्डाफोर र गर्नुपर्नेमा उनले जोड दिए । नेकपा मात्र दलाल पुँजीवादी सत्ताको विकल्पमा रहेको पनि उनले बताए ।

कम्युनिस्टहरु कहिल्यै पनि चुनावविरोधी नहुने प्रष्ट पार्दै नेता कञ्चनले वैज्ञानिक समाजवादभित्र पनि कम्युनिस्ट–कस्युनिस्टबीच प्रतिस्पर्धा हुने प्रष्ट पारे ।

हाम्रो पार्टीले चुनावमा भाग लिँदैन : सुदर्शन
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले आफ्नो पार्टी दल दर्ता गराएर चुनावमा भाग नलिने बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागी तीनसयभन्दा बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता सुदर्शनले आवश्यकता परेमा एमसीसीविरोधी, जनपक्षीय, देशभक्त उम्मेदवारलाई स्वतन्त्र रुपमा समर्थन गर्न सकिने तर अनिवार्य नभएको धारणा पनि राखे ।
नेता सुदर्शनले भने, ‘चुनावमा भाग नलिने, भण्डाफोर गरेर जाने नै प्रधान पहल हो ।’ पार्टीका नेता–कार्यकतालाई दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सम्पन्न गर्ने कार्यक्रममा निराशा होइन, आशावादी बनेर जनतामा जान र विजयभाव सम्प्रेषण गर्न पनि उनले आह्वान् गरे । दलाल पुँजीवादी शक्तिहरुले षड्यन्त्रपूर्ण रुपले सदनबाट राष्ट्रघाती एमसीसी पारित गरे पनि जनताको बलमा देशभक्तहरुलाई केन्द्रिकरण गरेर एमसीसी असफल बनाइदिनुपर्ने नेता सुदर्शनले बताए ।

क्रान्तिबाट विचलित हुने छुट छैन : विषम नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले क्रान्तिबाट विचलित हुने छुट पार्टी र नेताहरुलाई नभएको बताएका छन् । केन्द्रीय प्रशिक्षणमा सहभागी पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले क्रान्तिको नेतृत्व गरिरहुन्जेल पार्टी महासचिव विप्लवलाई साथ दिइरहने पनि प्रष्ट पारे । दुस्मनसँग कला पुर्याएर लड्नुपर्ने उनको भनाइ थियो ।

विचार र सिद्धान्त नै फरक परेपछि कोही पनि सँगै बस्न नहुने धारणा राख्दै नेता विषमले चुनाव बहिष्कार गर्दै आएको पार्टीमा प्रयोगको कार्यनीति प्रस्तावित हुँदा तरङ्ग उत्पन्न भए पनि पार्टीले चुनावमा नजाने तर देशभक्त, एमसीसीविरोधी शक्तिलाई समर्थन गर्न सकिने निर्णय गरेर वैज्ञानिक बाटो रोजेको प्रष्ट पारे ।

रातोखबरबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार