तीनबुँदे सहमति उल्ट्याउँदै र नेकपालाई जिस्क्याउँदै गठबन्धन सरकार

डेली न्युजराप्ती       २० चैत्र २०७८ १७:२४ मा प्रकाशित     369 No Comments


नेकपा नेता राईको घरमा एकैसाथ २–२ वटा पक्राउ पुर्जी
काठमाडौँ : नेकपासँग तीनुबँदे सहमति गरेको १३ महिना बितिसक्दा पनि सहमति कार्यान्वयन गर्नु त कता हो कता, उल्टै नेकपा नेताका घरमा पक्राउ पुर्जी जारी गर्दै सरकारले सहमति कार्यान्वयन गर्न चरम उदासीनता मात्र देखाएको छैन, नेकपालाई जिस्क्याएको अनुभूति गरिएको छ । भोजपुर षडानन्द नगरपालिका वडा नम्बर एक नेपालेडाँडा घर भएका नेकपाका केन्द्रीय सदस्य एवम् युवा नेता तीर्थ राईको घरमा एकैपटक २–२ वटा पक्राउ पुर्जी टाँसेर चार दलको गठबन्धन देउवा नेतृत्वको सरकारले जग हँसाएको मात्र नभएर नेकपाका नेता–कार्यकर्तालाई विस्मयमा पनि पारेको छ । धादिङ र सिन्धुपाल्चोक जिल्ला अदालतले पठाएका पक्राउ पुर्जी राईको घरमा एकै साथ टाँसिएका हुन् ।

२०७६ साल जेठ १० गते सिन्धुली जिल्लाको डाडीगुराँसेबाट गिरफ्तार गरी अभद्र व्यवहार मुद्दा लगाइएका नेकपा नेता राईलाई ६ महिनासम्म सिन्धुली कारागारमा राखिएको थियो । सोही वर्षको मङ्सिर ४ गते रिहा भएका राईलाई कारागार परिसरबाटै गिरफ्तार गरी पुनः अभद्र व्यवहार मुद्दा लगाएर रामेछाप लगी २५ दिनसम्म हिरासतमा राखिएको थियो ।

रामेछापबाट साधारण तारेखमा रिहा भएका राईलाई पुनः गिरफ्तार गरी दोलखा पुर्याएर अभद्र व्यवहारको मुद्दा लगाएर २५ दिन हिरासतमा राखिएको थियो । त्यहाँबाट पुनः अभद्र व्यवहारकै मुद्दा लगाएर सिन्धुपाल्चोक पुर्याइएका नेता राईलाई सर्वोच्चमा परेको रिटबाट मुक्त हुनासाथ पुनः गिरफ्तार गरी काभ्रे पुर्याएर अभद्र व्यवहारको मुद्दा लगाई हिरासतमा बन्दी बनाइएको थियो ।

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको दोस्रो रिट परी हिरासतमुक्त भएका नेता राईराई प्रहरीले पुनः गिरफ्तार गरी नुवाकोटको एनसेल टावर आक्रमण गरेको आरोप लगाएर पुनः ८ दिन नुवाकोट प्रहरी हिरासतमा राखेको थियो । नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गरे पनि उनलाई मुक्त हुनासाथ प्रहरीले २०७६ साल माघमा रसुवा पुर्यायो । रसुवा जिल्ला अदालतबाट साधारण तारेखमा छुटेका नेता राईलाई पुनः गिरफ्तार गरी प्रहरीले २०७६ चैतमा अभद्र व्यवहारको मुद्दा लगाएर धादिङ पुर्याई चैतसम्म ५५ दिन हिरासत र ६ दिन कारागारमा राखेको थियो ।

त्यसपछि नेता राईलाई २०७७ साल वैशाखमा चितवन लगियो र अर्को मुद्दा लगाएर नवलपुर पुर्याई १४ दिन हिरासतमा राखियो । त्यसपछि २०७७ साल जेठ ५ गते चितवन जिल्ला कारागारमा पुर्याइएका नेता राई एक महिना जेल बसेपछि असार ५ गते धरौटीमा रिहा भएका थिए ।

अहिले सिन्धुपाल्चोक र धादिङ अदालतबाट फरार भन्दै घरमा दुईवटा पुर्जी टाँसिएको नेता राईले रातो खबरलाई बताए । संसद्वादी गठबन्धन दलहरूको देउवा सरकारले एकातिर नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई तीनबुँदे सहमति तत्काल लागू गर्ने आश्वासन दिइरहेको छ भने अर्कातिर नेकपाका नेताहरूमाथि लगाइएका झूट्टा मुद्दा खारेज गर्नुको साटो उल्टै झूट्टा मुद्दाका पुर्जी टाँसेर नेकपालाई जिस्क्याइरहेको छ । नेकपाका कयौँ नेता–कार्यकर्ता अझै जेलमै छन् । सत्तामा सङ्कट रहेको र वार्ता तथा शान्तिपूर्ण प्रक्रियाद्वारा सत्तासङ्कट समाधान गर्ने भन्दै पूर्ववर्ती केपी वली सरकारले नेकपासँग ३ बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नगर्दा पुरानो सत्तासँग वार्ताप्रक्रिया अघि बढ्न सकेको छैन । एकातिर दलाल पुँजीवादी सत्ता स्थानीय निकायको निर्वाचनको होहल्ला र नाटक गरिरहेको छ भने अर्कातिर नेकपाका कयाँै नेता–कार्यकर्ता जेलमै छन् र कयौँ नेता–कार्यकर्तामाथिका झूट्टा मुद्दा कायमै छन् । एउटा राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई जेलमै राखेर र झूट्टा मुद्दा लगाएर दलाल सरकार र पुँजीवादी दलहरूले ‘उत्सव’ का रूपमा घोषणा गरेको चुनाव कसरी सम्भव होला वा भए पनि त्यसको के अर्थ रहला, विश्लेषकहरूको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार