विप्लव भेटेपछि संचारकर्मी पीडितले त्यागे माओवादी केन्द्र

डेली न्युजराप्ती       ८ बैशाख २०७९ ०६:५० मा प्रकाशित     875 No Comments


दाङ। साहित्यकार एवं संचारकर्मी केएल पीडितले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गरेका छन् । संचारकर्मी पीडितले माओवादी केन्द्रलाई एक पत्र लेखेर पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । माओवादी केन्द्रले लामो समयदेखि भूमिकाविहिन बनाएर अन्याय गरेको र पार्टीमा व्यापक गुटबन्दी एवं विचलन देखिएकोले पार्टी परित्याग गरेको जनाएका छन् ।
२०४६ सालको आन्दोलनसंगै राजनीतिमा जोडिएका पीडितले प्रारम्भदेखि माओवादी जनयुद्धलाई समर्थन गरेर माओवादी आन्दोलनमा जोडिएका थिए । तत्कालीन समयमा माओवादी पार्टीको मुखपत्र नौलो जनउभार साप्ताहिकको कार्यकारी सम्पादकको भूमिकाबाट पार्टी र क्रान्तिमा योगदान गरेका थिए । त्यसक्रममा भूमिगत जीवन, सैनिक हिरासत लगायत सैनिक आक्रमण झेलेका पीडित निरन्तर सामाजिक, राजनीतिक एवं साँस्कृतिक अभियानहरुमा सक्रिय छन् ।
नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष समेत रहेका पीडित नयाँ युगबोध दैनिक, नौलो जनउभार साप्ताहिक, योजना साप्ताहिक, नेपाल टेलिभिजन हुँदै अहिले पहल संचार अनलाइनमा आवद्ध छन् ।
प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय सदस्य पीडितका सहर पसेपछि, झोला र सपनाहरु (कविता संग्रह), समयको कथा (कथा संग्रह), हृदयका सरगमहरु (गीति संग्रह), आह्वान (गीति एल्बम) प्रकाशित कृतिहरु हुन् । पछिल्लो समय चलचित्रकर्ममा सक्रिय रहेका पीडितले २ दर्जन बढी नाटक तथा ओपेराको लेखन तथा निर्देशन गरेका छन् भने भुइँह्यार लावाजुनी गरी दुई चलचित्रको निर्माण एवं निर्देशन गरेका छन् । चलचित्र महोत्सव, संगीत अवार्ड, कार्यशाला एवं अनेक साँगीतिक/साँस्कृतिक अभियान संचालन गरेर कला, संस्कृतिको प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएका पीडित सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।
लामो समयदेखि माओवादी केन्द्रमा न्यायोचित भूमिकाको माग गरिरहेका पीडितले आफू नयाँ राजनीतिक भूमिकाको खोजीमा रहेको बताएका छन् । आफू सक्रिय व्यक्ती भएको र अब नया तरिकाले राजनितीमा अघि बढ्ने पीडितले बताएका छन।

पार्टी परित्याग गर्नुअघि संचारकर्मी पिडितले नेकपाका महासचिव नेत्र बिक्रम चन्द(विप्लव)संग कपिलवस्तुमा भेटघाट गरेका थिए। उनले सामाजिक संजाल फेसबुकमा नेकपाका महासचिव विप्लवसंग भेटघाट गरेको तस्वीर सार्वजनिक गरेका थिए। उनले कपिलवस्तुमा महासचिव विप्लवसंगै जनकम्युनमा श्रम गरेका तस्वीर समेत सार्वजनिक गरेका थिए।

संचारकर्मी पिडितले माओवादी केन्द्र परित्याग गरेसंगै दाङमा माओवादी केन्द्र परित्याग गर्नेको संख्या दिनानुदिन बढेको छ। केही समयअघि दाङमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज जिबन गौतम लगाएतका नेता-कार्यकर्ताहरुले पार्टी परित्याग गरिसकेका छन।

पार्टी परित्यागबारे संचारकर्मी पिडितद्वारा लेखिएको पत्र:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार