नेकपाद्वारा केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन

डेली न्युजराप्ती       २२ बैशाख २०७९ ०६:४५ मा प्रकाशित     315 No Comments

एकीकृत जनक्रान्ति र नेतृत्व विरुद्धको खुफिया प्रचारबाट सतर्क रहन सिङ्गो पार्टी पङ्क्तिमा अनुरोध

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन गरेको बताएका हुन्।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ब अफवाह फैलाउने, पार्टी नेतृत्वको विरुद्ब विष बमन गर्ने अन्तत: पार्टी, एकीकृत जनक्रान्ति, पार्टी पद्दति र अनुशासनविरुद्ब अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य दिपक चलाउने र गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको जनाइएको छ ।

विज्ञप्तिमा लेखिएको छ,`पदमुक्त गरिएका दुई जना सचिवालय सदस्य, तीन जना पूर्ण केन्द्रीय सदस्य र पाँच/ छ जना वैकल्पिक सदस्यको झुण्ड जम्मा पारेर पार्टीलाई बन्चरो हान्ने दुस्साहस र बहुमतको जामा पहिराई पार्टी पंतिलाई भ्रमित पार्ने एवं जनपंतिलाई निरास बनाउने यो गुटको पार्टी, एकीकृत जनक्रान्ति र नेतृत्व विरुद्बको खुफिया प्रचार शैलीबाट सतर्क रहन र भ्रमित नहुन सिङ्गो पार्टी पंति, जनसंगठन, मोर्चा, विभाग र आम नेपाली जनसमुदायमा विनम्र अनुरोध गर्दछौँ ।´

विज्ञप्तिको पुर्णपाठ:
१- हाम्रो पार्टीको आठौँ केन्द्रीय समितिको १२ ओँ पूर्ण बैठकमा पार्टी महासचिव क. विप्लवले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा स्थानीय चुनाव प्रयोगको विषय पार्टी केन्द्रीय समितिको बैठक, सिङ्गो पार्टी पंति, राष्ट्रिय राजनीतिर एक हदसम्म अन्तर्राष्ट्रिय राजनीतिमा सर्वाधिक बहस र चर्चामा रह्यो । हाम्रो पार्टी, एकीकृत जनक्रान्तिका पक्षधर जनसमुदाय र क्रान्ति विरोधी तत्व दलाल पूँजिवाद एवं साम्राज्यवादको ध्यान केन्द्रीय समितिको बैठकमा केन्द्रीत भयो । अन्तमा बहसमा व्यक्त विचार, इमानदारीता र क्रान्तिकारी प्रवृतिको सम्मान र उच्च जनवादको प्रयोगको रुपमा ग्रहण गर्दै स्थानीय चुनावबारे यो पटकको स्थानीय चुनावलाई पार्टी दर्ता गरेर उपयोग गरिने छैन तर MCC एंव राष्ट्रघात विरोधी प्रतिनिधिहरुलाई सहभागी बनाउने र र सहयोग गर्ने नीति लिनु उपयुक्त हुने छ भन्ने केन्द्रीय समितिले सर्वसम्वत निर्णय लियो ।
२- जब केन्द्रीय समितिको निर्णयको संप्रेषण र कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो । पार्टी भित्रको जडसुत्रवादी, यान्त्रिकतावादी, सामाजिक अवसरवादी, गुटवादी, फुटवादी, आर्थिक अराजकतावादी, साँस्कृतिक उपयोगीतावादी र छाडावादी प्रवृतिले भाँजो हाल्ने, अवरोध खडा गर्ने र पार्टी पंति एंव जनपंतिमा गोयवल्स शैलीलाई माथ गर्ने गरि भ्रम सृजना गर्न उद्दत रहँदै आयो । धर्मेन्द्र वास्तोला र हेमन्त प्रकाश वली गुटको आज चितवनमा आयोजना गरिएको भनिने कथित भेलाले उक्त कुराको पुष्टी गरेको छ ।
३- पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई विसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ब अफवाह फैलाउने, पार्टी नेतृत्वको विरुद्ब विष बमन गर्ने अन्तत: पार्टी, एकीकृत जनक्रान्ति, पार्टी पद्दति र अनुशासन विरुद्ब अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य क.दिपक चलाउने र क. गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको छ।

४- एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा वैचारिक राजनैतिक बहस र विवादलाई निरुपण गर्ने मालेमावादी पद्दति उच्च जनवादको प्रयोगद्बारा सत्य पत्ता लगाउने र त्यो सत्यलाई सर्वसम्मत निर्णयमा पुर्याउनु हो । त्यो हुन नसके निणयार्थ प्रस्तुत गरेर मत विभाजनबाट टुङ्गो लगाउने हो । बहुमतको निर्णय अल्पमतले पार्टी पद्दति र अनुशासनमा रहेर मान्नु पर्दछ । लागु पनि गर्नुपर्दछ ।नीतिगत विषय हो भने फरक मत पक्षले एउटा केन्द्रीय समितिदेखि अर्को केन्द्रीय समितिको बैठकसम्म पर्खनु पर्छ । धैर्य पनि गर्नु पर्छ । पार्टीको निर्देशक विचारमा फरक, राजनीतिक कार्यदिशामा फरक, राजनीतिक सैन्य कार्यदिशा र संगठनात्मक सिद्बान्तमा फरक हो भने एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म त न्युनतम पर्खनु पर्छ । कञ्चन र सुदर्शन गुटको न त पार्टी निर्देशक विचारमा मतभिन्नता नै छ, न त राजनीतिक कार्यदिशा, फौजी कार्यदिशा र संगठनात्मक सिद्बान्तमा फरक छ । स्थानीय चुनाव सम्बन्धी पार्टीको साझा दृष्टिकोण र प्रयोग गर्ने नयाँ नीतिलाई बहाना बनाई पार्टी नेतृत्व विरुद्ब भ्रमको खेती गरेर पार्टी र क्रान्तिबाट पलायन हुने जुन हर्कत गरिरहनु भएको छ, यसले यो गुटको पार्टी र क्रान्तिको रक्षाको दुहाई हात्तिको देखाउने दाँत मात्र हो भन्ने कुरा छर्लङ्ग भएको छ । अन्तत: कञ्चन र सुदर्शन गुटको नेपाल कम्युनिस्ट पार्टी, एकीकृत जनक्रान्तिका र नेतृत्वका विरुद्ब हमला गर्ने दुस्साहस प्रकारान्तरले दलाल पूँजीवादी वर्ग, सामाजिक दलाल पूँजिपतिवर्ग र उत्तर साम्राज्यवादको नै सेवा गर्ने छ । यस खतराबाट सिङ्गो पार्टीपंति र जनपंति पुराकापुर सतर्क रही पार्टी एकताको रक्षा गर्न हाम्रो पार्टी विषेश अपिल गर्दछ।
५- पदमुक्त गरिएका दुई जना सचिवालय सदस्य, तीन जना पूर्ण केन्द्रीय सदस्य र पाँच/ छ जना वैकल्पिक सदस्यको झुण्ड जम्मा पारेर पार्टीलाई बन्चरो हान्ने दुस्साहश र बहुमतको जामा पहिराई पार्टी पंतिलाई भ्रमित पार्ने एवं जनपंतिलाई निरास बनाउने यो गुटको पार्टी, एकीकृत जनक्रान्ति र नेतृत्व विरुद्बको खुफिया प्रचार शैलीबाट सतर्क रहन र भ्रमित नहुन सिङ्गो पार्टी पंति, जनसंगठन, मोर्चा, विभाग र आम नेपाली जनसमुदायमा विनम्र अनुरोध गर्दछौँ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार