काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीको १३ औँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले आगामी असोज १ गतेदेखि ९ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको ८औं केन्द्रीय समितिको १३औँ बैठकले महाधिवेशन असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको हो ।
त्यसअघि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने नेकपा प्रबक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले बताए । बैठकमा निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोदै प्रकाण्डले असारदेखि महाधिवेशन अभियान संचालन गर्ने निर्णय समेत गरेको बताए ।
नेकपाले पार्टी विभाजन गर्ने हेमन्त प्रकाश ओली लगायतका नेताहरुमा रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको निश्कर्ष बैठकले निकालेको उनले बताए । पत्रकार सम्मेलनलाई नेकपा महासचिव विप्लवले पनि सम्बोधन गरेका थिए ।
विप्लवले पार्टी फुटलाई लक्षित गर्दै देश र श्रमिक जनताको नेतृत्व गर्ने पार्टीको सर्वोच्च निकायमा राष्ट्रको जिम्मेवारी सम्हाल्नुपर्नेमा अति अनुत्तरदायी विचलन देखा पर्नु दुःखद भएको बताए । पार्टी विभाजनअघि नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू मौलाउन थालेको उल्लेख गर्दै सो समूहभित्र रहेका सबै इमानदार कार्यकर्ताहरूलाई पार्टीमा फर्काउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
विप्लवले नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेकाले आफ्नो पार्टी फुटेको बताए । ‘नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको छ, पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका छन् । यो सबै दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले गर्दा भएको हो । त्यसै कारण नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ,’ उनले भने, ‘अस्ति भर्खरै एमसीसी भयो, अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेको खबर छ । अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’
विप्लवले राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको औल्याए । ‘कुनै पनि विदेशी भूमण्डलीकृत साम्राज्यवादी तत्वद्वारा हाम्रो देशमा लादिने असमान सन्धि, सम्झौता र उनीहरुका हस्तक्षेपकारी क्रियाकलापलाई ठाडै अस्वीकार गरेर प्रतिरोधमा उत्रिनुपर्छ, हाम्रो केन्द्रीय समितिमा यसबारे छलफल भएको छ,’ उनले भने ।
उनले राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि जागरण ल्याउनुपर्ने पनि बताएका छन् । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयले पार्टीमा भएको मतभेदले पार्टी विभाजनसम्म पुगेको स्मरण गर्दै महासचिव विप्लवले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए । उनले कम्युनिस्ट आन्दोलनमा रहेका, तर पार्टीबाट अलग भएकाहरुलाई समेत पार्टीमा एकढिक्का हुन आव्हान गरेका थिए ।
महासचिव विप्लवले आगामी असोज १ गते आफ्नो पार्टीको ९ औँ महाधिवेशन गरिने र सबै भ्रमहरूलाई सफाचट पार्ने बताए । यस्तै सच्चिएर आएमा माओवादी केन्द्रसहितका शक्तिहरुसँग समेत पार्टी एकता हुन सक्ने उनको भनाइ थियो ।
‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । मैले त उहाँहरूलाई भनेको छु, तपाइँहरू पुरानै ठाउँमा फर्किनुस्, हामी छलफल र बहस गर्न तयार छौं । तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन,’ उनले भने, ‘उहाँहरुको लहैलहैमा लागेका धेरै साथीहरू हुनुहुन्छ, म उहाँहरूलाई सही बाटोमा आउन आव्हान गर्दछु ।’
महासचिव विप्लवले अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने दाबी गरेका थिए । ‘नेपालमा आज दलाल पुँजीवादी सत्ता छ । यो त पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था हो । यसले जनतालाई शोषणमात्रै गर्छ, कुनै लाभ दिँदैन,’ चन्दले भने, ‘यहाँ जुनसुकै दिन पनि नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने अवस्था छ । त्यसैले यस्तो दलाल पुँजीवादको अन्त्यका लागि वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ । वैज्ञानिक समाजवादमा मात्रै जनताले चाहेको जस्तो जीवन बाँच्न पाउँछन् भनेर हामीले बुझाउन सक्नुपर्छ ।’
विप्लवले ६ दलिय मोर्चालाई समेत साथमा लिएर एमसीसी विरोधी आन्दोलन चर्काउने घोषणा गरेका ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.