सापेक्षतावादको सिद्धान्त के हो ?

डेली न्युजराप्ती       १ असार २०७९ ०६:५७ मा प्रकाशित     272 No Comments

‘वर्तमान युगलाई बुझ्न र ब्याख्या गर्न सापेक्षतावाद नयाँ औजार’

प्राचीन समयमा मानिसहरुले पृथ्वी चेप्टो भएको ठाने । किन कि उनीहरुले पृथ्वीको जमिनलाई आँखाले हेर्दा चेप्टो नै देखे । त्यतिखेर आँखाले देखेकोलाई नै सत्य ठान्नुको विकल्प उनीहरुसँग थिएन । यो बुझाइ हजारौं वर्षसम्म चल्यो । पछि इसापूर्व चौथो शताव्दीमा आएर ग्रीक दार्शनिक अरस्तूले थुप्रै तथ्य र तर्क दिई पृथ्वी चेप्टो नभई गोलो भएको प्रमाण प्रस्तुत गरे । उनले प्रस्तुत गरेको आधारमा मानिसहरुले बिस्तारै पृथ्वी गोलो भएको भन्ने बिचारलाई सही मान्न थाले । वास्तबमा भौतिक तथ्य र तर्कका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधिलाई अरस्तूले सुरु गरेको मान्न सकिन्छ । तर, भौतिक तथ्य स्थिर रहँदैन । र, यो सबै ठाउँमा एकै पनि रहँदैन । अर्थात् भौतिक तथ्य निरपेक्ष हुँदैन । यानि कि सत्य सापेक्ष हुन्छ ।विज्ञान जगतमा भौतिक तथ्य यानि कि सत्य सापेक्ष हुने बिचारलाई प्रमाण जुटाउने काम वैज्ञानिक आइन्स्टाइनको सापेक्षतावादले गर्यो । वैज्ञानिक न्युटनको यान्त्रिकी र गुरुत्वाकर्षणको सिद्धान्तमा अन्तरिक्ष तथा समय दुबै निरपेक्ष हुन्छ । दुई सय वर्षसम्म सबैले यसैलाई सत्य मान्दै आए । तर, आइन्स्टाइनले प्रकाशको गतिबाहेक सबै वस्तु तथा परिघटनाहरु सापेक्ष हुने कुरा सापेक्षतावादका सिद्धान्तहरुमार्फत् प्रमाणित गरिदिए । उनले अन्तरिक्ष र समयसमेत सापेक्ष हुने प्रमाण पेश गरे ।पृथ्वीको जन्म साढे ४ अर्ब वर्ष पहिले भयो । जन्मेको ५० करोड वर्ष पछिसम्म यो तातो गोलाको रुपमा नै रह्यो । त्यसपछि चिसिन थाल्यो र यहाँ पानी एवं बादल देखापर्न थाल्यो । जीवनको सुरुवात त्यही क्षणबाट भएको वैज्ञानिकहरुले जीवावशेषको आधारमा धारणा बनाएका छन् । त्यसअघिको ५० करोड वर्षसम्म यो पृथ्वी हाल अरु ग्रहहरु झैं पूरै जीवनरहित खगोलीय गोला नै थियो । जीवनको सुरुवात एक कोषीय जीवबाट सुरु भयो । त्यो पनि पानीमा । तर, वास्तविक एक कोषीय जीव त पृथ्वी जन्मेको लगभग ४ अर्ब वर्षपछि अर्थात् आजभन्दा ५७ करोड वर्षपहिले मात्र भएको प्रमाण वैज्ञानिकहरुले पाएका छन् ।क्रमिक विकासको बाटो अर्थात् Evolution लाई पछ्याउँदै सुरुको एक कोषीय जीव क्रमशः बहुकोषीय जीव, बहुकोषीयमा पनि वनस्पति र प्राणी, बहुकोषीयबाट पानीमा रहने कीराहरु, त्यसपछि माछाहरु, त्यसपछि पानी र जमिन दुबैमा रहने उभयचर, त्यसपछि घस्रिएर हिँड्ने सरिसृप, त्यसपछि स्तनधारी, त्यसपछि वानर, वानरमा पनि पुच्छ र अपुच्छ वानर, र अन्त्यमा मानवपुर्खा होमिनिडको विकास भएको तथ्य वैज्ञानिकहरुले प्रमाण प्राप्त गरेका छन् । एक कोषीय जीवबाट क्रमिक विकास भई मानवपूर्खा होमिनिडसम्म आइपुग्न झण्डै ५६ करोड वर्ष लागेको आँकलन वैज्ञानिकहरुले गरेका छन् ।आधुनिक मानवको विकास त लगभग ५० हजार वर्षपहिले मात्र भएको प्रमाण छ । त्यस्तै गरी उता वनस्पतिको पनि समुद्री एक कोषीयबाट बहुकोषीय, बहुकोषीयबाट पनि झनपछि झन ठूला र विविध प्रकारका समुद्री वनस्पतिको क्रमिक विकास हुँदै पछि पानीबाहिर जमिनमा आएको र त्यो पछिल्लो समयमा रुखजस्तो ठूला एवं विकसित वनस्पतिसम्म विकसित भएको प्रमाण वैज्ञानिकहरुले पाएका छन् । मानव जनावरबाट विकसित प्राणी हो । चेतनाको विकासले जनावर मानवमा रुपान्तरण भएको हो । त्यसैले मानव चेतना जीवको क्रम विकास अर्थात् Evolution कै देन हो ।Evolution को सिद्धान्त १९ औं शताव्दीको उत्तराद्र्धमा वैज्ञानिक चाल्र्स डार्विनले आविष्कार गरे । अथवा, उनले त्यो यथार्थलाई उजागर गरिदिए । तर, पृथ्वीमा मानव कहाँबाट आयो भन्ने कौतुहल त मानव जातिलाई उसमा चेतनाको जन्म भएदेखि नै जाग्दै आएको हो । मानव आगमनको प्रश्न सँगसँगै समस्त जीवन र यो पृथ्वी, सूर्य, चन्द्रलगायत समस्त ब्रम्हाण्ड नै कहाँबाट आए भन्ने जिज्ञासा प्राचीन कालदेखि मानिसहरुमा रहँदै आयो । बिभिन्न कालखण्डमा बिभिन्न मानिसहरुले यसबारे बिभिन्न बिचार राख्दै आए । दर्शन अर्थात् Philosophy को जन्म र विकास त्यही क्रममा भयो ।तर, साँचो वा सत्य के हो रु यसबारे तथ्य, प्रमाण, तर्क, अवलोकन, प्रयोग र परीक्षणको आधारमा ठीक कुरा पत्ता लगाउने प्रयास पश्चिममा विज्ञानको जन्म र विकास सँगसँगै नै भयो । तर, १९ औं शताव्दी अगाडिसम्म विज्ञानलाई ज्ञान र अध्ययनको पर्यायको रुपमा मात्र लिइन्थ्यो । त्यतिखेरसम्म प्रकृतिको अध्ययन र त्यसलाई भौतिक यथार्थको रुपमा चिन्तन–मनन गर्ने शास्त्रलाई प्राकृतिक दर्शन अर्थात् Natural Philosophy को रुपमा चिनिन्थ्यो । त्यसलाई दर्शनको एउटा हाङ्गाको रुपमा लिइन्थ्यो ।प्रकृतिको यथार्थ अर्थात् सत्यलाई बुझ्न दार्शनिकहरुको दिमागी चिन्तन–मनन मात्र पर्याप्त नभएको महसुस युरोपमा १४ औं शताव्दीमा सुरु भएको पुनर्जागरण कालदेखि नै हुन थाल्यो । भौतिक यथार्थलाई बुझ्न वा सत्य थाहा पाउन अवलोकन, तर्क, परीक्षण, प्रयोग र प्रमाणको जरुरी हुने महसुस हुन थाल्यो । यही क्रममा नै पुनर्जागरण कालको जन्म र विकास सँगसँगै युरोपमा गणित, भौतिकशास्त्र, खगोलशास्त्र, मानव शरीर रचनासहित जीवविज्ञान र रसायनशास्त्रको विकास हुन थाल्यो । र, ज्ञान तथा अध्ययनको पर्यायको रुपमा रहेको विज्ञानले नयाँ परिभाषा पाउन थाल्यो । यो दर्शनभन्दा पृथक भौतिक यथार्थ पत्ता लगाउने शास्त्रको रुपमा पुनर्परिभाषित हुन पुग्यो । त्यस्तै गरी प्राकृतिक दर्शन पनि विस्तारै दर्शनको एक हाङ्गाको रुपमा नभई यो विज्ञानको एक हाङ्गा भौतिकशास्त्रको रुपमा रुपान्तरित हुन पुग्यो ।युरोपमा १४ औं शताव्दीमा सुरु भएको पुनर्जागरण काल १७ औं शताव्दीको अन्त्यसम्म चल्यो । यही कालखण्डमा विज्ञानका बिभिन्न क्षेत्रमा नयाँनयाँ अन्वेषण, बिचार, सिद्धान्त र आविष्कारहरु आए । यही क्रममा नै सन् १६८७ मा अंग्रेज वैज्ञानिक आइज्याक न्युटनले यान्त्रिकी Mecanics र गुरुत्व Gravity को सिद्धान्त प्रतिपादन गरे । उनले ती सिद्धान्तहरु प्राकृतिक दर्शनको रुपमा अगाडि सारेका थिए । ल्याटिन भाषामा लेखिएको उनको पुस्तकको नाम अंग्रेजीमा Mathematical Principles of Natural Philosophy अर्थात् नेपालीमा ‘प्राकृतिक दर्शनका गणितीय सिद्धान्तहरु’ हो । तर, उनले ती सिद्धान्तहरु अवलोकन र गणितीय तर्कको आधारमा निर्माण गरेका हुन् । चिन्तन–मननको कुरा मात्र थिएन त्यो । त्यसैले तिनीहरुलाई पछि भौतिकशास्त्रका सिद्धान्तका रुपमा स्थापित गरिए ।न्युटनको यान्त्रिकी अर्थात् Newtonian mechanics र गुरुत्व अर्थात् Gravity का सिद्धान्तहरुले मानवलाई प्रकृतिबारे एउटा युगान्तकारी सत्य थाहा भयो । उनका सिद्धान्तहरु मानिसहरुले दैनिक जीवनको सुविधाका लागि प्रविधिमा प्रयोग गरी हेरे । यान्त्रिक र औद्योगिक क्रान्तिका लागि न्युटनका सिद्धान्तहरु अचुक सूत्र सावित भयो । न्युटनले आफ्ना सिद्धान्तहरु केबल दिमागी चिन्तन–मननको उपजको रुपमा आविष्कार गरेका थिएनन् । उनले वैज्ञानिक विधि प्रयोग गरी ती सिद्धान्तहरु आविष्कार गरेका थिए । उनको त्यो कार्यबाट विज्ञान जगतमा न्युटन युगको आरम्भ भयो ।न्युटनको यान्त्रिकी अर्थात् Newtonian mechanics को जग भनेको उनले आविष्कार गरेका चालसम्बन्धी नियमहरु हुन् । यो नियम अवलोकनमा आउने सबै प्रकारका वस्तुहरु, यन्त्र भित्रका कलपुर्जाहरु, खगोलीय पिण्डहरु जस्तो कि उपग्रह, ग्रह, सूर्य, तारा, तारामण्डल, तारापुञ्ज आदि सबैमा लागु हुन्छ । न्युटनले यान्त्रिकीको अलावा गुरुत्वको सिद्धान्त पनि प्रतिपादन गरे । त्यस अनुसार खगोलका हरेक पिण्डले एक अर्कालाई बल लगाएर आकर्षण गरेको हुन्छ । त्यसलाई गुरुत्वबल भनिन्छ । पृथ्वीमा वस्तु माथिबाट तल खस्नु ठूलो पिण्डको पृथ्वीको तान्ने बलसँग सानो पिण्डको वस्तुको बलको कुनै जोड नचल्ने भएकोले त्यो पृथ्वीतिर तानिएको भन्ने व्याख्या गुरुत्वाकर्षण सिद्धान्तले गर्छ । गुरुत्वाकर्षणको सिद्धान्तले सौर्यमण्डलमा सूर्यलाई ग्रहहरुले निश्चित कक्ष अर्थात् Orbit मा रही परिक्रमा गरिरहने तथा उपग्रहहरुले आ–आफ्ना ग्रहलाई परिक्रमा गरिरहनुको वास्तविक कारण पनि गुरुत्व बल नै हो भनी विश्लेषण गर्दछ ।आफ्नो सिद्धान्तको विश्लेषण गर्ने क्रममा न्युटनले अन्तरिक्ष र समय निरपेक्ष एवं एक अर्कामा स्वतन्त्र हुन्छन् भने । निरपेक्षको अर्थ यिनीहरुलाई केहीले पनि असर गर्न सक्दैन, सधैँ उही हुन्छन् भन्ने हो । विज्ञान जगतमा आइज्याक न्युटनका सिद्धान्तहरु २ सय वर्षभन्दा पनि बढी समयसम्म सम्पूर्ण सत्यको रुपमा स्थापित भए । उनले आविष्कार गरेको यान्त्रिकीकै आधारमा युरोपमा यान्त्रिक क्रान्ति भयो । साथसाथै औद्योगिक क्रान्ति पनि । उनकै गुरुत्वाकर्षणको सिद्धान्तको आधारमा खगोलविज्ञानको जग वस्यो ।यसैबीच सन् १९०५ मा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विशेष सापेक्षताको सिद्धान्त आविष्कार गरे । त्यस सिद्धान्तले न्युटनले बनाएको अवधारणामा प्रश्न चिन्ह खडा गरिदियो । विशेष सापेक्षताको सिद्धान्तले न्युटनको भन्दा नितान्त फरक रुपले समय सापेक्ष हुने अवधारणा अगाडि ल्यायो । यो अवधारणाले भौतिक विज्ञानमा मात्र होइन, बल्कि सम्पूर्ण ज्ञान र दर्शनको क्षेत्रमा समेत ठूलो हलचल पैदा गरिदियो । सामान्यतः अन्तरिक्षको कुरो खगोलशास्त्र र दर्शनको कुराकानीमा आउने गर्दछ । तर, समय त सबैको दैनिकीमा आउने कुरो हो । र, समय त जहाँ गए पनि एउटै त हो नि भनेर सबैले सोच्ने कुरो भयो । जब, आइन्स्टाइनले समय पनि हामीले सोच्दै आएजस्तो जहाँ पनि एउटै हुने अथवा निरपेक्ष हुने भन्ने कुरो होइन भनेर पुष्टि गरिदिए, तब समस्त ज्ञान र दार्शनिक क्षेत्रमै हलचल पैदा भयो । आइन्स्टाइनले सन् १९१५ मा सापेक्षतासम्बन्धी अर्को सिद्धान्त पनि प्रतिपादन गरे । त्यो सामान्य सापेक्षताको सिद्धान्त अर्थात् theory of general relativity थियो । यस सिद्धान्तले समय मात्र होइन बल्कि अन्तरिक्ष पनि सापेक्ष हुने प्रमाणित गर्दछ ।सामान्य सापेक्षतावादले अन्तरिक्ष र समय एकअर्कामा छुट्याउन नसकिने सिक्काका दुई मुखजस्तै भएको ब्याख्या गर्दछ । यस सिद्धान्तले अन्तरिक्ष र समय मिली अन्तरिक्ष समय बनाउने र यो निरपेक्ष नभई सापेक्ष हुने अवधारणा अगाडि सार्यो । आइन्स्टाइनले गणितीय सूत्र आविष्कार गरी के पुष्टि गरिदिए भने अन्तरिक्ष समय पिण्डको साइज अनुसार बक्र हुन्छ । सानो पिण्ड वरपर थोरै बक्र र ठूलो पिण्ड वरपर धेरै बक्र । यसलाई सूर्य जत्रो ठूलो पिण्ड वरपर अवलोकन नै गर्न सकिन्छ भन्ने निष्कर्ष आइन्स्टाइनले निकाले ।सामान्य सापेक्षतावादले गुरुत्व भनेको न्युटनले भनेझैं पिण्डहरुबीचको आकर्षण नभई ठूलो पिण्डले बनाउने धेरै बक्र अन्तरिक्ष–समयमा गतिशील सानो पिण्डले छोटो बाटो पछ्याउँदा नतिजा स्वरुप आकर्षित हुने परिघटना देखिनु हो । ग्रहहरु सूर्यभन्दा साना छन् । त्यसैले सूर्यले अन्तरिक्ष–समयलाई जति धेरै बक्र बनाउँछ, त्यसको तुलनामा उनीहरुले धेरै कम मात्र बक्र बनाउँछन् । र, धेरै बक्र अन्तरिक्ष–समयमा गतिशील हुँदा ग्रहहरुले सूर्यलाई परिक्रमा गर्न पुग्छन् भन्ने पुष्टि सामान्य सापेक्षतावादले गरेको छ । वैज्ञानिकहरुले सन् १९१९ मा भएको खग्रास सूर्य ग्रहणको बेला सूर्य पछाडिका ताराहरु अवलोकन गरी सामान्य सापेक्षतावाद सही भएको व्यवहारिक पुष्टि गरेका छन् ।सामान्य सापेक्षतावादको आविष्कारपछि आइन्स्टाइनको सापेक्षतावादले पूर्णता प्राप्त गर्दछ । त्यस सिद्धान्त अनुसार ब्रम्हाण्डमा प्रकाशको गतिबाहेक बाँकी सबै वस्तु, घटना तथा परिघटनाहरु सापेक्ष हुन्छन् । यानि कि सत्य निरपेक्ष होइन सापेक्ष हुन्छ । वर्तमान युगमा सत्यलाई बुझ्न र ब्याख्या गर्न सापेक्षतावाद एउटा नयाँ औजार हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार