कञ्चन-सुदर्शनलाई दुश्मनहरु ‘स्यावास बहादुरहरु’भनेर धाप मारिरहेका छन:विषम(अन्तर्वार्ता)

डेली न्युजराप्ती       १२ असार २०७९ ११:५३ मा प्रकाशित     449 No Comments


सन्तोष बुढा मगर – सचिवालय सदस्य , नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टिको केन्द्रीय समितिको १३औं बैठक हालै सम्पन्न भएको छ । बैठकका अनुभूतिहरुलाई कसरी पस्कनु हुन्छ ?
प्रश्नको लागि धन्यवाद । हो हामी भर्खरै हाम्रो पार्टी केन्द्रीय समितिको तेह्रौं पूर्ण बैठक उदयपुर जिल्लाको एक सुन्दर र मनमोहक पर्यटकीय स्थल रौता गाउँमा (जेष्ठ १२ देखि १७ मा) सम्पन्न ग¥यौं । गर्मी याममा चिसो, स्वच्छ र शान्त वातावरणमा बसेको यो वैठकले दुई महत्वपूर्ण विषयहरुमा छलफल गरेको छ । एउटा गत १२औं केन्द्रीय समितिको वैठकले गरेको निर्णय: चुनावी राजनीतिक अभियानको गंभीर समीक्षा गरेको छ । चुनावी कार्यनीतिको आंशिक प्रयोगबाट प्राप्त सकारात्मक र नकारात्मक शिक्षाहरुको संश्लेषण गरेको छ । दोस्रो, आगामी योजना अन्तरगत ऐतिहासिक नवौं महाधिवेशन आउँदो असोज पहिलो हप्ता काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त बैठकले आन्तरिक रुपमा पार्टीलाई एकताबद्ध गर्ने र थोरै विकेन्द्रित मनोविज्ञानहरुलाई एक ठाउँमा ल्याउने र फुटवाद र गुटवादका विरुद्ध एकताबद्ध र एकीकृत भएर जनक्रान्तिलाई अझ उचाइमा उठाउने प्रतिवद्धता जाहेर गरेको छ । बाहिय रुपले खास गरी महँगी, भ्रष्टाचार, सामाजिक विभेद र एमसीसी लगायतका राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेपका विरुद्ध जनसंघर्षमा जोड दिने जस्ता महत्वपूर्ण निर्णयहरु गरेको छ ।
यसपटकको वैठकद्वारा नवौं महाधिवेशन केन्द्रित कार्यक्रम सार्वजनिक गर्नु भएको छ । महाधिवेशनलाई कम्युनिष्ट आन्दोलनका गहनतम विषयमा वहसको थलो बनाउने संकेत गर्नु भएको छ । खासमा अवको महाधिवेशनका मुख्य मुख्य वहसका विषयहरु के के हुन सक्लान ?
प्रश्न सहि उठाउनु भयो । हामीले आठौं महाधिवेशन गरेको ठीक पाँच वर्ष पुगेको छ । हाम्रा गत सचिवालय र केन्द्रीय समितिका बैठकहरुमा आगामी महाधिवेशन समयमै विधानले तोकेको समयभित्रै गर्नुपर्छ भन्ने छलफलहरु पनि हुँदै आएका छन् र तनहुँको बन्दीपुरमा सम्पन्न ११औं पूर्ण वैठकले त २०७८ फागुन १४ गते सहिद सप्ताहकै पहिलो दिन उद्घाटन गर्ने निर्णय गरेका थियौं तर कोभिड, एमसीसी तथा अन्य कार्यक्रमहरुका चापका कारण समयमै गर्न नसकिने देखिएपछि वाह्रौं वैठकले केही समय पछाडि सारेको थियो । त्यसैलाई १३औं बैठकले कार्यसूचीको रुपमा पूर्णता दिएको छ ।
महाधिवेशन भनेको कम्तीमा ५ बर्षको अन्तरालमा गरिने पार्टीको सवैभन्दा उच्च तहको महत्वपूर्ण कार्यक्रम हो । यसले पार्टी र क्रान्तिलाई अगाडि बढाउन, अझ उच्चता दिन र विकास गर्न, वर्गसंघर्ष, सत्तासंघर्ष र अन्य राजनीतिक संघर्षका कार्यक्रमहरुका नीति–कार्यक्रमहरुको परिमार्जन, विकास गर्ने, पार्टी संगठन निर्माण र परिचालन सम्बन्धि नीति–कार्यक्रमहरु अपडेट गर्ने, वैचारिक क्षेत्रमा खड्किएका समस्याहरुको हल गर्न विचारलाई उच्चता दिने, कार्यदिशाको विकास, पार्टी नेता र कार्यकर्ताहरुको पार्टीको राजनैतिक, आर्थिक, साँस्कृतिक, सामाजिक जीवन–आचरणहरु सुधार्ने, कार्यशैली र जीवनशैलीहरु सुधार्ने, जनसम्बन्ध सुदृढ र विस्तार गर्ने आदि नीतिहरुमा थप विकास गर्ने, समग्रमा क्रान्ति सम्पन्न गर्न आगामी दिनहरुमा के के गर्नु पर्ने हो ती सवै विषयहरु नै महाधिवेशनका विषय बन्छन् ।
हामीले यो नवौं महाधिवेशनलाई विशेष गरेर वैचारिक महाधिवेशन बनाउने निर्णय गरेका छौं । यस अन्तरगत कम्युनिष्ट दर्शन, कम्युनिष्ट राजनीति, कम्युनिष्ट संगठन, कम्युनिष्ट अर्थनीति र कम्युनिष्ट संस्कृति आदिको विषयहरुमा महत्वपूर्ण छलफल हुन सक्छ ।

महाधिवेशन बाहेक महङ्गी, भ्रष्टाचार, राष्ट्रघात, एमसीसीलगायतका तत्कालिक समस्याहरुको बारे यहाँहरुले कसरी सोच्दै हुनुहुन्छ ?
हो । यी जल्दावल्दा समस्याहरु आजका तत्काल हल गर्नुपर्ने विषय हुन । तपाईहरुलाई थाहै छ — यो देश दलालहरुको हातमा नाचिरहको छ । एउटा गाउँपालिका अध्यक्ष जित्न करोड खर्च गर्छन् । नगरपालिका, महानगरपालिकाको मेयर र एउटा साँसद जित्न करोडौं खर्च गर्नु पर्छ । जनताको अवस्था दयनिय छ । त्यसकारण जनताले पनि आफ्नो एउटा अमूल्य भोट १०÷२० हजारमा वेच्न तयार हुन्छ । देश बदल्ने चेतनाभन्दा पनि साँझविहानको समस्या टार्न जनता आफुसमेत बेचिन बाध्य छन् । नेताहरु स्वार्थसिद्धिका लागि जनता र देशसमेत बेच्न तयार छन् । यसरी जनतादेखि नेतासम्मलाई दलाल पुँजीले लपेटेको छ । देशै दलाल पुँजी र दलाल पुँजीवादले लपेटेको छ । चुनाव आयो भने ठेकदार र दलालहरु पैसामा भोट किनेर जनताको प्रतिनिधि बनेर जान्छन् । जितेपछि चुनावमा गरेको खर्च उठाउन जे पनि गर्नेमा पुग्छन् । यो नगरी तिनको उपाय नै हुँदैन । पुँजीवादीहरुको पैसा ल्याएर खर्च गरेपछि तिनले बढाउने महँगी र मूल्यबृद्धिको विरोध गर्ने ती दलाल प्रतिनिधिहरुमा कुनै दम हुँदैन । अनि महँगी अनियन्त्रित रुपले बढ्दै जान्छ । उनीहरुले जनतालाई किनेको हजार करोडमा उठाउँछन् । त्यसैले महँगी र भ्रष्टाचार यो व्यवस्था रहेसम्म यसरी नै अनियन्त्रित रुपमा बढ्दै जान्छ र जानेछ । यसको विरोध भ्रष्टाचारी, राष्ट्राघाती र दलालहरुले गर्नै सक्दैनन् । हाम्रो पार्टी सधैं यसको विरोधमा उभिदै आएको छ । विरोधमात्र होइन कारवाहीहरु पनि गर्दै आएको छ । एनसेल, अपरकर्णाली, अरुण ३, वाइडबडी, वालुवाटार प्रधानमन्त्री निवास काण्ड, प्रिन्टिङ मेशिन खरिद काण्ड, लिपुलेक–लिम्पियाधुरा, एमसीसी, अमेरिकी उपविदेशमन्त्रीको तिब्बेतीयन शरणार्थी शिवीरहरुमा गरेको भ्रमण र भेटघाट, अहिले भर्खरै अमेरिकी सेना प्रमुखको नेपाल आगमन आदिको विरोधमा हाम्रै पार्टी उभिएको छ । त्यसैको कारण हाम्रो पार्टीले प्रतिवन्ध खेप्नु प¥यो । त्यसैको कारण विदेशी र स्वदेशी प्रतिक्रियावादी शक्तिहरुले हाम्रो पार्टीमाथि हमला गरे । केही साथीहरुलाई किनेर पार्टी फुटाए, आन्दोलन भाँड्ने कोशिस गरे । यसको हामी निरन्तर विरोधमा छौं । अहिले पनि १३औं बैठकले महँगी, भ्रष्टाचार र राष्ट्रघात तथा किसानहरुको मल बीउको समस्यालाई लिएर ६ दलीय मोर्चाबाट विरोध र संघर्ष गर्ने निणय गरेको छ । ६ दलीय साथीहरु अहिले आ–आफ्नो बैठक र कार्यक्रमहरुमा रहेकोले तत्काल महँगी, भ्रष्टाचार, राष्ट्रघात, वैदेशिक हस्तक्षेप, किसानको समस्या र बन्दी साथीहरुको विषयलाई लिएर एक हप्ते संघर्षको कार्यक्रम घोषणा गरेको छ । बास्तवमा यो देशमा राष्ट्रघात, भ्रष्टाचार, अन्याय–अत्याचारका विरुद्ध कोही पार्टी छ भने नेपाल कम्युनिष्ट पार्टी छ । त्यसैले जनताले हामीप्रति भरोसा गरिरहेका छन् । हामी अन्य ६ दलीय र २२ दलीय मोर्चासंग पनि सहकार्य गर्छौं । बाँकी दलालसम्बद्ध दलहरु भ्रष्टाचारी र राष्ट्रघातीहरु तै चुप, मै चुप छन् । आगामी दिनमा ६ दलीय र अन्य मोर्चाको माध्यमबाट पनि जनजीविका र राष्ट्रघात, वैदेशिक हस्तक्षेप र जनताका समस्याहरुलाई लिएर जनसंघर्षमा जोड दिने पार्टीको घोषित नीति र निर्णय छ ।

केही समय अघि पार्टीले चुनावी कार्यनीति अंगिकार गरेपछि सुदर्शन र कञ्चनसहित केही नेता र कार्यकर्ताहरु पार्टीवाट अलग्गिए । यसरी कम्युनिष्ट आन्दोलनमा बारमबार दोहोरी रहेको फुट र विभाजन बस्तुगत कारणहरुको समीक्षा कसरी गर्नु भएको छ ? सुदर्शन–कञ्चनहरु किन अलग्गिए ? के पार्टीमा फेरी एकताबद्ध हुने संभावना छ ?
हो, यसलाई दुःखद घटना भन्नुपर्छ । यो हुनु हुँदैनथ्यो, गर्नु हुन्नथ्यो, उहाँहरुले ब्लण्डर मिस्टेक गर्नुभयो । यो नहोस भन्दाभन्दै घटना घटि त हाल्यो । २÷४ जना भए पनि निस्किएर असन्तुष्ट जाहेर गरेर अलग पार्टी बनायौं भनेपछि यसले बाहिर जनताको मनोविज्ञानमा, भित्र कार्यकर्ताको मनोविज्ञानमा ठूलो चोट परेको छ । कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ । बनाउन समय लाग्छ, निकै मेहनत गर्नुपर्छ तर भत्काउन दुई जना भए पुग्दो रहेछ । हामीले प्रचण्डदेखि किरण हुँदै यतिका श्रम पसिनाले निर्माण गरेको पार्टीलाई सुदर्शन आएर भत्काइदियो । कञ्चन कमरेड त्यो विध्वंशकारीसंग जिउँदै चित्तामा चढ्नु भयो । राम π राम ππ भन्नु बेगर केही उपाय रहेन । यसले कम्युनिष्ट आन्दोलमा बारमबार हुँदै आएको फुट र विभाजनलाई प्रश्रय दिएको छ । दुश्मनको फुटाउने मनसाय र योजनालाई टेवा पु¥याएको छ । दुश्मनहरु हाँसेकाछन्, ताली बजाएर “स्यावास बहादुरहरु ” भनेर धाप मारिरहेका छन् । क्रान्तिकारी हेड्क्वाटरलाई कमजोर बनाउने काम गरेका छन् । नेतृत्व र क्रान्तिप्रतिको अगाढ विश्वासमा धक्का पुगेको छ । आन्दोलन कमजोर बनेको छ । क्रान्ति केही समय पछि धकेलिएको छ । यो क्रान्ति विरोधी कार्य हो । यसको जिम्मा सुदर्शन, कञ्चनले लिनुपर्छ र लिनैपर्छ । भविष्यमा इतिहासले यसको जवाफ दिनेछ र सजायको भागिदार हुनैपर्छ ।
वास्तवमा उहाँहरु फुटेको होइन, चोइटिएको मात्र हो । क्रान्तिका समस्याहरु झिर्का र छिर्काको रुपमा गएका हुन् । तल्लो तहमा केही भाईबहिनीहरु भ्रममा परेर गएका छन् ,इमान्दारहरु ढिलोचाँडो फर्किने छन् । स्वार्थीहरु धेरै परसम्म पुग्ने छन् । जाने साथीहरु धेरै जसो त समस्यासहितका नै गएका छन् । यसले पार्टीलाई एक हदसम्म शुद्धिकरण पनि गरेको छ । उहाँहरुको संगठनमा देखापरेको गुटवाद, अराजकता र गैरजिम्मेवारीपन, विचार र अनुशासनमा देखा परेको अराजकता र गैरकम्युनिष्टपन, अभिव्यक्तिमा भएका स्वच्छन्दतावादी दलाल पुँजीवादी छाडा प्रबृत्ति, गालीगलौज, विधि–पद्वतिमा देखापरेको अनुशासनहीनता र वामपन्थी बालरोग आदिले उनीहरु कसरी नेता बने ? भन्ने कुरा बाह्य जगतलाई बुझ्न सजिलो भएको छ । उहाँहरुको अभिव्यक्तिले नै आफ्ना नाम काढिरहेको प्रतीत हुन्छ । कुनै कालोचरीले का का गरे भने त्यो काग रहेछ भन्ने जनाउँछ । कुहँ कुहुँ गरे भने त्यो कोइली चरी हो भनेर चिनिन्छ । अहिले कराइरहेका सडकका चरीहरु कोइली हुन् कि काग हुन् बोली र व्यहोराले सवैले बुझ्न सजिलो भएको छ । हामीले भन्न र प्रतिवाद गर्न जरुरी छैन । कतिपय नभएका कुराहरु सुन्दा त बैराग लाग्ने र दया लाग्ने खालका छन् । जुन १०० मा १०१ झुठ छन् । दुई दिन पनि नटिक्ने राजनीतिले कसरी गरी खानु हुन्छ खै उदेग लाग्छ साथीहरुको चाल हेर्दा । जसको जवाफ नेतृत्व तहबाट दिन लायक छैनन् । एउटा कुरामा भने दुई जना कमरेडहरुलाई धन्यवाद दिनु पर्नेछ — मैले सुदर्शन–कञ्चनको यो अशुभ कार्यलाई धन्यवाद पनि दिन्छु किन कि नेगेटिभ अर्थमा राम्रै भएको छ । उहाँहरुले “रि युज कम्पनी” खोल्नु भएकोमा । “रि युज कम्पनी”ले प्रयोग गरेर फालिएका सडकका बस्तुहरुलाई संकलन गरी भट्टीमा पगालेर अन्तिम एक पटकलाई प्रयोग गर्ने गरी दोस्रो दर्जाको मालमा परिणत गर्छ र सस्तोमस्तोमा बेच्छ । जस्तै रातो पोलिथिन र कालो पोलिथिन । रातो पोलिथिन एक पटक रि युज कम्पनीमा घालेपछि कालो पोलिथिन निस्कन्छ तर त्यो कालो पोलिथिनको प्रयोग नै त्यसको अन्तिम प्रयोग हो । यसपछि यो कुनैमा पनि काम लाग्दैन । यसपछि यसलाई नष्ट नगर्ने हो भने यसले वातावरण प्रदुषित गर्ने मात्र काम गर्छ । यो “कम्पनी”को मालिक र म्यानेजर हुनु भएकोमा हो धन्यवाद दिएको । यो काम पनि कसैन कसैले त गर्नै पर्छ।
नेता विग्रे विचारमा हेर्नुपर्छ, कार्यकर्ता विग्रे व्यवहारमा हेर्नुपर्छ । उहाँहरु नेता भएकोले अव यो कम्पनी नजानेर खोल्नु भएको होइन । यो जानी–जानी खा्ेलेका हुन् । जव आफैले नहुनु बेढंग गरेर गएपछि कुन नाक लिएर फर्किनु हुन्छ खै ? महासचिवले त सचिवालय र केन्द्रीय सदस्यहरुको सल्लाहमा पदबाट मात्र मुक्त गर्नु भएको थियो । पार्टी सदस्य खारेज गरेको र पार्टीबाट निस्काशित गरिएका पनि थिएनन् । आत्मालोचित भएर आउने प्रशस्त ठाउँ राखेर कार्वाही गर्नु भएको थियो । तर उहाँहरु बहुला पाराले उल्टो ४÷५ जना बसेर महासचिव र प्रवक्तालाई पो कारवाही गरिएको भनेर बक्तब्य दिन्छन् । कस्तो पागलपना हो । दुनियाँ हसाउने पनि हद हुन्छ । अनि कुन नैतिकताले आउँछन् साथीहरु । हामी त क्रान्तिका लागि चौतर्फी ढोकाहरु खुला गरेर अगाडि बढेका छौं । आउनेलाई स्वागत छ जानेलाई वाइ वाइ छ । तर यो क्रान्तिको प्रश्न हो , खेलवाडको कुरा होइन । साथीहरुको रगत बगेको छ । घाइते छन् साथीहरु । ३ दर्जन वढी साथीहरु अझै जेलमा छन् । हाँसो ठठ्ठाको विषय होइन । साँच्चै उहाँहरु क्रान्तिकारी विचार र दृष्टिकोण र धैर्यता हुन्थ्यो भने यो घटना हुँदैनथ्यो । यो उहाँहरुको कदम र यो घटना नियोजित छ, प्रायोजित छ । यो उहाँहरु आएको विचलन नै हो । अर्कोतिरबाट भन्ने हो भने स्वार्थसिद्धिको खेल हो । त्यसैले उहाँहरुले अर्को पार्टी बनाएको भन्ने भ्रममात्र हो । यो बिचारमा आएको गंभीर विचलन हो र विचलित भएपछि क्रान्तिबाट भागेका भगौडाहरुको चित्कार मात्र हो ।
सिद्धान्ततः चुनाव कार्यनीतिमात्र हुन्छ, कम्युनिष्ट क्रान्तिकारीहरुका निम्ति तर उहाँहरुले यस पटकको स्थानीय चुनावलाई रणनीति देख्नु भयो । उहाँहरुले बहिस्कार गर्ने कार्यनीति लिएर अलगिनु भयो तर व्यवहारमा चुनाव लड्न गएका साथीहरुलाई हराउन सबै हतियार प्रयोग गर्नु भयो । कतिपय ठाउँमा त पैसा खाएर हाम्राविरुद्ध भोट हाल्न लगाए भन्नेसम्मका रिपोर्टहरु आएका छन् । यसले उहाँहरुको चिन्तन, दृष्टिकोण र वर्गपक्षधरतामा धमिरो लागेको स्पष्ट हुन्छ । दोस्रो कुरा, वहाँहरुले पार्टीभित्र अवैधरुपमा गरेका पार्टी नीति विपरित चोरी धन्धाबाट छुट्कारा पाउन नसकिने स्थिति देखेपछि आफ्नो गल्तीको ढाकछोप गर्न या चोर दुलोबाट भाग्ने तरिका अपनाउनु भयो । यो नै अहिलेको सत्य हो ।

सुदर्शन–कञ्चनहरुले थबाङ महाधिवेशनद्वारा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको क्षेत्रमा खास गरी एकता र संघर्षको नियम बारे निकालिएको निष्कर्षमाथि नै प्रश्न उठाउनु भएको छ । यसबारे कसरी प्रष्ट्याउनु हुन्छ ?
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको क्षेत्रमा भन्नु भयो संक्षिप्तमा दर्शनको क्षेत्रमा भन्दा राम्रो होला । एउटा कुरा पार्टीमा सुदर्शनलाई साथीहरुले दर्शनका ज्ञाताको रुपमा चिन्ने गर्दथे । कञ्चनलाई अन्तराष्ट्रिय अनुभव र ज्ञान भएको पढे लेखेको शास्त्रीय ज्ञान भएको भनेर बुझ्ने गर्दछन् । दोेस्रो , दुबै जनालाई “इमान्दार नेता” भन्ने गरेको सुन्छु । तर परकारान्तरले र व्यवहारले के पुष्टि गरेको छ भने उहाँहरु अरुले बुझेको भन्दा उल्टो रहेछन् । उहाँहरु वेइमानी रहेछन् । उहाँहरु सामान्य विधि पद्धति पनि मिच्ने वा नबुझ्ने रहेछन् । बाहिरका दुश्मनहरुको खराव मान्छेहरुको बहकावमा लाग्ने, स्वार्थमा भुल्ने, पार्टीभित्रै भ्रष्टाचार गर्ने दृष्टिकोण क्लियर नभएका रहेछन् भन्ने त उहाँहरु आफैले छर्लंग हुने गरी पुष्टि गरे हामीले भन्नै परेन । यति चाहि भनि हालुँ उहाँहरुले आफ्ना दर्शन र इमान्दारिताको मोसो पुछेर जानुभयो । साथीहरुले आफ्ना धारणाहरु बदल्नु पर्ने बाध्यता भयो । सायद यो सवैको हकमा हुनुपर्छ । प्रचण्डसंगको दुई लाइन संघर्षको बेला मगरात राज्यसमितिको म सेक्रेटरी र क. सुदर्शन इञ्चार्ज थियौं । त्यतिवेला पनि पार्टीभित्र भयङ्कर दुुईलाइन संघर्ष चल्यो । उहाँको व्यवहार र अभिव्यक्तिबाट वाक्क भएर केही राज्य समितिका साथीहरु मलाई आएर भने — ‘सुदर्शनका कमरेडलाई अहिलेसम्म दर्शनका ज्ञाता भनेर बुझेको त वहाँ त पुरै अधिभूतवादी र जडसूत्रवादी पो हुनुहुने रहेछ बल्ल बुझियो ।’ अर्को कमरेडले थपे — ‘उहाँको दर्शन त सुदर्शन होइन कुदर्शन रहेछ ।’ मैले भने — त्यति धेरै टाडा नपुगौं, उहाँ दार्शनिक होइनन् तर शास्त्रीय दर्शन राम्रोसंग पढाउन सक्ने, व्याख्या गर्नसक्ने शिक्षक चाहिँ हो ।
आठौं महाधिवेशनमा महासचिव कमरेड विप्लवले दर्शन सम्बन्धि केही प्रस्थापनाहरु अघि सार्दा उहाँले त्यसको राम्रो व्याख्या पनि गर्नु भयो । जवसम्म कमरेड विप्लवले उहाँका आर्थिक र साँगठनिक अराजकताका बारेमा कमिटीमा सार्वजनिक रुपमा बोल्न भएको थिएन र अनुशासन तथा छानविनको विषय बनाउनु भएन, त्यसवेलासम्म उहाँले समर्थन र गुणगान गरिरहनुुभयो । जव महासचिवले हुँदैन भन्नु भयो । उल्टो नभएको चार्ज लगाउन थाल्नु भयो, विरोधमा उत्रनु भयो र अलग पार्टी बनाउनेसम्मको हर्कतमा उत्रिनु भयो ।
आठौं महाधिवेशनले गरेको दर्शनको निर्णय अहिले पनि ठीक छ र त्यसलाई अझ नवौं महाधिवेशनमा लगेर विकासको उच्चता दिनु पर्नेछ, किनकि यो विज्ञान हो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत छलफलको विषय बनाउनु पर्नेछ । उहाँहरुले दर्शनको क्षेत्रमा एकता र संघर्षको नियममा पुरानो नियम पछ्याउनु भयो र फुटसम्म पुग्नु भयो । यदि महाधिवेशनले पास गरेको सजातीय प्रवर्गहरु बीचको विपरितहरुको एकत्वलाई पकडेको भए यो स्थितिमा उहाँहरु पुग्ने नै थिएनन् । उहाँहरुले विजातीय प्रवर्गमा उभिनु भयो र आफैले पास गरेर गुणगान गाएको प्रस्थापनामाथि प्रहार गर्नुभयो । यो उहाँहरुको पुरानो प्रचण्डपथीय दर्शन अँगिकार गर्दाखेरिको परिणाम हो । विज्ञान विरोधी कार्यमा लाग्दा उहाँहरु विचलनको परिणाम हात लाग्यो । आखिरमा गलत दर्शनको प्रयोगले वहाँहरु विचलनको शिकार बन्नु भयो ।

अव अलिकति फरक प्रसङ्गमा प्रवेश गरौं, तपाईहरुले पछिल्ला अभिव्यक्तिहरुमा आजको पुँजीवाद र राष्ट्रिय परिस्थिति डोमिनेन्ट खालको भूमिका हुने अर्थमा व्याख्या गरे जस्तो लाग्यो । के सशस्त्र क्रान्ति र क्रान्तिमा बल प्रयोगको भूमिका अव असान्दर्भिक भयो भन्न खोज्नु भएको हो ?
होइन, त्यसो भनेको पनि छैन र त्यसो हुँदैन पनि । यसलाई बुझ्न आजको साम्राज्यवादको चरित्र र राष्ट्रिय अन्तराष्ट्रिय अन्तरविरोधको चुरो कुरो बुझ्नु पर्छ । साँच्चै भन्दा आजको पुँजीवाद पुरानो चरित्रमा छैन । यसको चरित्र भूमण्डलीकृत पुँजीवादमा आएको छ । यसको प्रभाव कम विकसित र विकासशील देशहरुमा प्रत्यक्ष रुपले परेको छ । आज जसरी पुँजीवादले विश्वलाई लपेटेको छ, त्यसको प्रभाव हाम्रो जस्तो विकासोन्मुख देशहरु तीव्र रुपमा परेको छ । आज सवैतिर विश्व साम्राज्यवादको एकलौटी दादागिरी छ । आजको साम्राज्यवाद नवउपनिवेशिक नीति लिएर आएको छ । विश्वभरि जहाँ राजनैतिक, आर्थिक र सामरिकरुपले महत्वका देशहरु छन् तिनीहरुमाथि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपको नीतिद्वारा नवउपनिवेश बनाउने नयाँ नीति आजको भूमण्डलीकृत पुँजीवाद र उत्तर साम्राज्यवादले लिएको छ । यस नीति अन्तरगत नेपाल प्रत्यक्ष रुपले उपनिवेश त कहिले भएन तर नेपालमाथि साम्राज्यवादीहरुको गिद्धे दृष्टि पर्दै आएको छ र सुगौली सन्धिपछि नेपाल अर्धऔपनिवेशिक बन्दै आयो । आज एमसीसी र लिपुलेकसम्म आउँदा नेपाल नवउपनिवेशको शिकार भएको छ । नेपालको राष्ट्रिय अन्तरविरोधमा परिवर्तन भएको छ । देश दलाल पुँजीवादको चपेटामा परेको छ । नेपाल एकातिर कम्युनिष्ट देश चीन र कम्युनिष्ट विरोधी देश भारतको पनि चपेटामा छ । अमेरिका आजको भूमण्डलीकृत पुँजीवाद र उत्तरसाम्राज्यवादको नाइके हो । यसले आफ्नो दुश्मन कम्युनिष्टहरु र कम्युनिष्ट देशहरुलाई ठान्छ । वैज्ञानिक समाजवाद र साम्यवादलाई साम्राज्यवाद वा पुँजीवादले आफ्नो मृत्युको कारण ठान्छ । अहिले चीनलाई अमेरिका आफ्नो प्रतिस्पर्धी र संभावित तेस्रो विश्वयुद्धको एक प्रमुख प्रतिपक्षको रुपमा लिन्छ । त्यसैले उसले चीनलाई कमजोर बनाउन र टुक्र्याउन र संभावित चीनसंगको भावी युद्ध आफ्नो पक्षमा पार्न घेराबन्दीको नीति अपनाएको छ । त्यसको दक्षिणी द्वारको महत्वपूर्ण गेटमा नेपाल अवस्थित छ । त्यसैले —
 पहिलो — नेपाललाई जसरी पनि आफ्नो नियन्त्रणमा लिन र नवउपनिवेश बनाउन चाहन्छन् ।
 दोस्रो — नेपाली जनता परिवर्तनकामी छन् र उनीहरु आमूल परिवर्तन चाहन्छन् । साम्राज्यवाद नेपाली जनतालाई त्यसबाट विमुख बनाउन र सुधारवादको दलदलमा फसाउन चाहन्छ ।
 तेस्रो — जनसंख्याको करीव ६५ प्रतिशत जनताको अभिमत कम्युनिष्टप्रति छ । जनतालाई यसबाट विमुख गराउन चाहन्छ ।
 चौथो — नेपाली जनता वाहिय उपनिवेश वा हस्तक्षेप रुचाउँदैनन्, उनीहरु स्वाधीनता चाहन्छन् । त्यसैले साम्राज्यवाद नेपाली जनतालाई कम्युनिष्टहरुप्रतिको आस्थाबाट भत्काउन चाहन्छ ।
 पाचौं — नेपालसंग अझै पनि अथाह प्राकृतिक साधनश्रोतहरु छन् । साम्राज्यवाद ती श्रोतहरु कब्जा गर्न चाहन्छ ।
 छैटांै — नेपालमा युरेनियम, सुन जस्ता बहुमूल्य खनिज पदार्थ छ । अमेरिका र अन्य पुँजीवादी देशहरु यसमाथि गिद्धेदृष्टि लगाइरहेका छन् र त्यो कब्जा गर्न चाहन्छ्न् ।
 सातौं — नेपालमा क्रान्तिकारी कम्युनिष्टहरु राजनीतिको अग्रपंक्तिमा छन् र नेपालमा क्रान्ति या विद्रोहको संभावना विश्वका अन्य देशहरुभन्दा संभावनायुक्त ठाउँमा छ । यो विद्रोह दवाउन र क्रान्ति सफल हुन नदिन कम्युनिष्ट मास्ने अभियानमा साम्राज्यवाद छ ।
यी कारणहरुले गर्दा नेपालमाथि साम्राज्यवादी गिद्धेदृष्टि परेको छ । यो प्रकृयामा एमसीसी र लिपुलेक प्रकरण यसका पछिल्ला श्रृँखला हुन् । यी परिदृश्यहरुलाई मध्य नजर गर्दै नेपालको राष्ट्रिय स्वाधिनतामाथि साम्राज्यवादी हस्तक्षेप गंभीर ढंगले बढेर आएको र नेपाल र नेपाली जनताको स्वाधीनता र सार्वभौमिकतामाथि गंभीर खतराका संकेतहरु देखा परेको छ । यसलाई हामी आमनेपाली जनता समक्ष राख्दै, सचेत बनाउदै र यसको विरुद्ध हाम्रो पार्टीले जिम्मेवारीपूर्ण ढंगले संघर्ष गर्दै आएको कुरा सत्य हो । तर, हामीले यो कुरा गरिरहँदा र जनतालाई सचेत बनाउने सन्दर्भमा सशस्त्र संघर्षको भूमिका सकेको वा असान्दर्भिक भएको कुरा कहिँ कतै गरेका छैनौं । बरु, यसको सान्दर्भिकता झन बढेर गएको छ किनकि अमेरिकी सेनाहरु नेपाल भित्रिसकेपछि नेपाल अफगानिस्तान या युक्रेन हुने संभावना बढेर गएको छ ।

नेपालको समाजवादी क्रान्तिको विजय र स्थायित्वका लागि चौथो अन्तराष्ट्रियको खाँचो बारे पनि चर्चा भएको पाइयो । गत मंसिरमा चिनियाँ विदेश मन्त्रीसंगको भर्चुअलमा महासचिव कमरेड विप्लवले चौथो अन्तराष्ट्रिय गठन बारे चिनियाँ कम्युनिष्ट पार्टीको पहल के हुन सक्छ भनेर जिज्ञासा पनि राख्नुभयो । के यो दिशामा ठोस प्रगतिको अपेक्षा गर्न सकिन्छ ?
कम्युनिष्टहरु केवल कुनै एक देशको कुरामात्र गर्दैनन् । कम्युनिष्टहरु अन्तराष्ट्रियतावादी हुन्छन् । क. माओपछि समाजवादहरु ढल्दै जाने, कम्युनिष्टहरु टुक्राटुक्रामा बाँडिने र संघर्ष तथा विद्रोहहरु असफल हुने गर्दै आएको छ । यसको प्रमुख कारण कम्युनिष्टहरुको एउटा क्रान्तिकारी केन्द्र अर्थात एउटा कम्युनिष्ट अन्तराष्ट्रिय संगठन वा मोर्चा, मञ्चसम्म नहुनु हो । हामीले विगत आठौं महाधिवेशनदेखि नै यो विषयमा स्थायी कमिटी र सचिवालयमा धेरै पटक छलफल पनि गरेका छौं र यो आजको जरुरी आवश्यकता पनि हो । तर, यसको पहल कसले गर्ने ? कम्युनिष्टहरुको बीचमा यसरी विश्वस्तरको एउटा साझा संगठन, मोर्चा वा मञ्चसम्म नहुनु हामी कम्युनिष्टहरुको कमजोरी हो । यसको कारण साम्राज्यवाद र पुँजीवादले फाइदा उठाइरहेको छ । हामी चाहन्छौं यस्तो खालको एउटा पहल चीन जस्तो कम्युनिष्ट देशहरुका कम्युनिष्ट पार्टीले गर्दा सजिलो हुन्थ्यो भन्ने हो । त्यसकारण हाम्रो महासचिवले तपाइले भन्नु भएजस्तै एउटा भर्चुअल बैठकमा जिज्ञासा राख्नु भएको हो । जे होस निराश नहोऔैं, यसतर्फ कोही न कोहीले पहल गर्नैपर्छ । आज यसको जरुरी आवश्यकता खड्किएको छ । हामी पनि यस बारे सोचिरहेका छौं ।

पार्टीले ओली सरकारसंग तीन बुँदे सहमति गरेपछि नेपाल कम्युनिष्ट पार्टीले पनि प्रचण्ड र एमाले कै बाटो लिँदै छ भन्नेहरुलाई के भन्नु हुन्छ ?
यो कुरा एउटा नेपाली विज्ञापनमा “हात्ती र हात्ती छाप उस्तै उस्तै हो नानु” भने जस्तै हो । कहाँको प्रचण्ड–केपीको आत्मसमर्पण र दलालीको संसदवादी वाटो कहाँको विप्लवको एकीकृत जनक्रान्तिको बाटो यो त “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड” भन्ने नेपाली उखान जस्तै हो । यो एकीकृत जनक्रान्तिलाई छेउँटुप्पो पनि नबुझ्नेहरुको कुरा हो । तर प्रचण्डहरुले यो नबुझेर गरेका होइनन् ,उनीहरुले जानी जानी भ्रम दिनलाई भनेका हुन् । अरु धेरै भन्न जरुरी देख्दिन । तीन बुँदे सहमति गर्दा नेपाल कम्युनिष्ट पार्टीले प्रचण्ड–बाबुरामहरुले दिल्लीमा गोप्यरुपमा गरेको आत्मसमर्पण र सहमति जस्तो होइन । यो सहमति गर्दा विना कुनै बाहिय हस्तक्षेप, दुवै पक्षको स्वतन्त्र पहलमा भएको छ र यसमा नेपाल कम्युनिष्ट पार्टीले कुनै गोप्य सहमति गरेको छैन, न आत्मसमर्पण नै गरेको छ । यो त हामीलाई दमन गरेर सिध्याउने साम्राज्यवादी रणनीति अन्तरगत प्रचण्ड र केपीको संयुक्त सरकारले हामीमाथि जवरजस्त लगाएको प्रतिवन्धलाई केपी सरकारले हटाउन बाध्य भएपछि गरिएको सहमति थियो । तीन बुँदे सहमति हामीमाथिको प्रतिवन्ध हटाउने, बन्दी साथीहरुलाई छोड्ने, हाम्रा नाममा भएको सवै झुठ्ठामुद्दाहरु खारेज गर्ने, हामी शान्तिपूर्ण र खुलारुपलेराजनीति गर्ने र देशका राजनीतिक, आर्थिक, सामाजिक–साँस्कृतिक समस्याहरुलाई दुवै पक्ष मिलेर बार्ता टेवलबाट समाधान खोज्ने भनेर स्पष्ट उल्लेख छ । कहिँ पनि नेकपाले संसदवाद मान्ने वा कुनैपनि मुद्दामा आत्मसमर्पण र दलाली गर्ने भन्ने प्रमाण छैन, भनेपछि कसरी उनीहरुको बाटो अवलम्बन गरेको हुन्छ । त्यसैले यो भ्रम मात्र हो ।

अन्तमा जनपत्रकार संगठन र हाम्रो प्रकाशनलाई थप केही भन्नु हुन्छ कि ?
धेरै धेरै धन्यवाद छ तपाईहरुलाई, किनकि अहिलेको पार्टीभित्र र बाहिर हाम्रो पार्टीका केही अराजकतावादी, महत्वाकाँक्षी प्रबृत्ति बोकेका साथीहरुले वितण्डता मच्चाउदै जुन भ्रम र अफवाह मच्चाउँदै हिँडेका छन् । त्यसले जनतामा, कार्यकर्तामा, समर्थक, शुभचिन्तकहरुमा, विश्व सर्वहारा वर्गमा कुनै न कुनै रुपमा मनोवैज्ञानिक भ्रम र नकारात्मक प्रभाव दिएकै छ । क्षणिक रुपमा भए पनि दुश्मनलाई हँसाएका छन् । वर्गदुश्मन र साम्राज्यवादका गोटी बनेका छन् । यसले क्रान्तिलाई घाटा अवश्य पुगेको छ । यस्तो बेला केही विषयहरुमा भ्रमहरु चिर्न र विषयबस्तुहरु प्रष्ट्याउन यो तपाईहरुको प्रयासले महत्वपूर्ण भूमिका खेल्नेछ । तपाईहरुको यो पहललाई हार्दिक धन्यवाद भन्छु र तपाईहरुको यो समयको पहल निरन्तर जारी रहनेछ र संगठनले विगतको उत्तारचढाबहरुको विरासतमा जुन सकारात्मक कदमको शुरुवात गरेको छ । यसले अरु विकास गर्दै समयका आवाजहरु बोकेर जनजनसम्म जान सफल रहोस, उत्तरोत्तर प्रगतिको कामना । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार