जनपक्षीय पत्रकारिताका चार कार्यभारहरू

डेली न्युजराप्ती       १६ असार २०७९ ०७:३४ मा प्रकाशित     212 No Comments

विचार:|| शेरबहादुर विश्वकर्मा

चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक अध्यक्ष माओले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको भूमिकालाई आन्दोलनको आवश्यकता अनुसार चार कर्ताको रुपमा परिभाषित गर्नु भएको थियो। उत्पादन कर्ता, संगठनकर्ता, संघर्षकर्ता र प्रचारकर्ता । यी चार ओटा भूमिका मध्ये कुन बढी महत्वपूर्ण र अग्रभागमा हुन्छ भन्ने कुरा क्रान्तिकारी आन्दोलनको आवश्यकता, क्रान्तिको कार्यदिशा र यस क्रममा पार्टीले अङ्गीकार गर्ने तत्कालीन संघर्षको स्थिति र स्वरुपले निर्धारण गर्दछ। नेपालमा दलाल पूँजीवादी उत्पादन सम्बन्धसँगको प्रधान अन्तरविरोधलाई हल गर्ने सन्दर्भमा हामीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि सार्दै वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य निर्धारण गरेका छौं पछिल्लो समय खासगरि असीको दशकयता पूँजीवादी साम्राज्यवादको फेरिएको स्वरुप, उत्पादक शक्तिको क्षेत्रमा विकसित सूचना प्रविधि तथा विज्ञान प्रविधिको पछिल्लो विकासक्रम र नेपाली क्रान्तिका विगतकालिन प्रयोगहरुलाई यथोचित मूल्याङकन गर्दै अघि सारिएको एकीकृत क्रान्तिको सिद्धान्तका विभिन्न सात ओटा आधारभूत विशेषता मध्ये सूचना प्रविधिको विश्वव्यापी भूमिका र तरङ्गलाई पनि प्रस्तुत कार्यदिशाले आत्मसाथ गरेको छ । यहिनेर विचरणीय पक्ष के छ भने एकथरी मानिसहरुले प्रविधिको विकासलाई मान्छे, सामाजिक संघर्ष र उत्पादन प्रणालीबाट असम्बन्धित विषयको रुपमा पस्किदै अन्ततः र सारतः सामाजिक क्रान्तिमा सचेत मानविय प्रयत्नको भूमिकालाई अस्वीकार गरेको देखिन्छ ।

माओले भन्नु भए जस्तै चारकर्ता मध्ये प्रचारकर्ताको मुख्य भूमिकामा रहेको प्रचारमोर्चा र जनपत्रकार संगठन नेपालले आजको जनपक्षीय पत्रकारिताको माध्यमबाट आफ्नो जिम्मेवारीलाई कसरी सशक्त र प्रभावकारी बनाउने ? जनतालाई सत्यतथ्य सूचना र जानकारीद्वारा कसरी सुसज्जित गर्ने ? सूचना, समाचार, शिक्षा, उत्प्रेरणा र खबरदारीको दायित्व पूरा गर्दै यो क्षेत्रमा देखिएका विकृति र मुख्यतः सूचना साम्राज्यको जनविरोधी चरित्रलाई कसरी ठीक ढङ्गले मुकाविला गर्ने ? र अन्ततः नेपाल र विश्वव्यापी रुपमा दृष्टि क्षितिजमा देखापरिरहेको समाजवादी क्रान्तिको पक्षमा व्यापक जनमत कसरी निर्माण गर्न सकिन्छ भन्ने बारे यो छोटो आलेखद्वारा प्रकाश पार्न खोजिएको छ ।

(क) विचारधारात्मक र राजनैतिक कार्यभार:
निश्चय नै हामीले पत्रकारिता र कलमको मोर्चाद्वारा क्रान्ति र समाजवादको सेवा गर्नै पर्दछ । तर हामीले पत्रकारिता मात्रै गर्नु हुदैन जनपत्रकारिता नै गर्नुपर्दछ । हामीलाई लाग्ला सबै मान्छेहरु आखिर जनता नै त हुन् भन्ने लागे पनि यी शब्दहरुको अन्तरवस्तुमा नै भिन्नताहरु छन् । एउटा दैनिक रुपमा ज्यालाका लागि आफ्नो श्रमशक्ति बिक्रि गरिरहेको स्वतन्त्र मजदुरदेखि राज्यको माथिल्लो ओहोदामा बिराजमान शासक, नोकशाह र पूंजीपति सबै मानिस हुन तर यिनीहरु सबै जनता र श्रमजीवी होइनन् । समाजमा वर्ग छ, वर्गीय शोषण र स्वार्थहरु छन्, ती स्वार्थहरुलाई प्रतिविम्बन गर्ने सामाजिक, आर्थिक संरना र परिपाटीहरु पनि छन् । यसरी सिंगो मानव समाज विभिन्न वर्गहरुमा विभक्त भएको छ र वर्गहरुका बीच विशेषतः उत्पीडित र उत्पीडक बीच झण्डै साढे पांच हजार वर्षदेखि परस्थर विपरीत स्वार्थबीच वर्ग संघर्ष चल्दै आएको छ । यसलाई मार्क्स एंगेल्सले कम्युनिष्ट घोषणापत्रको पछिल्लो संशोधनमा आज सम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो भन्नु भएको थियो । यसरी समाजमा निरन्तर चलिरहने वर्गसंघर्षको क्रममा नै सूचना र समाचारका विभिन्न साधन हुँदै आजको इन्टरनेट क्रान्तिको चरणमा विकास हुन पुगेको छ, जसलाई अर्थशास्त्रीहरुले चौथो औधोगिक क्रान्तिको संज्ञा दिएका छन् । यी परम्परागत र विकसित साधन, प्रविधि र ज्ञानको प्रयोग गर्दै सामाजिक संघर्षमा भाग लिनु, उत्पीडित जनता र राष्ट्रको पक्षमा हुने आन्दोलनको सेवा गर्ने, अन्याय अत्याचार, भ्रस्टाचार, विकृति, विसंगतिको चिरफार गर्नु र सारतः पुरानो उत्पादन सम्बन्धको ठाउँमा प्रगतिशील उत्पादन सम्बन्धको विकास गर्दै उत्पादक शक्तिको एउटा सक्रिय तत्वको रुपमा रहेको श्रम शक्तिको विकासको उचित वातावरणका लागि प्रचारात्मक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न पत्रकारिता आर्थात् जनपत्रकारिता गर्नु हाम्रो मुख्य काम हुनु पर्दछ ।

पत्रकारिता आन्दोलनमा केही भाष्य र अवधारणाहरु छन् जस्तो कि पत्रकारितालाई स्वतन्त्र, पेशागत पत्रकारिता र मिशन पत्रकारिता भनेर – दुईभागमा छुट्याइएको छ । हो, पत्रकारहरु स्वतन्त्र, निष्पक्ष र गैर-राजनीतिक हुनै पर्दछ, त्यसैले त यसलाई – राज्यको चौथो अङ्ग मानिएको छ तर उनीहरु – पनि यही समाजकै अंगहरु हुन् पत्रकारहरुको पनि वर्ग र राष्ट्रियता हुन्छ । समाजका हरेक नागरिक सरह पत्रकारहरुले पनि राजनीतिक आस्था राख्न पाउनु पर्दछ । बिडम्बना त के देखिन्छ भन्ने जसले पत्रकारहरु स्वतन्त्र र पत्रकारिता व्यावसायिक हुनुपर्छ भनिरहेका छन्, उनीहरु नै सब भन्दा राजनीतिककृत हुदै गएको देखिन्छ राजनीति नियुक्ति र आर्थिक प्रलोभनका लागि सत्यको तडमरोड उनीहरु नै गरिरहेका छन् । पत्रकार महासंघ जस्तो नागरिक अगुवा संस्थामा सदस्यता वितरणदेखि निर्वाचन प्रक्रियसम्म संसदीय निर्वाचन भन्दा पनि तल्लो र भद्दा हुँदै गएको छ । योसँगै हामीले ख्याल गर्नु पर्ने विषय र सबै भन्दा सोचनीय प्रश्न भनेको के स्वतन्त्र र व्यावसायिक पत्रकारिता उद्देश्यविहीन, निरुद्देश्य र मिशनविहीन हुन सक्छ ? के पत्रकारिता वर्ग र राष्ट्रियता भन्दा अलग र निरपेक्ष हुन्छ ? के पत्रकारहरुको सामाजिक उत्तरदायित्व हुनु हुँदैन ? के पेशागत पत्रकारिता र मिशन पत्रकारिता आफैमा अलग र असम्भबन्धित छन् ? यी प्रश्नहरुलाई मसिनो गरि केलायर हेर्दा के भन्न सकिन्छ भने स्वतन्त्र पत्रकारिताको पनि खास उद्देश्य र मिशन हुन्छ भने जसलाई हामी मिशन पत्रकारिता भन्छौ त्यसको पनि व्यावसायिकता हुन्छ बरु जसले स्वतन्त्र पत्रकारिताको वकालत गर्दछन् उनीहरुको नै कथनी र करनीमा निकै ठूलो बेमेल छ। उनीहरुले आफ्नो अन्तरनिहित मिशनलाई लुकाइरहेका छन् वा छद्मभेषी रुपमा प्रयोग गरिरहेका छन् । त्यसैले त आज साम्राज्यवादीहरुले आफ्नो जि.डि.पी.को ठूलो हिस्सा यो क्षेत्रमा खर्च गरिरहेका छन् । प्रथम विश्वयुद्धदेखि इराक, इरान सिरिया हुँदै अफगानिस्तान युद्धसम्म आफ्नो सैन्य आक्रमणलाई जायज ठहऱ्याउन निकै ठूलो धनराशी प्रचारात्मक क्षेत्रमा खर्च गरेका छन् । एउटा सैनिक तानाशाहदेखि ठूलाठूला भ्रष्टाचारजन्य स्कायण्डलहरुले समेत आफ्ना जनविरोधी अपराधबाट धोइपखाली गर्न समेत मिडियामा लगानी गर्ने र आफ्नो निहित स्वार्थ रक्षार्थ यसको दुरुपयोग गर्ने देखि, नाफा र व्यावसायिकताको नाममा अश्लिल र विकृत संस्कृतिको प्रसार हुँदै आएको छ, यसको भण्डाफोर गर्नु र पत्रकारिताको जे र जस्तो प्राकृतिक चरित्र छ त्यसलाई स्वीकार गर्दै अगाडि बढ्नु हाम्रो जिम्मेवारी हुनुपर्दछ ।

नेपालमा विगत सात दशकयता संसदीय चरित्रको लोकतन्त्र उपयोग गरिदै आएको छ । तीन तीन पटकको संसदीय अभ्यासमा शान्ति, स्थिरता र समृद्धि केबल चुनावी नारा सिवाय अरु केही नभएको कुरा छर्लङ्ग भैसकेको छ। सरकार गिराउन र बनाउन तथाकथित जनप्रतिनिधिहरुलाई खसी बोका जस्तो किनबेच गर्ने, विदेश भ्रमण गर्न लगाउने, बिरामी हुन लगाउने, पार्टीहरु बीच फुट र विभाजन शृङ्खलाबद्ध हुने देखि राष्ट्रघात र देशको सार्वभौमिकता विरोधी सम्झौताहरु हुँदै आएका छन् । १८१६ को सुगौली सन्धी, १९५० को नेपाल भारत असमान सन्धी, गोर्खा भर्तिको खारेजी, सीमा अतिक्रमणको अन्त्य, असमान व्यापार ताथ पारवहानका विषयमा ओकल्दै सत्तासिन भएका पार्टी र नेताहरु सत्ता र सरकारमा टिकिरहनकै लागि नयाँ-नयाँ देशविरोधी दलाल सावित हुँदैछन्। आर्थिक हिसाबले हेर्दा पनि गरिबी, भ्रष्टाचार, महदुगी, मुद्रास्फीति, व्यापार घाटा, जनशक्तिको विदेश पलायन, रेमिटेन्समा निर्भर परनिर्भर अर्थतन्त्र, बढ्दो • प्रतिव्यक्ति सार्वजनिक र विदेशी ऋण भार, जि.डि.पी. मा खस्कदो उद्योगको योगदान, मुलुकको अर्थतन्त्रको चारित्रीक विशेषता बन्दै गएका छन् । स्वास्थ्य र • शिक्षाजस्तो राज्यको अनिवार्य जिम्मेवारी भित्र पर्ने विषयहरु निजी क्षेत्रको कमाइखाने भाँडो भएका छन् । आयातित वस्तु तथा सेवाहरुमा अन्तशुल्क कर र भन्सार लगाएर राज्यले आफ्नो चालु खार्च थोगिरहेको छ । भूमिमाथिको सामन्ती सम्बन्ध, द्वैत स्वामित्व, खण्डीकरण र भुमाफियाहरुको पकड हुँदै जनसङ्ख्याको ठूलो हिस्सा सुकुम्बासी हनु, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा उल्लेखय सुधार नहुनु, अझै पनि पुख्यौली सम्पतिमा छोराछोरीको समान अधिकार स्थापित नहुनु यो क्षेत्रका समस्याहरु रहँदै आएका छन् । यी विषयमा आवश्यक परिवर्तन गरि भूमि र श्रमबीचको अन्तरविरोध हल गर्न नसक्नु संसदीय लोकतन्त्रको असफलताको धोतक हो यसबाट अल्पकालीन र दीर्घकालीन रुपमा पार पाउन यो व्यवस्थाको भण्डाफोर गर्नु, समस्याहरु बारे जनतालाई सुसज्जित गर्नु र आवश्यक विचार विमर्शका लागि जोड दिनु हामी जनपक्षीय पत्रकारहरुको राजनैतिक जिम्मेवारी हो ।

यतिबेला विश्व र नेपालमा पनि समाजवादका पक्षमा जनताको भावना मुखरित हुँदै गएको छ । पूँजीवाद विशेषतः नवउदारवादी पूँजीवाद र भ्रमण्डलीकृत साम्राज्यवादमा पुनः संकटको चक्र मडारिदै गएको छ । खासगरि कोभिड व्यवस्थापनमा शक्ति राष्ट्रहरुको स्वास्थ्य प्रणालीमा जुन असक्षमता देखियो यो अन्ततः सिंगै पूँजीवादी प्रणालीकै असक्षमताका रुपमा विश्वभरी नराम्ररी नाङ्गो रुपमा प्रस्टीएको छ । आय असमानता बढ्दो छ। प्राकृतिक स्रोतको दोहन विनाशकारी तहमा पुगेको छ । सामाजिक र सांस्कृतिक क्षेत्रमा निकै ठूला विचलनहरु देखिदैछन् । यो समग्र स्थितिलाई हेर्दा वैकल्पिक व्यवस्थाको रुपमा समाजवाद अपरिहार्य जस्तो प्रस्तुत हुन थालेको छ तर यो क्षेत्रमा मुख्यतः नेपालमा समाजवाद एउटा फेशनको रुपमा सबैले आफ्ना घोषणापत्रमा लेख्नै पर्ने जस्तो देखिएको छ । समाजवाद के हो, नागरिकको जीवनमा नयाँ कुरा के दिन्छ भनेर खोज अनुसन्धान गर्नु र विषयलाई जनताले बुझ्ने गरि सरलीकृत गर्दै प्रस्ट्याउनु हाम्रो विचारधारात्मक अविभारा हो हामीले भन्दै आएको समाजवाद आउँछ कसरी ? वैज्ञानिक समाजबाद भन्नु र समाजवाद मात्र भन्नुमा के अन्तर छ ? के संसदीय व्यवस्थालाई शान्तिपूर्ण ढंगले स्वतस्फुर्त रुपमा समाजवादमा पुयाउन सकिन्छ ? के जनमत संग्रहको कार्यनीतिले समाजवादी सणनीतिसँग दादम्यता राख्छ ? भन्ने विषयमा प्रस्टता पार्नु र एउटै वाक्यमा भन्दा समाजवादको पक्षमा जनमत निर्माण गर्नु हाम्रो वैचारिक कार्यभार हो ।

(ख) संगठनात्मक कार्यभार:
कुनै खास कामका निम्ति मिशन मात्र राम्रो हुनु सफलताका लागी प्रार्याप्त मान्न सकिन्न । राम्रो उद्देश्य प्राप्तिका लागि तदनुरुपको संगठन, प्रणाली र पद्दती पनि चाहिन्छ । पार्टी माथिको प्रतिबन्ध पछि एउटा शुभेच्छुक संस्था र आस्थाका आधारमा कैयौ जनपक्षीय पत्रकारहरु माथि मुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना तथा धरपकड़ गर्ने काम निरन्तर भैरहयो जसले लक्ष्यको तुलनामा संगठन निर्माण र सृदृढ निकै अप्रयाप्त हुन गएको छ भने अर्को तिर समग्र पत्रकारिता आन्दोलनको विकाससंगै स्वयम् पत्रकारिता आन्दोलन र जनपक्षीय पत्रकारिताकै क्षेत्रमा पनि केही समस्याहरु पैदा भएका छन् । सँगसँगै आजको आवश्यकताको उचाई अनुसार जनपत्रकार संगठन नेपालको संख्यात्मक वृद्धि पनि हुन सकिरहेको छैन् । यो स्थितिमा एकातिर एक गाँउपालिका एक जनपत्रकार सहित समाजका विभिन्न महत्वपूर्ण क्षेत्रहरुमा हाम्रो उपस्थिति हुने गरी संगठनको संख्यात्मक बृद्धिलाई जोड दिनु पर्छ, भने अर्कातिर संगठनमा आबद्द सदस्यहरुलाई निरन्तरको आधारभूत तालिम र प्रशिक्षणद्वारा लैस गर्दै उच्च र मध्यम तहको विधागत र विषयगत प्रशिक्षणलाई आ-आफ्नो ठाउँमा सञ्चालन गर्नुपर्दछ । संगठन निर्माण र विस्तार गर्दा पत्रकारिता गरिरहेका, पत्रकारिता पढिरहेका र पत्रकारितामा रुची र जीज्ञासा राख्ने पिँढीबाट उत्पादन गर्ने, विभिन्न प्रगतिशील भूमिकामा रहेका पत्रकारहरुलाई रुपान्तरित गर्दै संगठित गर्ने हाम्रो नीतिको आधारमा आगामी केही समयपछि कमसेकम एक हजार जनाको सांगठनिक लक्ष्य सहित अगाडी बढ्नु हाम्रो संगठनात्मक कार्यभार हुनेछ ।

(ग) अर्थोपार्जन सम्बन्धी कार्यभार:
जनपत्रकार संगठन नेपाल श्रमजीवी पत्रकारहरुको पेशागत संगठन हो । पेशागत संगठन हुनुको कारणले संगठनको हरेक सदस्यहरु कुनै न कुनै रुपमा निश्चित सञ्चार गृह / मिडियाहरु सँग आबद्द हुदै जीवीको पार्जन गर्न र त्यसका लागि हामीले छापा पत्रकारिता, रेडीयो पत्रकारिता, टेलीभिजन पत्रकारिता र अनलाईन पत्रकारितालाई •युनिफिकेशन गर्दै जाने नीति लिनुपर्दछ। परम्परागत प्रविधिलाई पनि नछोड्ने र आधुनिक प्रविधिमा जोड दिनेबारे ध्यान पुयाउनु पर्छ । यसो गर्दा कामको प्रभावकारिता, सुगमता र लागतका दृष्टीले पनि अनलाईन माध्यम नै मुख्य भूमिकामा हुने भएकाले यसको संख्यात्मक बृद्धि गर्दै एक जिल्ला एक अनलाईन मिडिया हुनेगरी सोच्नुपर्छ । पत्रकारहरु उत्पादन गर्ने लक्ष्य राखेर हामीले थुप्रै पत्रकारहरुलाई प्रशिक्षित गर्दा पनि उनीहरुको निरन्तरता र पत्रकारितामा टिकिरहने चुनौती नै संगठनात्क क्षेत्रको एक मुख्य समस्या र सिकाई पनि हो । यसलाई हल गर्न मिडियाकर्मी सँगसँगै मिडिया पनि अनिवार्य शर्त बनाउँदै मिडियाको संख्यात्मक बृद्धिका लागि सम्भाव्यता अध्ययन गर्दै योजना निर्माण गर्नुपर्छ भने अकातिर हामीले सञ्चालन गर्ने मिडियाहरुमा व्यक्तिगत स्वामित्व भन्दा सामुहिक र संस्थागत एवं सहकारी प्रणालीमा आधारित आर्थिक दृष्टीकोण सहित पत्रकारिता गर्नु हाम्रो आर्थिक आर्थिक कार्यभार बनाउनु पर्दछ । साथै मिडियामा विदेशी लगानी र विज्ञापनको नाममा सञ्चार माध्यमद्वारा हुने मुलुकको सावभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रता विरोधी हर्कतलाई निस्तेज गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्दछ ।

(घ) समसामयिक कार्यभार:
सामान्यतया पत्रकारितालाई आवाजविहीनहरुको आवाज भन्ने गरिन्छ । समाजमा जो आर्थिक राजनीतिक रुपमा शक्तिविहीन छन् उनीहरुको आवाजलाई प्रवाहिकरण गर्नु मिडियाको धर्म हो भन्ने कुरालाई सैद्दान्तिक दृष्टीले स्वीकार गर्दा गर्दै पनि व्यवहारमा निकै समस्याहरु छन् । सञ्चार गृहमा लगानी कुन वर्गको छ, उसैको नीति निर्माणदेखि कार्यक्रमको उत्पादन र प्रशारणमा समेत निर्णायक भूमिका हुने कुरा स्वतः छ । नेपालका मिडियाहरुको ठूलो हिस्साहरुमा सीमित धनाड्य वर्ग, कर्पोरेट हाउस र तथाकथित प्रभुत्वशाली वर्गको लगानी छ । उनीहरुले उत्पादन गर्ने कार्यक्रम र सामाग्रीहरु साँच्चीकै अर्थमा आवाज विहीनहरुको आवाज भन्दा पनि नाफा मुखी, बजारमुखी र विज्ञापन मुखी नै देखिन्छ । जब समाजमा घट्ने घटनाबारे नागरिकलाई जानकारी गराउने र सुसज्जित गर्ने जिम्मेवारी राज्यको हुनु पर्नेमा निजी स्वामित्वमा सञ्चालित र नाफाका निम्ति बजारको अन्तरक्रियामा आर्धारित कर्पोरेट हाउसको हुन्छ, त्यहाँनेर स्वभाविक रुपमा सूचनाद्वारा नागरिकलाई सुसज्जित गर्ने भन्दा सूचनाको मेनिपुलेशन हुन जान्छ । बजार भनेको यस्तो प्रक्रिया हो जहाँ हरेक वस्तु तथा सेवाहरुको क्रय, विक्रय नाफाका लागि गरिन्छ । जब हरेक वस्तु र सेवाको अन्तिम उद्देश्य नाफा प्राप्ति हुन्छ, त्यहाँ सत्य तथ्य भन्ने कुरा झुट हुन्छ । बजारको विशेषता नै कुनै वस्तु तथा सेवाहरुको उत्पादन र उपभोग सामाजिक र नैतिक हिसाबले सही कि गलत भन्दा पनि कुन वस्तु तथा सेवाले बढी भन्दा बढी नाफा दिन्छ त्यो नै सही र नैतिक भन्ने हुन्छ, । त्यसकारण सही सूचना, सत्यतथ्य सूचना र आवाजविहीनहरुको आवाजका लागि सूचना प्रवाह गर्ने व्यक्तिले होइन समाज र राज्यले मात्र सक्दछ भन्ने कुरालाई स्थापित गर्नुपर्दछ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको रक्षा र सूचनाको हकलाई नेपालमा पत्रकारिता आन्दोलनको मिशनको रुपमा बुझिदै आएको छ, यस प्रति हाम्रो पूर्ण प्रतिवद्धता छ र हुनै पर्छ तर समाजका सबै वस्तु र चेतनाको परिवर्तनको प्रवाहसंगै नेपाली पत्रकारिता जगतको मिशन पनि फेरिनु जरुरी छ । जतिबेला मुलुकमा पार्टीहरु माथि प्रतिबन्ध थियो, नर्दलीय पञ्चयाति व्यवस्था थियो, समाचार लेखेकै कारण पत्रकाहरु मथि मुद्धा लगाउने र जेल पुऱ्याउने अवस्था थियो, तर अहिले संविधानले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई स्वीकार गरिसकेको छ, भने अर्कोतिर मुलुकका मुद्धाहरु बदलिएका छन् । नेपाली समाज सात साल र छयालीस साल वरिपरि छैन, सामाजिक शसक्तिकरणको स्तर नयाँ चरणमा आइपुगेको छ, र सबैले आफ्ना दस्तावेजहरुमा समाजवादलाई गन्तव्यको रुपमा स्वीकार गरिसकेको स्थितिमा नेपालको पत्रकारिता आन्दोलनको आगामी मिशन समाजवाद हुनुपर्छ र हामीले यो दिशामा तर्कसँगत ढंगले छलफल, बहस र अन्तक्रियालाई घनिभुत गर्नुपर्दछ ।

कुनै सार्वजनिक विषय वा घटनाबारे समाचार उत्पादन वा सम्प्रेषण गर्दा फाइभ डब्ल्यु प्लस वान एच को फर्मुलासँगै ए.वि.सी. को सिद्धान्त अवलम्बन गरिएको हुनुपर्दछ । अर्थात समाचार सत्यतथ्यं, सन्तुलित र विश्वसनीय हुनुपर्दछ । तर यहाँ नेर हामी प्रस्ट हुनु पर्ने विषय के छ भने जसलाई हामी सत्यतथ्य भन्छौ त्यो वर्गीय हुन्छ । जसरी समाज भिन्न स्वार्थमा विभाजित हुन्छ, तब एउटै घटनालाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोण पनि विभाजित हुन्छ । वर्ग स्वार्थहरुको प्रभाव घटना विश्लेषण गर्ने प्रक्रियामा पनि पर्छ। नेपालमा राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना गर्नु र त्यसका लागि कृष्णसेनाहरुले कलम चाउनु मेहनतकस जनताका लागि सत्य थियो भने त्यही कुरा तत्कालिन सत्तासिन शासकहरुका लागि अपराध थियो र त कृष्णसेनाहरुलाई उनीहरुले हत्या गरे। समकालीन राजनीतिमा असफल र दलाल संसदीय व्यवस्थाका विरुद वैज्ञानिक समाजवादका लागि संघर्ष गर्नु परिवर्तनकारीहरुका लागि सत्य हो भने त्यही कुरा संसदवादी दलालहरुका नजरमा गलत । यसरी हेर्दा भन्न के सकिन्छ भने सत्य भन्ने चिज सापेक्षित हुन्छ, निरपेक्ष हुँदैन, गतिशील हुन्छ, जड हुँदैन, वर्ग स्वार्थमा आधारित हुन्छ, वर्ग निरपेक्ष हुँदैन र दिक, काल र परिस्थिति अनुसार र यसलाई परिभाषित गर्न सकिन्छ ।

र अन्तमा पत्रकार र पत्रकारिता यही समाजका उत्पादन हुन । हरेक व्यक्ति पत्रकार हुनुअघि नागरिक हो। यसको अर्थ पत्रकारहरुको सामाजिक उत्तरदायित्व पनि उत्तिकै छ । हामीले पत्रकारिता गर्दा सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता हाम्रो जिम्मेवारी हो । एउटा कथित स्वतन्त्र पत्रकारले निर्मला पन्तको हत्याको विवरण सम्प्रेषण गर्न सक्छ तर उसले कानुनी कार्वाहि र बलत्कार उत्पादन गर्ने सामाजिक आर्थिक संरचना बदल्ने सामाजिक दायित्व निर्वाह गर्न सक्तैन । एउटा स्वतन्त्र पत्रकारले सामाजिक सांस्कृतिक विकृति विरुद्ध प्रहार गर्न सक्ला, गरिब, दुखी र पीडितका चित्कारहरुको कलात्मक बयान गर्न सक्ला तर उ यी चित्कारहरु पैदा गर्ने संरचनागत कारण बदल्ने अभियन्ता बन्न सक्तैन । एउटा स्वतन्त्र पत्रकार हाम्रो मुलुकको सीमा क्षेत्रमा निरन्तर भइरहने अतिक्रमण र भारतले गरिरहने हस्तक्षेपको साङ्गोपाङ्गो विवरण त पस्किन सक्ला तर उसले यसलाई अन्तराष्ट्रिय कानुनको ठाडो उल्लङ्घन नागरिक माथिको ज्यादति ठान्दै जनतालाई सुसज्जित गर्ने, आन्दोलित गर्ने र आवश्यक पर्दा अत्याचार विरुद्ध भौतिक प्रतिरोधमा उत्रिन अपिल गर्न सक्ने छैन, जुनकुरा जनपक्षीय पत्रकारहरुले गर्ने पर्दछ र त हामी आफुलाई सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताका अगुवा र सिपाही ठान्छौं।
लेखक:जनपत्रकार संगठन नेपालको केन्द्रीय संयोजक हुनुहुन्छ ।

साभार:जनपत्रकार संगठन नेपालको मुखपत्र “जनपत्रकार”बाट साभार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार