राज्यले हामी माथी दमन गरे त्यसको मूल्य महंगो पर्नेछ:पाटन जंगली (अन्तर्वार्ता)

डेली न्युजराप्ती       १८ श्रावण २०७९ १३:५१ मा प्रकाशित     860 No Comments

सरकार र नेपाल कम्युनिस्ट पार्टी विच २०७७ फाल्गुन २१ गते तीन वुदे सहमति भएको थियो। तिन बुदे सहमतिमा नेकपा र तत्कालीन केपि वली नेतृत्वको सरकार दुवै पक्ष देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्ने,नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपुर्णरुपमा संचालन गर्ने र नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथी लगाइएको प्रतिबन्ध हटाउन,कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाइ र सम्पुर्ण मुद्दाहरु खारेज गर्ने सहमती भएको थियो। तर सोमबार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित २५ नेता-कार्यकर्ताहरुको विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपा आक्रोशित बनेको छ। नेकपाले राज्यले आफ्नो पार्टीसंग गरेको तीन बुदे सहमती उल्लंघन नगर्न चेतावनी दिएको छ।
यसैबीच हामिले ललितपुर जिल्ला अदालतले सोमबार विप्लवसहित २५ नेताहरुको विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी सो पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीसंग कुराकानी गरेका छौँ।

डेलिन्युजराप्तीका सम्पादक हेमन्त प्रकाश वलीले युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीसंग गरेको कुराकानी पूरा अंश:

१)स्वागत छ तपाइँलाई हाम्रो लोकप्रिय अनलाइनमा?
धन्यवाद छ तपाईं र तपाईको मिडियालाई।

२)सरकार र तपाइँहरुको पार्टीबिच गत २०७७ फागुन २१ गते भएको तिन बुदे सहमतिलाई लत्याउदै गत सोमबार ललितपुर जिल्ला अदालतले तपाईंको पार्टीका महासचिव विप्लवसहित २५ नेताहरुको विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गर्‍यो,यसलाइ तपाईले कसरी हेर्नुभएको छ?

प्रश्नको लागि धन्यवाद। सर्ब प्रथम त बुझ्नु पर्ने कुरा के छ भने, राज्य र बिद्रोही शक्तिबिच भयका राजनितिक सम्झौता वा समझदारीहरुको पालना गर्नु र कार्यान्वयन गर्नु राज्यको पहिलो कर्तब्य हो । सम्झौतामा प्रतिबद्धता गरिएका सबै बुंदाहरुलाई अक्षरस पालना गर्नु दुबै पक्ष उतिकै जिम्मेवार र इमानदार हुनु पर्दछ । हाम्रो पार्टी र सरकार बिच भयको तीन बुंदे सम्झौताको हकमा पनि राज्य जिम्मेवार हुनु पर्ने थियो । अन्तत त्यसो हुन सकेन । जसरी सम्झौतालाई सिघ्र कार्यान्वयन गर्ने भद्र सहमति भएका थिए, कार्यान्वयनको चरणमा आउदा राज्य पछि हट्न पुग्यो । यसो हुनुमा राज्य र शासकहरुको मनमा गलत नियत रहेको स्पष्ट हुन्छ । त्यसैको परिणाम स्वरुप ललितपुर जिल्ला अदालतले महासचिव लगायतका कमरेडहरुलाई पक्राउ गर्न उर्दी जारी गरेको हो । यो क्रम अरु अदालतहरु मार्फत पनि गराइदै छ।

यस प्रकारको कार्यले राज्य प्रतिको बिश्वास घट्ने कुरा त निस्चित छ । अझ सबैले बुझ्ने गरि भन्नू पर्दा राज्य स्वयमले अशान्ति र अस्तिरताको बिजारोपन गर्न खोजेको स्पष्ट भएको छ । यो बिषयमा राज्य बेलैमा जिम्मेवार भएन भने देश, राज्यका कारणले अशान्तिको दिशा तिर धकलिने कुरा निश्चित छ ।

३) के अब शान्तीप्रक्रिया भंग भएको हो?
हामी हाम्रो प्रतिबद्धतामा दृढ छौं । हामी बैज्ञानिक समाजबादी सत्ता सहितको पुर्ण शान्ती चाहान्छौं । तर राज्यको हर्कत हेर्दा राज्य स्वयमले अस्थिरता चाहेको स्पष्ट हुन्छ ।

४)तीन बुदे सहमती विरुद्ध सरकारले तपाईहरुका नेताहरुलाई गिरफ्तार गर्ने गरि तयारी अगाडि बढायो भने तपाईहरु के गर्नुहुन्छ?

हेर्नुस् यदि राज्यले हाम्रो पार्टी र नेता कार्यकर्ताहरु माथी दमन, धरपकड र गिरफ्तार गर्ने कार्य गर्‍यो भने त्यसको उचित जवाफ जनता र पार्टिले दिनेछ । हामीले भन्दै आएका छौं कि सम्पुर्ण समस्याहरुलाई छलफल र बहसका माध्यमबाट निकास दिउ । यो कुरा तीन बुंदे सहमतिमा पनि उल्लेख गरिएको छ । यो बिषयलाई लत्याउने, हामिलाई कम्जोर सम्झिने र अनैतिक कार्यहरु गरि हामी माथी दमन गरेको खण्डमा त्यसको मूल्य महंगो पर्ने कुरा बेलैमा बुझ्न जरुरी छ ।

५) कस्तो खालको प्रतिरोध गर्नुहुन्छ?फेरि भुमिगत हुने हो?शसस्त्र युद्ध गर्नुहुन्छ?

प्रतिरोधको बिषय त, राज्य कसरी आउँछ त्यसले निर्धारण गर्दछ । सर्बप्रथम त हामी राज्यका हरेक गलत कदमहरुका विरुद्ध राजनितिक प्रतिरोध र भण्डाफोर गर्दै राज्यका कुकृतिहरुलाई जनताका बिच सम्म लैजानु पर्दछ र लैजान्छौं । त्यो हाम्रो प्रथम दायित्व हो ।
जहाँ सम्म भुमिगत र शसस्त्र युद्धको कुरा गर्नु भएको छ हामिले कहिलै पनि शसस्त्र युद्धको घोषण गर्ने र भुमिगत हुने कुरा गरेका छैनौं । हामिलाई के बिश्वास छ भने यदि नेपालका हरेक समस्याहरुलाई सहज र सजिलो तरिकाले समाधान गर्न राज्य तयार भयो भने फरक बाटो अपनाउनु पर्दैन । हाम्रो पार्टिले भनेको छ कि नेपाली जनतालाई लोकतन्त्रको उच्च अभ्यास गर्ने मौका दियौं । आफू माथी शासन गर्ने ब्यवस्था चुन्ने मौका दिउ । यदि राज्य यसमा तयार हुने हो भने, युद्ध गर्नु पर्ने भुमिगत हुनु पर्ने अवस्था सम्भवत आउदैन ।

६)एमसिसि,एसपीपी लगाएतका राष्ट्रघातका विरुद्धमा संघर्ष गरेकाले पुर्जी जारी गरिएको हो भन्ने हल्ला छ नि?

हो यो कुरा सहि नै हो । बिगतमा हामी माथी राजनितिक प्रतिबन्ध लाग्नुको एउटा मुख्य कारण भनेको पार्टिले राष्ट्रियताको पक्षमा गरेको शसक्त आन्दोलन पनि हो । हाम्रो पार्टिले बिगत लामो समय देखि राष्ट्रिय हित बिपरितका सन्धी-सम्झौताहरुलाई खारेज र पुनरावलोकन गर्नुपर्छ भन्दै आएको छ । अन्तर देशिय सन्धी-सम्झौताहरु हुन्छन र हुनु पर्दछ, तर त्यस प्रकारका संधी सम्झौताहरु पारस्परिक हितमा हुनुपर्दछ । तपाईं हेर्नू हुन्छ भने नेपालले गरेका अधिकांश सन्धी- सम्झौताहरु राष्ट्रहित बिपरित भएका छन। अझ पछिल्लो चरणमा आउदा अमेरीकि सहयोगको रुपमा आएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) सम्झौता लागू भएको छ । यो राष्ट्रघाती छ । यसको असर दीर्घकालीन रुपमा नेपाली जनताले भोग्नुपर्ने छ । यो एक प्रकारले अमेरिकी साम्राज्यको बिस्तार भन्दा पनि फरक पर्दैन । जहाँ सम्म स्टेट पार्टनरसिप प्रोग्राम (SPP) को बिषय आयो, यसले नेपाली राजनितिमा आलोचनात्मक छलफल बहसहरु सृजना गर्‍यो । यसले सरकारलाई पछि हट्न बाध्य बनायो । बुझ्नु के पर्छ भेने यो SPP साहायक पाटो हो । मुल कुरा एमसिसी सम्झौता हो अरु सबै सम्झौताहरु त्यसका पुरक हुन । यी सबै एमसिसी सम्झौता भित्रका प्रोग्रामहरु हुनु यिनिहरु विभिन्न रुपमा आउछन । अझ डर लाग्दो कुरा त केछ भने एमसिसिको मुख्य र अनिवार्य उदेश्य भनेको नेपाली भुमिमा सैन्य अखडा बनाउने हो । त्यसकै परिणाम स्वरुप spp आएको हो । तसर्थ हामी यसको बिरुद्धमा संघर्ष गर्दै आइरहेका छौ । यो निरन्तर जारी छ । त्यसैले तपाईले भने जस्तै हाम्रो पार्टिलाई सिध्याउन राजनितिक, बैचारिक, आर्थिक, सांगठनिक आदि कोणबाट साम्राज्यवादी शक्ति तथा तिनका दलालहरु लागिपरेका छन ।

७)पक्राउ पुर्जी विरुद्ध सडकदेखी सदनसम्म बिरोध भएको पाइयो,यसमा के भन्नुहुन्छ?

राज्यको यस प्रकारको कदमका विरुद्ध सबै दल र दल भित्र रहेका सच्चा लोकतन्त्रबादी, बामपंथी, क्रान्तिकारी शक्तिहरुले चर्को बिरोध गरिरहेका छन । यसले सरकारलाई सच्चिन र सहमती कार्यान्वयन गर्न दबाब बढेको छ । यो सकारात्मक पक्ष हो ।

८) तीन बुदे सहमति भंग भयो भने तपाइँहरु कसरी अगाढी बढ्नुहुन्छ?

यदि राज्यले तीन बुदे सहमती भंग गरि हामी माथी दमन गर्ने कुचेष्टा गरेको खण्डमा हामी जनतामा फर्कन्छौ।

९)धन्यवाद तपाइँलाई!अन्त्यमा केही भन्न चाहानुहुन्छ?

हेर्नुहोस यति बेला देशी बिदेशी शक्ति केन्द्रहरु हाम्रो पार्टीका विरुद्ध तिब्र ढंगले लागी परेका छन । पार्टी र नेतृत्वलाई सिध्याउन सबै प्रकारका अस्त्रहरु प्रयोग गर्ने कुचेष्टा गरिरहेका छन । यसमा आम जनता तथा नेता कार्यकर्ताहरु सचेतताका साथ अघि बड्न जरुरी भएको छ।अन्तमा हाम्रो बिचार राख्न दिनु भएकोमा तपाईं र तपाईको मिडियालाई हार्दिक धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार