नेपालमा दलाल पुँजीवादको अन्त्य नगरी नेपाली जनताले मुक्ति पाउने छैनन् :प्रवक्ता प्रकाण्ड

डेली न्युजराप्ती       १९ चैत्र २०७९ ०८:०८ मा प्रकाशित     381 No Comments

देश संकटको भुमरीमा फसेको छ, जनजीविका चौपट भएको छ, यस्तो अवस्थामा नेकपाले समेत देश र जनताको लागि ठोस पहल लिन सकेन, किन ?
सही हो, देशले इतिहासमै सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको छ । राष्ट्रिय स्वाधिनतामाथि विदेशी हस्तक्षेप डरलाग्दो गरी बढेको छ । पहिलो घटना मंसिर ४ को चुनावपछि विदेशीले गरेको चलखेल, गरेका प्रस्ताव र हस्तक्षेपलाई हेर्ने हो भने यो प्रष्ट हुन्छ । सरकार गठन, राष्ट्रपति चुनाव र अहिले सरकारले विश्वासको मत लिने बेलासम्म जुन चलखेल भइरहेका छन्, यसले हाम्रो राष्ट्रियता खतरायुक्त छ भन्ने पुष्टि गर्छ । अहिले नेपालकै अस्तित्व रहन्छ कि रहँदैन भन्ने प्रश्न खडा भएको छ । अर्को, देशका संसदीय राजनीति केवल कुर्सी र सत्ताको निम्ति मात्रै हो भन्ने संसद्वादी दलहरुको प्रयोग र हर्कतबाट पुष्टि हुन्छ । उनीहरुलाई देश र जनताको मतलब छैन । अर्थव्यवस्था टाट उल्ट्याएको छ । विकासको त कुरै नगरौँ, सरकारले साधारण खर्चसमेत धान्न नसक्ने स्थिति पैदा भएको छ । देशको प्रशासनको लागि १२ खर्व खर्च लाग्छ तर यो वर्षको राज्यको कोष हेर्नु भयो भने १० खर्वभन्दा देखिँदैन । दुई खर्व घाटा हुन्छ । साधारण खर्चको बजेट त सरकारसँग छैन भने विकासको कुरा त एकादेशको कथाजस्तो हुने भयो । अर्को सामाजिक दृष्टिले हेर्नु भयो भने जनता कोही सुरक्षित छैनन् । बिहान घरबाट निस्केको मानिस बेलुका सुरक्षित घर फर्कन्छ भन्न सक्ने अवस्था छैन । महिला कुन बेला बलात्कृत हुने हुन्, बालबच्चा कुन बेला अपहरणमा पर्ने हुन्, वृद्धवृद्धाको हालत उस्तै छ । यी सबै कुरालाई नियाल्ने हो भने देश डरलाग्दो निराशा र संकटतिर छ । यसको समाधान गर्नु जरुरी छ । यो समस्या जन्मनुमा दलाल संसदीय व्यवस्था र दलाल पुँजीपति नै मुख्य कारक हो ।
तसर्थ, नेपालमा दलाल पुँजीवादको अन्त्य नगरी नेपाली जनताले मुक्ति पाउने छैनन् । यसको लागि नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिमार्फत निरन्तर संघर्ष गर्दै आएको छ ।
जनयुद्धकालीन मुद्दाहरु ब्युँताइँदैछ, गणतन्त्र नै सिध्याउने किसिमका खेलहरु भइरहेका छन् । यसमा पार्टीको रणनीति कस्तो हुन्छ ?
सही कुरा हो, पछिल्लो दिनमा राष्ट्र र जनताका विरुद्ध षड्यन्त्र धेरै बढेका छन् । विगतको क्रान्ति र परिवर्तनको निम्ति भएका आन्दोलनका विरुद्ध र त्यो आन्दोलनको नेतृत्व गर्ने शक्तिका विरुद्ध पनि षड्यन्त्र भइरहेका छन् । यसको पछिल्लो उदाहरण भनेको विगतको माओवादी शक्ति र जनयुद्धका विरुद्ध गरिएको षड्यन्त्र एबम् हस्तक्षेप र जनयुद्धलाई अपराधीकरण गर्ने षड्यन्त्रले देखाउँछ ।
अहिले भएका उपलब्धिहरु दस वर्षे जनयुद्धका उपलब्धिहरु हुन् । यो उपलब्धि हासिल हुनुमा जनयुद्धकै महत्वपूर्ण भूमिका छ, त्यसमा १९ दिने जनआन्दोलन र साधारणत् २००७ सालदेखि भएका आन्दोलनसँग पनि एकाकार छ । तर, उत्कृर्षमा पुगेको त जनयुद्ध नै हो । अहिले जनयुद्धको उपलब्धि, जनयुद्ध, जनयुद्धको नेतृत्व र शक्तिका विरुद्ध षड्यन्त्र भइरहेको छ । यो भनेको क्रान्ति, परिवर्तन, अग्रगमन, विकास, समृद्धि, जनताको मुक्तिको उत्कट चाहना, सहिदहरुले गरेको बलिदान, घाइते र अपाङ्गलगायत नेता, कार्यकर्ताले गरेको बलिदानविरुद्धको षड्यन्त्र हो ।
यसले के देखाउँछ भने जनता क्रान्ति र परिवर्तन चान्छन् तर शासकहरु विदेशी साम्राज्यवादीहरुको डिजाइनमा इतिहासको पाङ्ग्रा उल्टो दिशातिर गुडाउने मूर्खता गर्दैछन् ।
समग्रमा भन्नुपर्दा दलाल संसदीय व्यवस्थालाई यथास्थितिमा संरक्षण गर्ने मूर्खता र षड्यन्त्र गरिँदैछ । क्रान्ति र परिवर्तनका विरुद्ध नै षड्यन्त्र गरिँदैछ । यस किसिमका षड्यन्त्रविरुद्ध हामी क्रान्तिकारीहरु एकीकृत जनक्रान्तिमार्फत् लडिरहेका छौँ । र, हामी एकीकृत जनक्रान्तिलाई निर्णायक बनाउने र वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अघि बढिरहेका छौँ ।
देशमा दिनप्रतिदिन वैदेशिक हस्तक्षेप बढिरहेको छ । तपाईंहरुले एमसीसी आन्दोलन चर्काउँदा–चर्काउँदै संसद्बाट एमसीसी पास गरियो, एसपीपी लागू गर्ने प्रपञ्च हुँदैछ । यस विषयमा पार्टीले के सोचेको छ ?
मैले अघि पनि भनेँ, देशमा वैदेशिक हस्तक्षेप बढेको छ । देशमा शासन गर्ने शासक नालायक, निरीह र साम्राज्यवादका चाटुकार भएपछि देश र जनताको प्रतिनिधित्व गर्न सक्दैन भन्ने पुष्टि भएको छ ।
अहिले एमसीसी प्रोजेक्टमार्फत् देशव्यापीरुपमा अमेरिकी हस्तक्षेप भएको छ । आमनेपाली जनता, देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त, प्रगतिशील र लोकतन्त्रवादी शक्तिहरु यसका बिरुद्ध आन्दोलित हुँदाहुँदै पनि केही दलालहरुले कथित संसद भित्रबाट एमसीसी पास गरेको नाटक गरे । यसले नेपाली जनतालाई चिन्तित बनाएको छ । यसलाई खारेज गर्ने तहसम्म जान जनतालाई प्रेरित गरेको छ । त्यसैले एमसीसी नेपाली जनताले अनुमोदन गरेका छैनन् । दलालहरुले अनुमोदनको जुन नाटक गरेका छन्, त्यसको नेपाली राजनीतिमा कुनै अर्थ र औचित्य छैन ।
एमसीसीविरुद्ध पनि नेपाली जनता संघर्षमा उत्रने छन् । आगामी दिनमा यो संघर्षले राष्ट्रिय मुक्ति आन्दोलनको रुप लिनेछ । यो एकीकृत जनक्रान्तिको एउटा अङ्ग बन्दै उच्च आकार लिनेछ र एमसीसी र एसपीपी नेपालमा खारेज भएरै छोड्छ । किनभने यो नेपाली जनताको चाहना हो । हामी त्यसका विरुद्ध लडिराखेका छौँ । यो हाम्रो देशको स्वाधीनताको लागि समेत आवश्यक छ । यसका निम्ति एउटा शक्तिशाली मोर्चा बनाएर लड्नुपर्ने आवश्यकता पैदा भएको छ । त्यसको ऐतिहासिक पहल पार्टीले गरिराखेको छ ।
वित्तीय संस्था र लघुवित्तले जनताको उठिबास लगाएको छ, जनताको यो पीडामा नेपाल कम्युनिष्ट पार्टीले मलम लगाउन सकेन नि ?
यस प्रकारका घटनाहरु छिटपुटरुपमा डेढ–दुई वर्ष अगाडि नै देखिइसकेका थिए । विशेष गरेर लघुवित्त त्यसमा पनि अझ मिटरब्याजी केही तत्वले तराईमा सर्वसाधारण, सुकुम्वासी र गरिब किसानहरुको उठिबास लगाएका थिए । त्यसलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक नियाली रहेको थियो । हाम्रो नवौँ महाधिवेशनको तेस्रो केन्द्रीय समितिको पूर्ण बैठकले हामीले समग्र देशको स्थितिको विश्लेषण गर्दै राज्यका कुनचाहिँ निकायले र राज्यका आडमा कुन–कुन तत्वहरुले जनतालाई सबभन्दा बढी लूटखसोट र उठिबास लगाएका छन्, त्यसको बारेमा हामीले मिहिन ढङ्गले अध्ययन गरेका थियौँ ।
तराईमा मिटरब्याजी, पहाड र हिमालमा लघुबित् र सहरमा वित्तीय संस्था पञ्चायतका सामन्त, जिम्वाल र सुदखोरजस्ता भएका छन् । यिनीहरुको शोषण, अत्याचार र उत्पीडनले जनता आजित भएका छन् ।
यसका विरुद्ध हामीले राष्ट्रियरुपमा संघर्ष गर्नुपर्छ भनेर संघर्षको कार्यक्रम बनाएका थियौँ र त्यो संघर्ष अहिलेपनि जारी छ । जबसम्म वित्तीय संस्था, लघुवित्त र मिटरब्याजीको लुटपाट एबम् अत्याचार अन्त्य हुँदैन, तबसम्म पार्टीले संघर्ष गरिरहन्छ । जनताको मुद्दामा नेपाल कम्युनिष्ट पार्टीले संघर्षको योजना र कार्यक्रम बनाएर अगाडि बढेको छ, यसमा आमजनताको सहभागिता उत्साहबद्र्धक र व्यापकरुपमा होस् भन्ने नेकपाको अपिलसमेत छ । जुन हुँदै पनि गई राखेको छ
विगतमा देश र जनताको निम्ति लड्दा नेकपाले प्रतिबन्धको सामना गर्नुप-यो । तीन बुँदे सहमति भएको दुई वर्ष नाघिसक्दासमेत पूर्णरुपमा कार्यान्वयन भएको छैन, पार्टीले के सोचेको छ ?
अहिलेको कथित संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने व्यवस्था र यसका सञ्चालकहरु कति गैरजिम्मेवार छन्, कति जनविरोधी छन्, कति दलाल र प्रतिक्रियावादी छन् भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ । हामीले त्यसबेला देशको विशिष्ट राजनीतिक स्थिति, ओली सरकारले लगाएको दुई वर्ष प्रतिबन्ध भनौ या ओली र प्रचण्डको डबल नेकपाको नेतृत्वको सरकारविरुद्ध लड्यौँ । दुई वर्ष लडिसकेपछि एउटा नयाँ परिस्थितिमा तीन बुँदे सहमति गर्ने वातावरण बन्यो । तीन बुँदे सहमति भएको पाँच महिनासम्म ओली सरकार रहेको थियो । ओलीजीले त्यो सहमतिलाई न गम्भीररुपले लिनुभयो, न टुङ्गोमा पु-याउनुभयो । त्यसपछि हामीले देउवाजीको सरकार बनेको तेस्रो दिनदेखि लगातार वार्ता, बहस र छलफल ग-यौँ । कुरा सकारात्मक भयो, त्यसलाई कार्यान्वयन गर्न ढिलाई भइरहेको थियो । अन्तिममा चुनावको कार्यक्रम बनिसकेपछि देउवा सरकारले तीन बुँदे सहमतिलाई केन्द्रमा राख्दै अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणको निम्ति पेस ग-यो । तर, राष्ट्रपतिबाट त्यो प्रमाणीकरण गर्ने कार्य भएन, त्यसमा राष्ट्रपतिको आफ्नो मात्र जिम्मेवारी नभएर त्यहाँ एमालेको पनि चासो थियो । त्यसैले एमाले र राष्ट्रपतिको मिलेमतोमा त्यो अध्यादेश पास हुन सकेन ।
अहिले चुनावपछि प्रचण्डको नेतृत्वमा सरकार बनेको छ । हाम्रो पार्टीका महासचिव र म गएर सरकारसँग दुई वर्ष अघि गरेको सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन, राज्यको तर्फबाट हेर्ने हो भने यो बेइज्जतीपूर्ण कार्य भएको छ, यसलाई छिट्टै टुङ्गोमा पु-याउनुहोस् भनेका छौँ र उहाँले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । हामी सकारात्मक र आशावादी छौँ । यदि सरकारले तीन बुँदे सहमति कार्यान्वयन गरेन र भङ्ग ग-यो भने अहिलेको देशको संकटपूर्ण स्थितिमा अशान्ति मच्याउन खोजेको पुष्टि हुन्छ । देशमा अशान्ति मच्चाएर आफ्नो व्यवस्थाको रक्षा गर्ने र सत्ताको आयु लम्बाउने खेलतिर गयो भने हामी अर्को ढङ्गले सोच्छौँ र अगाडि बढ्छौँ ।
तपाईंको पार्टीको पहलमा समाजवादी देशभक्त मोर्चाको गठन भएको छ, यसको औचित्य के हो ?
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी पार्टी हो, यसले एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको छ । एकीकृत जनक्रान्तिमार्फत् यो देशको दलाल पुँजीपतिको दलाल संसदीय व्यवस्थाको अन्त्य गर्ने र त्यसको ठाउँमा जनताको वैज्ञानिक समाजवाद स्थापना गर्ने यसको उद्देश्य छ । यो अभिभारा पूरा गर्नको निम्ति विगतमा नेपालको राजनीतिक आन्दोलन, वामपन्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा इमानदारिताको साथ लगानी गरेका, बलिदानी गरेका, त्याग गरेका नेता र कार्यकर्तालाई एक ठाउँमा ल्याएर सहकार्य गर्नु जरुरी छ । यो अहिले देशको वस्तुगत आवश्यकता हो । अहिलेसम्म हाम्रो आफ्नै राजनीतिक आन्दोलनपूर्ण भएन र पूर्ण नहुनाले जनतालाई धोखा भयो । देशमा दलाल पुँजीपतिवर्ग आएको छ, यसले पूरा लुटमार गरिरहेको छ । यसको अन्त्य गर्नको निम्ति एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको पहलमा यो राष्ट्रको स्वाधीनता चाहने, अहिलेको दलाल पुँजीवादले खडा गरेको समस्याको अन्त्य गरेर त्यसको ठाउँमा जनताको व्यवस्था ल्याउने, दल, समूह, व्यक्ति, शक्ति र समूहसँग सहकार्यको जरुरी छ । त्यही कुरालाई केन्द्रमा राखेर चारवटा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको बीचमा लामो सहकार्य र छलफल गरेर संयुक्त मोर्चा बनाएका छौँ । यो समाजवादी देशभक्त मोर्चा बनाउनु आफैँमा महान् र ऐतिहासिक कार्य हो । सबै श्रमजीवि नेपाली जनताको राष्ट्रिय एकता निर्माण गर्नु अहिलेको आवश्यकता हो, त्यो आवश्यकता पूरा गर्ने समाजवादी देशभक्त मोर्चा गठन गरिएको हो । यसलाई हामी व्यापक बनाउँदै लैजान्छौँ । देशलाई दलाल पुँजीवादबाट मुक्त गरेर यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्ने संयुक्त मार्चाको तहसम्म यसलाई विस्तार गर्छौं ।
के यो कार्य समाजवादी देशभक्त मोर्चाबाट सम्भव छ र ?
सम्भव मात्र होइन यसको त विकल्प नै छैन । मोर्चा बनाएर संघर्ष अगाडि बढाउनुपर्ने अहिलेको वस्तुगत आवश्यकता हो, यसको विकल्प छैन । बरु यसलाई छिटोभन्दा छिटो आम बनाउने, राष्ट्रिय बनाउने र व्यापक बनाउनुपर्छ । यस मोर्चामा कम्युनिष्ट क्रान्तिकारी, प्रगतिशील, लोकतन्त्रवादी र देशभक्तहरुलाई छिटोभन्दा छिटो ल्याउनुपर्छ अर्थात् समाजवादी देशभक्त मोर्चालाई व्यापक बनाउनुपर्छ । यसको निम्ति हामी प्रयासरत छौँ । यसबीचमा विगतका माओवादी शक्तिसग हामीले गरेको छलफल यही मोर्चाको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न हो । संयुक्त मोर्चालाई राष्ट्रियरुपमा गठन गर्ने, राष्ट्रिय तहबाट गरिएको कोसिस हो । एमाले, एकीकृत समाजवादीलगायत पार्टीसँग गरेको छलफल पनि यही मोर्चा कै निम्ति हो । नेपालका राजनीतिक दलले जसले देशलाई तमाम संकटबाट मुक्त गर्छौं भनेर लागिराखेका छन्, उनीहरुले अनिवार्यरुपमा गर्नुपर्ने कार्य भएकाले देशभक्त मोर्चा औचित्यपूर्ण र आवश्यक छ ।
नेपाल कम्युनिष्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत् वैज्ञानिक समाजवादको लक्ष्य पूरा हुन्छ भनेर जनतालाई कसरी आश्वस्त पार्नु हुन्छ ?
वैज्ञानिक समजावादको विकल्प छैन । २०६२/६३ पछि दलाल पुँजीपतिवर्गबारे सत्तासीन बनाउने सम्राज्यवादीहरुको रणनीतिमा नेपालमा दलालहरुले जस्ताको तस्तै लागू गर्दा जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्र भनेर दिग्भ्रमित गर्ने कुचेष्ट गरियो । त्यो अहिले नाङ्गेझार भएको छ । यो संघीय लोकतान्त्रिक गणतन्त्र जनताको व्यवस्था होइन, राष्ट्रको होइन, दलाल पुँजीपतिवर्गको राष्ट्र र जनताका खिलाफमा अपराध गर्ने व्यवस्था हो । राष्ट्र र जनताको शोषण, दोहन गरेर, भ्रष्टाचार र कमिशनको खेल खेलेर रातारात आपूm र आफ्नालाई अरबपति बनाउने व्यवस्था हो । राष्ट्र र जनताको शोषण, दोहन गरेर, भ्रष्टाचार र कमिशनको खेल गरेर रातारात आपूm र आफ्ना आसेपासेलाई अरबपति बनाउने व्यवस्था हो भन्ने नेपाली जनतासामु छर्लङ्ग भएको छ । यो व्यवस्थाबाट नेपाली जनता आजित छन् । राष्ट्रियता, स्वाधीनता खतरामा परेको छ, विदेशी हस्तक्षेपले सीमा नाघेको छ, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक दृष्टिले समेत देश संकटग्रस्त भएको छ । त्यसैले यो व्यवस्थाको अन्त्य गर्नु अनिवार्य भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गर्नुपर्ने अहिलेको राष्ट्रिय आवश्यकता र आमजनताको चाहना भएको छ । यो व्यवस्थाको रक्षा अव त दलाल पुँजीपतिले पनि गर्न सक्ने नै छैनन् । त्यसकारण यो संसदीय व्यवस्थाको विघटन र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अनिवार्य भएको छ । इतिहासको यो आवश्यकतालाई परिपूर्ति गर्नका निम्ति नेपाल कम्युनिष्ट पार्टी ऐतिहासिक पहल लिन तयार छ । नेपालमा परिवर्तन र क्रान्तिलाई कसैले रोक्न सक्दैन । यो अनिवार्य छ, अबको विकल्प भनेकै एकीकृत जनक्रान्तिमारफत वैज्ञानिक समाजवाद स्थापना गर्नु हो ।
अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
देशको घटनाक्रम धेरै तीव्रतामा गइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीप्रति जनताका धेरै अपेक्षा, आकांक्षा र चाहना छन् । देश र जनताका विषयमा नेपाल कम्युनिष्ट पार्टीले कसरी सोचिरहेको छ र आफ्नो भूमिकालाई कसरी अगाडि बढाउँदछ, जनताको मुद्दाको कसरी सम्बोधन गर्न खोज्दैछ र देशका बग्रेल्ती समस्याको अन्त्य कसरी गर्न खोजेको छ भन्ने जिज्ञासालाई प्रष्ट पार्ने मौका दिएकोमा क्षेप्यास्त्र साप्ताहिकलाई बिशेष धन्यवाद दिन चाहन्छु ।

-क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार