उत्पादनलाई एकीकृत स्वामित्वका आधारमा थप विकास गर्दैछौं : सम्झना सी

डेली न्युजराप्ती       ६ चैत्र २०८० १३:३२ मा प्रकाशित     176 No Comments

नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी र आत्मनिर्भर जनतासहित आन्दोलन निर्माणको उदेश्यले देशका विभिन्न ठाँउमा कृषि उत्पादन गरिरहेको छ । उत्पादन कार्यलाई सामुहिक ढङ्गले सञ्चालन गर्ने र बजारको समस्यालाई पनि एकीकृत रूपमा समाधान गर्नेगरी कामहरू भैरहेको सन्दर्भमा दाङको घोराही नगरपालिका वडा नम्बर १६ मा सञ्चालित कृषि फर्म, यसको प्रारम्भिक अनुभव र आगामी योजनाबारे नेकपा केन्द्रिय सदस्य एवम्  जिल्ला इन्चार्ज सम्झनासङ्ग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौं ।

१) यहाँहरुले गरिरहेको सामुहिक कृषि फर्मबारे अलिकति भनिदिनुहोस् न!हामीले अहिले यहाँ ६ बिघा जमिनमा कृषि फर्म सञ्चालन गरिरहेका छौं । यसमध्ये ३ बिघामा आलुखेती छ । तोरी खेती भर्खरै भित्र्याइसक्यौँ । अघोल्लो साल यसमा धान खेती गरेका थियौं । अब नयाँ बाली के-के गर्ने भन्ने सोच्दै छौँ ।

२) यो पहिलो वर्षको कामको अनुभव कस्तो रह्यो, केही भन्नुहुन्छ ?हाम्रो गत १ वर्षको उत्पादनको अनुभव र प्रयोगबाट हामी निकै उत्साहित छौँ । यो हामी सबै साथीहरूको साझा मेहनतबाट प्राप्त उपलब्धि हो । गएको उत्पादनबाट हामी धेरै फाइदामा नभएपनि उपलब्धि भने अपेक्षित नै रह्यो । खेतीपाती गर्दा परम्परागत प्रविधि र भौतिक श्रममा नै भर पर्नुपर्‍यो । त्यसले केही अफ्ठ्यारो भने अवश्य भयो । अहिले आलु निकाल्ने बेला हुँदैछ ।यसमा पनि अपेक्षित परिणाम नै आउने हाम्रो अनुमान छ । उत्पादन सम्बन्धि जुन हाम्रो योजना छ, यसको शुरुआत भएको धेरै समय भएको छैन, त्यसैले एकैचोटि धेरै नाफाको अपेक्षा पनि छैन ।

३) यसरी पार्टीको योजनामा सामुहिक ढङ्गले कृषि कर्ममा संलग्न हुनुमा तपाईलाई के-के कुराले प्रेरित गर्‍यो ?

देशका युवाहरूमा बेरोजगारीका कारण पैदा गरेको जुन निराशा र श्रमप्रति आलस्यताको जुन स्थिति छ, विदेश पलायनताको जुन स्थिति छ, यो अवस्थालाई समेत मध्यनजर गर्दै हाम्रो पार्टीको नवौं महाधिवेशनद्वारा पार्टीलाई, कार्यकर्तालाई र जनतालाई आत्मनिर्भर बनाउने, उत्पादनका कामहरू योजनाबद्ध रूपमा अगाडि बढाउने जुन नीतिगत निर्णय गर्‍यौं यसले नै हामीलाई श्रमसङ्ग जोडिन प्रेरित गरेको हो । अहिले आर्थिक रूपमा देशमा जुन संकटपुर्ण अवस्था छ त्यसको सहि र दिगो समाधान पनि कृषि क्षेत्रको उत्पादन नै हो ।

४) उत्पादन कार्यमा पार्टी नेताकार्यकर्ता मात्रै हुनुहुन्छ कि जनताको पनि सहभागिता छ ?उत्पादनको काममा हामी पार्टीका नेताकार्यकर्ता त हुने नै भयौं, स्थानीय जनता र अरु सचेत तप्काको पनि हामीलाई सहयोग र सहानुभूति छ । हाम्रो उत्पादन फर्मको औपचारिक उद्घाटन कार्यक्रममा एकजना ७० वर्षिय बृद्ध आमाले निकै खुशी हुँदै आशिर्वाद र धन्यवाद दिनु भएको थियो । यसले यो फर्म वरिपरिका जनसमुदायमा समेत सकारात्मक प्रभाव पारेको छ । गरे के हुन्न र भन्ने आशाको सञ्चार गरेको छ । अब यसलाई सफल पार्नुपर्छ भन्ने जनताको सुझाव छ ।

५) देशका धेरै ठाँउमा ठूलो परिमाणमा उत्पादन कार्य गर्दै हुनुहुन्छ, यसको बजार व्यवस्थापनको योजना के छ ?

बजार व्यवस्थापनका लागि देशका विभिन्न ठाउँमा संकलन केन्द्र बनाएर व्यवस्थित गर्ने पार्टीको योजना छ । यसका लागि भर्खर कृषि सहकारी पनि दर्ता गरिसकेका छौँ । हाम्रोमा विदेशबाट वस्तुहरु आयात गरेर स्थानीय किसानलाई निराश बनाउने समस्याहरु छन् । यो समस्यालाई पनि समाधान गर्नेगरी  देशैभर संकलन केन्द्र मार्फत काम गर्दैछौं । यसलाई सर्वसुलभ मुल्यमा उपभोक्ताहरु कहाँ पुर्‍याउने ढङ्गले काम गर्छौं ।

६) आयातीत कृषिजन्य वस्तुसङ्गको बजार प्रतिस्पर्धाले हाम्रो उत्पादनमा चुनौति थपेको जस्तो लाग्दैन ?

निश्चय नै बाहिरबाट विशेषगरी भारतबाट आउने सस्तो कृषि वस्तुले नेपाली किसानलाई समस्या पारेको छ ।हाम्रो लागत मुल्यभन्दा कम मुल्यमा बाहिरबाट आयातीत वस्तु हाम्रै बजारमा बिक्री हुने स्थिति छ । त्यसले किसान र समग्र कृषि अर्थतन्त्रमा निकै चुनौती थपेको छ । हामीले चितवनका किसानले टमाटरहरु सडकमा फालेको देखेका छौँ, काठमाडौँका चोकमा दुध पोखेको देखेका छौं तर आयातीत वस्तु मात्रै आफैमा समस्या होइन । समस्या हाम्रो राज्य र त्यसको नेतृत्व गरिरहेका दलहरू किसानप्रति उत्तरदायी हुन नसक्नुमा छ । यसबारे हामी संघर्ष गर्दै अगाडि जान्छौं ।राज्यव्यवस्था निरीह भएकोले नै अहिलेसम्म यो समस्या समाधान हुन सकेन ।

बाहिरबाट आयातीत वस्तुहरुमा मापदण्डविना नै बिषादीहरुको प्रयोग भैरहेको र त्यसले नेपाली जनताको जनस्वास्थ्यमा गम्भीर समस्याहरु सिर्जना गरिरहेको कुराहरू पनि आइरहेका छन्, यसबारे हामी विस्तृत र थप अध्ययन गर्दैछौं । क्वारेन्टाइन नगरी नै बाहिरबाट कृषि वस्तु ल्याउने कुरा गलत छ । हामीले हाम्रो उत्पादनलाई कसरी प्राकृतिक र स्वस्थ बनाउन सकिन्छ, त्यो पनि योजना बनाउछौँ ।

७) यहाँहरुले राज्य वा अन्य कुनै निकायबाट कुनै सहयोग/अनुदान प्राप्त गर्नु भएको छ ?त्यस्तो ठुलै अनुदान त प्राप्त गरिरहेका छैनौं तर सबैजना हाम्रो काममा सकारात्मक नै हुनुहुन्छ । केही समय अघि प्रमुख जिल्ला अधिकारी ….. हाम्रो कामबाट प्रभावित हुँदै धान काट्न आउनुभएको थियो । त्यस्तै कृषि अनुसन्धान परिषदले सिचाइका लागि पानीको टुवेल जडान गरिदिने प्रतिबद्धता जनाएको छ । क्रमशः सबैतिरबाट आवश्यक सहयोग हुने विश्वास छ ।अहिले आर्थिक लगानीको अभावले यो फर्ममा आवश्यक पर्ने संरचनाहरु समेत बनाउन सकिएको छैन तर पनि हामी निरन्तर अघि बढ्ने छौँ । हामीले गरेको कामबाट केही मान्छेहरु आत्तिएको जस्तो पनि लाग्छ । केहिदिन अघिमात्रै हाम्रो उत्पादनबारे बुटवल टुडेले एउटा फिचर सामाग्री नै प्रशारित गरेको थियो, पछि त्यो हटाइयो ।

८) नीजी ढंगले कृषि काम त परम्परागत रूपमा हुँदै आएको थियो तर तपाईंहरु सामुहिक ढङ्गले गर्दै हुनुहुन्छ, यसमा के भिन्नता महसुस गर्नु भयो?हाम्रो परम्परागत पेशा नै कृषि हो, त्यो हाम्रा पुर्खाहरुले गर्दै आएका थिए तर हामीले धेरै कुराको अध्ययन गर्दै सामुहिक ढङ्गले कृषि उत्पादन गर्ने योजना बनायौँ । यसलाई एकीकृत आर्थिक स्वामित्वका आधारमा थप विकास गर्दै जानेछौँ ।

सामुहिक उत्पादन सम्बन्धि कामले हामीलाई थप उर्जा पनि दिएको छ । हामीले यहाँ २० जना जतिको टिम परिचालन गरेर कामको शुरुआत गरेका छौं । एक्लाएक्लै काम गर्ने तरिका भन्दा यो अलि भिन्न पनि छ । यसले पार्टी नेताकार्यकर्ताबीच सामुहिक भावना र एकता समेत पैदा गरेको छ । हुन त जनयुद्धको समयमा पनि कम्युनहरु सञ्चालन गरेका थियौं । ती शान्ति प्रक्रियापछि विघटन भएर गए । हाम्रो कृषि फर्म पूर्ण सामुहिक भन्दा पनि एकीकृत स्वामित्वका आधारमा लैजाने योजना छ । नेता हुनु भनेको श्रमबाट कट्ने र अरुमाथि प्रभाव जमाउने भन्ने पुरानो चलनलाई समेत सामुहिक उत्पादन कार्यद्वारा रुपान्तरण गर्न सकिन्छ, भत्काउन सकिन्छ भन्ने हामीलाई थप विश्वास पैदा गरेको छ ।

९)  उत्पादनमा थप दक्षता ल्याउन मेसिन, औजार लगायत केहि प्राविधिक पक्षको पनि आवश्यक पर्ला, यसलाई कसरी संयोजन गर्दै हुनुहुन्छ ?

हाम्रो उत्पादन कार्यलाई यान्त्रिकीकरण गर्ने र प्राविधिक जनशक्तिसङ्ग जोड्ने काम गर्नैपर्छ । अहिले स्थानीय सीप, अनुभव र सिर्जनशीलतामा काम गरिरहेका छौं ।स्थानीय केही व्यवसायीसङ्ग प्राविधिक काममा सहकार्य पनि गरेर काम गर्‍यौं तर क्रमशः हाम्रो खेतीलाई आधुनिकीकरण कसरी गर्दै जाने भन्ने चुनौती छ । कृषि औजार, बिउ, बिषादी, सिचाइ प्रविधि र अन्य प्रविधिक सहयोगका लागि राज्यसँग पनि माग गर्छौँ  र अन्य ढंगले पनि पहल अगाडि बढाउँछौँ ।

प्रस्तुति : शेरबहादुर विश्वकर्मा 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार