भालुबाङमा ‘जेन-जी विद्रोह , नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया सम्पन्न

डेली न्युजराप्ती       ८ आश्विन २०८२ १५:४७ मा प्रकाशित     914 No Comments

हेमन्तप्रकाश वली ।
असोज ७,भालुबाङ ।
नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती गाउँपालिकाले भालुबाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार राप्ती गाउँपालिका -१ स्थित रामजहदी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा जेन-जी बिद्रोह , नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष कुमार बुढाले राज्यको वर्षौंदेखिको लुटपाटका विरुद्ध जेन-जीहरुले बिद्रोह गरेको बताए ।

उनले भने– ‘पुराना पार्टीहरुको वर्षौंदेखिको लुटखसोट सहनै नसक्ने थियो । राज्य जनताप्रति उत्तरदायी थिएन। भ्रष्टाचार निर्लज्ज ढंगले आएको थियो । देश एउटा उकुसमुकुसको वातावरणमा थियो । हामिले पहिल्यै भनेका थियौँ कि देशमा बिद्रोहको आगो बल्दैछ तर सत्ता सञ्चालकहरु सत्ता र शक्तिको उन्मादमा मख्ख थिए । जेन-जी पुस्ताले भ्रष्टाचारका विरुद्ध बिद्रोह गरेको हो । तर यो बिद्रोह नेतृत्वविहिन भयो । यसमा सचेततापुर्वक घुसपैठ भएको कुरा साँचो हो । यो बिद्रोहले केहि हदसम्म परिवर्तन गरेकै हो तर आन्दोलनकारीको हातबाट सत्ता गुम्यो। यसमा विदेशि शक्तिको डिजाइन छ , आन्दोलन आवश्यक थियो । भ्रष्टाचारका विरुद्धको बिद्रोह र शुसासनका पक्षमा भएको यो आन्दोलनप्रति पार्टीको सकारात्मक धारणा छ । जेन-जी बिद्रोहमा पार्टीको पुर्ण समर्थन छ तर आन्दोलनमा घुसपैठ भएकै हो ।’

‘राष्ट्रिय स्वाधीनताको प्रश्न अझै पेचिलो बनेर आयो , नेता बुढाले थप भने – ‘जेन-जी आन्दोलन हाइज्याक भएको छ । राजनीतिक दलहरु सचेत बन्न्नुपर्दछ । देशको निकास राजनीतिक शक्तिले दिनुपर्दछ । यसको निकास अग्रगामी हुनुपर्दछ । यो संविधान पनि फेल भइसकेको छ। जेन-जी बिद्रोहपछि विकसित भएको नयाँ परिस्थिति हल गर्नको लागि अब यहीँ व्यवस्थाबाट , पुरानै दलबाट सम्भव छैन् । हाम्रो निष्कर्ष भनेको तत्काल आन्दोलनरत शक्तिसहित सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्दछ । अबको एकमात्र विकल्प भनेको नेपाली बिशेषताको समाजवादी राज्यव्यवस्थाको स्थापना नै हो।’

नेता बुढाले अहिलेको राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक समस्याहरुको समाधान नेपाली विशेषताको समाजवादले गर्ने जिकिर गरेका थिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य होमप्रसाद शर्मा , नेकपा वामपंथिका नेता मुकुन्द रोका , मगर संघका केन्द्रीय सदस्य भिमप्रकाश सी , नेकपा एमाले राप्ती गाउँपालिका इन्चार्ज जगत पोख्रेल ,जेन-जी प्रतिनिधि कृष्ण पुन , काष्ठ उधोग व्यापारी गञ्ज बहादुर विष्ट , बुद्धिजीवी तथा शिक्षक जिवराज पौडेल , नेपाली कांग्रेस राप्ती-१ का सभापति कर्ण बहादुर पुन , दलित संजाल राप्ती गाउँपालिका अध्यक्ष खगेन्द्र परियार , होटल व्यवसायी भिमार्जुन सुवेदी लगाएतले सल्लाह सुझावहरु राखेका थिए।

कार्यक्रममा सुझाव राख्दै वक्ताहरुले नेकपाले उपयुक्त समयमा उपयुक्त विषयको अन्तरक्रियाको आयोजना गरेकाले धन्यवाद व्यक्त गरेका थिए ।

वक्ताहरुले राज्य जनताको , युवाहरुको बन्न नसक्दा जेन-जी बिद्रोह भएको बताएका थिए ।
तर यो बिद्रोहमा घुसपैठ भएको साथै अन्तरिम सरकारपनि जेन-जीको सहभागितामा हुन नसक्नु दुखद रहेको बताए ।

मुलुक वैदेशिक हस्तक्षेपमा फस्ने खतरा बढेकाले राष्ट्रिय स्वाधीनताको पक्षमा हुने लडाइँ आम नागरिकको लडाइँ हुने समेतमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा विषय प्रवेश गराउँदै नेकपाका केन्द्रीय सदस्य सविन सीले नेपालको राज्यसत्ताले युवाहरुको आकांक्षा सम्बोधन गर्न नसक्नु नै जेन-जी बिद्रोहबाट बिष्फोट भएको बताए ।
उनले जेन-जी विद्रोहमा विदेशी शक्तिकेन्द्र र देशका पश्चगामी तत्वहरुबाट घुसपैठ भएको समेत बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विक्रम सी , सुरज सी लगाएतको समेत आतिथ्यता रहेको थियो ।

नेकपा राप्ती गाउँकमिटीका सेक्रेटरी अशोक सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सचिवालय सदस्य अदिप सीले गरेका थिए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका सबै पालिकाहरुमा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेको जानकारी दिएको छ ।
मंगलबार नै पार्टीको बबई गाउँकमिटीको आयोजनामा हापुरेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बबई गाउँपालिकाको हापुरेमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन प्रमुख वक्ता पार्टीका पोलिटब्युरो सदस्य शितल सीले गरेका थिए ।

पार्टीले मंगलबार नै जिल्लाको शान्तिनगर गाउँपलिका र लमही नगरपालिकामा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

पार्टीले असोज ८ गते जिल्लाको दंगिशरण गाउँपालिका , तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नेकपाले असोज ९ गते घोराही उपमहानगरपालिका र असोज १० गते तुलसीपुर उपमहानगरपालिकाको बिजौरीमा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार