विप्लवका युवा अध्यक्ष पाटनलाई प्रश्न:देशभरका लघुवित्तका साइनवोर्डहरु आगो किन लगाएको?

डेली न्युजराप्ती       १० असार २०८० १८:४४ मा प्रकाशित     1394 No Comments

हेमन्त प्रकाश ओली ।
असार १० , दाङ ।
विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले एकैदिन देशैभरिका लघुवित्तिय संस्थाहरुमाथी कारवाही गरेको छ ।
संगठनको केन्द्रीय कार्यक्रम अनुसार आज आइतबार देशभरका लघुवित्तिय संस्थाहरु माथी कारवाही गरिएको संगठनले जनाएको छ ।

संगठनले पुर्वको झापादेखी पश्चिम कर्णालीसम्मका लघुवित्तिय संस्थाहरुमाथी तालाबन्दी गर्नुकासाथै संस्थाका साइनबोर्डहरु ‘फौजी शैली’ एकैदिनमा जलाएको हो ।

एकैदिन देशभरिका लघुवित्तिय संस्थाहरुमाथी युद्धकालिन फौजी शैलिमा आक्रामक कारवाही उत्रीएपछी धेरैले विप्लव निकट युवा संगठन नेपालले अबको संघर्षको निसाना लघुवित्त र मिटरव्याजीहरुलाइ बनाएको अनुमान गर्न थालेका छन् ।
यता शनिवार नेकपाले झापाका मिटरव्याजी नवराज विमली र भैरहवा सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मिलनचोक निवासी मिटरब्याजी रमानन्द बानियाँको घर पार्टीद्वारा नियन्त्रणमा लिइएको घोषणा गरेको थियो ।

यसैबिच हामिले विप्लव निकट युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीसंग यस विषयमा छोटो फोन संवाद गरेका छौँ । डेलिन्युजराप्तिका सम्पादक हेमन्त प्रकाश ओलीले अध्यक्ष पाटन सीसंग गरेको संवादको पूरा अंश यसप्रकारको छ:-

तपाईहरुले देशैभरी रहेका लघुबित्तहरुमा तालाबन्दी गरिरहनु भएको छ , खास के कति कारणले यस्ता कारवाहीहरु चलाइरहनु भएको छ ?
:-पहिलो बुझ्नुपर्ने कुरा के छ भने हाम्रो संगठन देशका सम्पूर्ण नागरिकहरुको तमाम प्रकारका समस्याहरु संग हातेमालो गर्दै आइरहेको छ । पछिल्लो चरण हाम्रा किसान, मजदुर, महिला वा गरिखाने बर्गहरुलाई लघुबित्त र मिटरब्याजिहरुले नियम विपरित, मानवता विपरीत र उनिहरु आफैले कबुल गरेका सम्झौताहरु विपरीत, हतोत्साहित गर्दै आइरहेका छन । यति मात्रै होइन आज गाउँका महिला दिदिबहिनिहरु, किसानहरु घरबार बिहिन बनिरहेका छन । कतिपय किसानहरु आत्महत्या गरिरहेका छन, हजारौंको संख्यामा पिडितहरु डिप्रेसनको सिकार बनिरहेका छन् । यसो किन भयो त? ॠणिले जति तिर्दा पनि ॠण किन चुक्ता हुदैन? यो गम्भीर बिषय छ । यसो किन हुन्छ भने लघुबित्त र मिटरब्याजिहरुले राज्यको नियमको सामान्य रुपमा पनि पालना गरेको पाइदैन । ॠण दिदा पूरा गर्नुपर्ने नियमहरु, नियमानुसार ब्याजदर लिएको पाइदैन, नियमबिपरित ब्याजलाई मुल धनमा बदली पुन ब्याज लिने गरिरहेका छन, ॠण प्रवाह गर्दा चर्को कमिसन लिने गरिरहेका छन्। बरु नियम बिपरित ॠण प्रबाह गर्ने, नियम बिपरित ब्याज असुल गर्ने, चर्को जरिवाना लिनुका साथै नियमा पूरा नगरी ॠणिहरुलाई डर, धम्की, त्रास, देखाउने र पिडितहरुको सम्पती हड्पने कार्य भईरहेको छ । त्यसैले हाम्रो संगठनले राज्यको ध्यानाकर्षण गर्न र लघुबित्त र मिटरब्याजिहरुको ज्यादतीलाई नियन्त्रण गरि पिडितहरुलाई न्याय दिलाउन यो दवाबमुलक कार्यक्रम गरिरहेका छौं ।

तपाईहरुको संगठनले भने जस्तो लघुबित्त र मिटरब्याजिहरुलाई राज्यले नियन्त्रण वा कार्बाहिको दायरामा ल्याएन भने के गर्नु हुन्छ ?

:-हाम्रो यो प्रारम्भिक संघर्ष मात्र हो, हामी राज्यलाई पनि सचेत गराईरहेका छौं र लघुबित्त र मिटरब्याजिहरुलाई पनि सचेत गराइरहेका छौं । यदि जनतालाई उचित न्याय दिएन भने लघुबित्त र मिटरब्याजिहरुको आतंक रोकिएन भने हाम्रो संगठन जनताको साथमा संधै रहने छ । तसर्थ: जनताको न्यायको लागि चरणबद्ध जनआन्दोलन, जनसंघर्षहरु हुने छन र त्यसको नेतृत्व हाम्रो संगठनले गर्ने छ । एउटा महत्त्वपूर्ण कुरा के हो भने यदि राज्यले चाहाने हो भने यी समस्याहरुलाई नियन्त्रण गर्न सक्दछ तर राज्यले चाहादैँन किनकि यी तमाम समस्याहरुको संरक्षक स्वयम् राज्य नै छ ।

धन्यवाद हजुरलाई । अन्त्यमा केही अरु थप भन्नुहुन्छ?
:-धन्यवाद हजुर अनि हजुरको मिडियालाइ। हामी जनताको बिचमा बसेर जनताको लागि संघर्ष गर्दैछौं त्यसका लागि तपाइँहरुको सञ्चारमाध्यमबाट सबै सञ्चारकर्मीहरुलाइ ऐक्यबद्धताका लागि अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार