समाजवादका आर्थिक प्रश्नहरु : सन्दर्भ नवौँ महाधिवेशन

डेली न्युजराप्ती       १९ श्रावण २०७९ ०६:५५ मा प्रकाशित     307 No Comments

विचार:अनिल शर्मा(विरही)
नेपाल कम्युनिष्ट पार्टीले नवौँ महाधिवेशन सम्पन्न गर्दैछ । पार्टी भनेको विचार, शृंखलाको पुञ्ज हो । यो संगठन पनि हो । त्यसैले महाधिवेशनमा विचारको विकास र समृद्धीकरण हुनुपर्छ । हाम्रो पार्टीको १३ औँ पूर्ण बैठकले विषयगत समूहहरु गठन गरेको छ । जसमा आर्थिक संगठन, सैन्य, संस्कृति आदि विषयहरु रहेका छन्् । हामीले सामूहिक प्रयत्नद्वारा समाजवादी अर्थव्यवस्थाका सफलता, समस्या र चुनौतीहरुको स्वरुप निरुपण गर्ने प्रयत्न गर्ने छौँ । यो लेखमा यही विषयमा संक्षिप्त चर्चा गरिनेछ ।

क) ऐतिहासिक पृष्ठभूमि ः मान्छेले प्रकृतिसँगको संघर्षमा आफूलार्ई अरु प्राणि भन्दा श्रेष्ठ सावित गर्दै आयो । यो जीवनयापनका साधनाको खोजी र त्यसको समृद्धिकरणकै प्रक्रिया थियो । चार्वाक दर्शनका कपिल ऋषिले अ–मादक पदार्थको संयोजनबाट मद–शक्ति बनेझैँ पदार्थको संयोजनबाट प्राणि बन्दछ– भनेका थिए । यसरी पूर्वीय दर्शनमा भौतिकवादी चश्माले समाज व्यवस्थाका समस्याहरु खोतल्ने पर्गेल्ने प्रयास भएथ्यो । पश्चिमी सभ्यतामा प्लेटोले निजी स्वार्थ नभएका बुद्धिजीविहरुले राज्य सञ्चालन गर्नुपर्ने धारणा राखे । प्लेटोले महिलाहरुलार्ई युद्धमा भाग लिन र घोडचढी तालिम दिनुपर्ने बताए । बालबच्चा, महिला र जमिन राज्य मातहत हुनुपर्ने बताएका थिए । यी बहसहरुको अन्तर्यमा कस्तो समाज व्यवस्था निर्माण गर्ने भन्ने चिन्ता थियो । धर्मको आडमा सुधारका प्रयासहरु भए । जिसस क्राइष्ट, मोहम्मत, बुद्ध आफ्नो समयका समाज सुधारक नेताहरु थिए । भौतिकवादको विकाससँगै काल्पनिक समाजवादीहरु देखिए । बेलायतमा भएको चार्टिष्ट आन्दोलनले राज्यसत्ता र प्रणालीमा नयाँ खोजेको मार्ग देखियो ।

ख) माक्र्स र अर्थव्यवस्था ः कार्ल माक्र्सले मानव जातिको सम्पूर्ण इतिहासको ऐतिहासिक, भौतिकवादी दृष्टिले व्याख्या गर्नु भयो । उहाँले ‘पुँजी’ कृतिमा कसरी पुँजीपतिवर्गले कसरी अतिरिक्त मूल्यको सिर्जना गर्छ– भन्ने कुराको उद्घाटन गर्नुभयो । मजदुरको श्रमवाहेक आफ्नो भन्नु केही हुँदैन भन्नुभयो । त्यसैले माक्र्सले ‘विश्वका मजदुरहरु एक होऔँ ।’ भन्ने नारा कार्यक्रमिक बनाउनुभयो । उत्पादन प्रक्रिया वस्तुतः सामुहिक भएको तर स्वामित्व भने निजी भएको कारण उत्पादक शक्तिको विकासमा अवरोध भइरहेको बताउनुभयो । त्यसैले माक्र्सले सामूहिक स्वामित्व कायम भएको अर्थव्यवस्थाको वकालत गर्नुभयो । मानव जाति स्वभावतः साम्यवादको दिशामा गइरहेको व्याख्या माक्र्सले गर्नुभयो । पुँजीवादको गर्भमा त्यसको संहारक सर्वहारावर्गको जन्म भएको माक्र्सको निष्कर्ष थियो ।

ग) लेनिन र समाजवादी अर्थ राजनीति ः कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित भएपछि त्यसको व्यवहारिक अभिव्यक्तिका प्रयासहरु भए । युरोपमा लाखौँलाख मजदुरहरु कम्युनिष्ट पार्टी र त्यसको भ्रातृ संगठनमा संगठित हुन र सरकारविरुद्ध उत्रिन थाले । संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीको बढ्दो प्रभाव देखिन थाल्यो । पुँजीपतिहरु आपसी शत्रुताको प्रक्रियाबाट गुज्रनुपर्ने, सर्वहारावर्ग विश्वव्यापी एउटै केन्द्रबाट परिचालन हुने अवस्था सिर्जना भयो । त्यस कारण पुँजीपतिवर्गले लोककल्याणकारी राज्यको अवधारणा ल्यायो । आवधिक निर्वाचन, स्वास्थ्य बीमा, जीवन बीमा, धितोमा ऋण, बेरोजगार भत्ता, कानुनी राज आदि लागू गरियो । त्यसपछि राज्यले पुँजीपति र मजदुरमा विभेद नगर्ने र समान दायित्व बहन गर्नुपर्ने अवधारणा ल्याइयो । राज्य मजदुरवर्गको पनि हो, मजदुरको पनि आफ्नो देश हुन्छ । उसले पनि आवधिक निर्वाचनद्वारा आफ्नो सरकार बनाउन सक्छ भन्ने धारणा आयो । त्यसपछि कार्ल माक्र्सको ‘मजदुरको आफ्नो देश हुँदैन, संसारका मजदुर एक होऔँ’ नारा खण्डित हुन थाल्यो । अन्धराष्ट्रवादको उदय कम्युनिष्ट आन्दोलनभित्र भयो । पहिलो विश्वयुद्धमा युरोपका धेरैजसो सामाजिक जनवादी पार्टीहरु प्रतिक्रियावादी सरकारको पक्षमा उभिए । उनीहरु अर्को देशका मजदुरको विरुद्ध लडे । विश्वका मजदुर एक भएनन् । आपसमा लडे । कार्ल माक्र्सले पुँजीवाद, साम्यवादमा जान्छ भन्नुभएको थियो । तर, पुँजीवाद साम्यवादमा गएन, साम्राज्यवादमा गयो । उत्पादन प्रक्रिया सामूहिक र स्वामित्व निजी हुनुपर्ने मुख्य समस्या हो र यस्तो उत्पादन सम्बन्ध नै उत्पादक शक्तिको विकासमा मुख्य समस्या हो भन्ने माक्र्सको भनाई सही नै छ । पुँजीवाद र निजी स्वामित्व नै मुख्य समस्या हो भन्ने कुरा अझ पुष्टि भइरहेको छ ।

लेनिनले साम्राज्यवाद पुँजीवादको मरणासन्न अवस्था भन्नुभएको थियो । तर, यो त मरेन, अझै बढी आक्रामक, हिंसात्मक बन्दै गयो । यसले भूमण्डलीकृत रुपमा आफूलार्ई विकास ग-यो । रुसी अर्थव्यवस्थाले ‘उद्योगमा राष्ट्रियकरण र कृषिको सहकारीकरण’ नीति लियो । त्यसले पुँजीवादले कैयौँ शताब्दीमा गरेको विकास समाजवादले केही दशकमा ग-यो । तर, समाजवादी अर्थप्रणालीमा आत्मप्रोत्साहन, दायित्वबोध, आन्तरिक ऊर्जा कमजोर हुँदै गयो । आलश्यता बढ्दै गयो । भ्रष्टाचार मौलायो । क्रान्तिको राप घट्दै जाँदा जनजागृति पनि घट्दै गयो । पुँजीवादभन्दा कैयौँ गुणा श्रेष्ठ र जनमुखी भए पनि समाजवादी अर्थव्यवस्थामा गम्भीर समस्याहरु देखापरे । सरकारी उत्पादन प्रक्रियाले उत्पादकत्वमा लगातार विकास गर्न र कुशल व्यवस्थापन गर्न सकेन वा निरन्तरता दिन सकेन । स्थिरता पैदा भयो, स्थिरता आफैँँमा पछौँटेपन हो । पुँजीवादले निजी प्रतिस्पर्धालार्ई प्रोत्साहित गर्दा सरकारी क्षेत्रले उत्पादकत्व र कुशलताद्वारा प्रतिस्पर्धा गराउन सकेन । उपभोक्ताको संवेदनशीलता र व्यापक सामाजिक परिवेशमा समस्याको समाधान खोज्न सकेन ।

घ) चीनको अनुभव र नयाँ प्रयोग ः माओत्सेतुङले रुसी अर्थव्यवस्थाको प्रशंसा गर्नुभयो । स्टालिनका अर्थराजनीतिक विषयमा लेखिएका समाजवादको आर्थिक समस्या र राजनीतिक अर्थशास्त्र ः एक पाठ्यपुस्तक दुईवटा कृति अध्ययन गर्न प्रेरित पनि गर्नुभयो । तर, रुसमा भएको प्रतिक्रान्ति र आफ्नै देशमा भएको प्रतिक्रान्तिकारी हर्कतपछि माओले १९६० पुग्दा नपुग्दै रुसी अर्थनीतिको आलोचना गर्नुभयो । वर्गदुश्मनलार्ई एक पटक समाप्त गरेपछि र राजकीय स्वामित्वमा ठूलो परिणाममा आधुनिक उद्योगको स्थापना गरेपछि आर्थिक क्षेत्रमा पुँजीपतिवर्गले निर्णायक भूमिका खेल्न सक्दैन र राजनीतिक क्षेत्रमा पनि टाउको उठाउन सक्दैन भन्ने स्टालिनको सोच थियो । उद्योगको राष्ट्रियकरण र जमिनको सहकारीकरण गरेपछि शोषण र वर्ग उत्थानको आधार रहन्न भन्ने सोचमा स्टालिन हुनुहुन्थ्यो । तर, माओले १९६६ मा रुसी अर्थनीतिको आलोचना गर्नुभयो । राज्यको नेतृत्वमा गरिने विशाल र केन्द्रीकृत लगानीले संशाधनको ठूलो मात्रालार्ई निल्ने र जनता निरीह बन्न सक्ने खतरा माओले देख्नुभयो । त्यसैले कृषि र लघु उद्योगमा प्रोत्साहन गरेर जनताको हातमा अधिक अधिकार तथा जिम्मेवारी दिनुपर्ने निष्कर्ष माओको थियो । अर्थप्रणालीलार्ई सामाजिक सम्बन्ध र अन्तरविरोधको एक शृंखला मानियो । संशोधनवादीहरुले ‘धनी बन्नु गौरवको कुरा हो’ भनिरहेको बेला माओले ‘जनताको सेवा गर’ भन्नुभयो । देङ मण्डलीले ‘बिरालो सेतो होस् कि कालो, त्यसले मुसा मार्नुपर्छ’ भनिरहेको बेला माओले ‘राजनीतिलार्ई दह्रोसँग पक्र, उत्पादन बढाऊ’ भन्नुभयो । चीनका यी बहस र अनुभवहरु समाजवादी समाजमा कस्तो अर्थनीति अवलम्बन गर्ने भन्ने बहस थिए । माओले ‘सोभियत अर्थतन्त्रको आलोचना’ कृतिमा रुसी अर्थतन्त्रको आलोचना गर्दै ‘शान्त समुद्र र मन्द हावाको वातावरणमा समाजवादको निर्माण गर्न सकिन्न’ भन्नुभएको छ । ज्वारभाटा र आँधीबेहरीको बीचमा अर्थात् वर्गसंघर्ष र दुई लाईन संघर्षको बीचमा समाजवादको निर्माण गर्नुपर्ने धारणा माओको थियो । माओले समाजवादी समाजलार्ई ‘पुँजीवादले लगाएको घाउको दाग र साम्यवादको बीउ’ दुवै विशेषता भएको चरण भन्नुभयो ।

ङ) पछिल्लो चुनौतीहरु ः पुँजीवाद गम्भीर संकटबाट गुज्रिरहेको कुरा भनिरहनु पर्दैन । पुँजीवादलार्ई ‘अन्तिम सत्य’ भनेका फ्रान्सीस फुकुयामाले इराकमा भएको अमेरिकी आक्रमण लगत्तै ‘सपनाको मृत्यु’ भएको भन्दै निराशा व्यक्त गरेका थिए । त्यसैगरी, अर्का पुँजीवादी अर्थशास्त्री रबर्ट हेल्ब्रोनरले त पुँजीपतिवर्गको आपसी गला रेट्ने प्रतिस्पर्धा (Throat Slitting Compettion)लार्ई नरोके पुँजीवादलार्ई इतिहासले दण्डित गर्ने चेतावनी दिएका छन्् । पुँजीवादले बजार संयन्त्र बदल्नुपर्ने, गला रेटारेट गर्ने प्रतिस्पर्धाको विकल्प खोज्नुपर्ने बताएका छन्् । पुँजीवादको श्रेष्ठताको केन्द्रमा रहेको ‘प्रतिस्पर्धा’ ले युद्ध र पर्यावरण विकासलार्ई अनिवार्य बनाएको र एउटाको मृत्युमा अर्काको उदय हुने भएको कारण पुँजीवादी प्रतिस्पर्धाको विकल्प अनिवार्य बताएका छन्् । त्यसैगरी, फिडेल क्यास्ट्रोले ‘समाजवादले अझसम्म पनि उत्पादनलार्ई प्रेरणा दिने विधि भेट्टाउनको लागि प्रयत्न गर्न सकेको छैन’ भनेका छन्् । निजी स्वामित्व प्रेरित प्रतिस्पर्धालार्ई सामूहिक स्वामित्व प्रेरित प्रतिस्पर्धामा बदल्न सम्भव छ कि छैन ? त्यसको विधि के हो ? त्यसले कति समय र कस्तो भौतिक अवस्थाको माग गर्दछ ? चीन र रुसमा त्यसको सफल प्रयोग किन भएन ? यी प्रश्नहरु आजको अर्थराजनीतिका यक्ष प्रश्नहरु हुन् । आ–आफ्ना समस्या र सबलतासहित पुँजीवाद र समाजवाद जीवनमरणको संघर्षमा छन्् ।

च) नेकपाको अन्वेषण ः उत्पादन प्रक्रिया वस्तुगतरुपले नै सामूहिक हुँदै गएको छ । हरेक उत्पादन एउटा जटिल र अनेकौँ श्रमिकको श्रम जोडिएर मात्र उपभोक्तासम्म पुग्छ । कृषिमा आधारित पछौटे उत्पादन सम्बन्धको अन्यसँगै त्यसो भएको हो । सामूहिक, सामाजिक उत्पादन चरित्र अझ जटिल र तीव्र बन्दै गएको छ । सामाजिक उत्पादनले सामाजिक स्वामित्वको माग गर्दछ । त्यसो भएन भने उत्पादक शक्तिको विकासमा अवरोध सिर्जना गर्दछ । उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोधको समाधान क्रान्तिद्वारा हुन्छ । त्यसैले सामूहिक स्वामित्वको विकल्प छैन । तर, क्रान्ति विज्ञान मात्र होइन, कला पनि हो । तसर्थ, विज्ञान सबैमा एकै समयमा र बराबर स्तरमा लागू हुँदैन । समय र स्तरमा विविधता हुन्छ । विज्ञान लागू हुनु सार्वभौम पक्ष हो भने स्तरमा विविधता र समयमा विविधता विशिष्टता हो । अर्कोतिर प्रणाली जगत्मा सामूहिकता र निजत्वभाव प्राकृतिकरुपमा नै रहेका छन्् । जङ्गलको राजा भनिने सिंहदेखि पंक्षी र किरासम्म सामूहिकरुपमा अस्तित्वमा रहन्छन्् । सन्तान र उत्पादनदेखि सुरक्षा र जीवजन निर्वाहका सामग्री जुटाउन सामूहिक प्रक्रियामा मै जानुपर्छ । त्यसो भनेर के प्रणालीहरुमा निजत्व हुँदैन ? निजत्वको निषेध होइन कि सामूहिकताको परिपूरक हुने गरी अर्थप्रणालीका नीतिहरु बन्नुपर्छ । यहाँ कुशल व्यवस्थापनको प्रश्न पनि आउँछ । हामीले यो बहस गरिरहँदा केही दूराचारी, भ्रष्टाचारी र लफङ्गाहरुले माक्र्सवादविरोधी भनिरहेका छन्् । लफङ्गाहरुलार्ई ओठे जवाफ दिन सकिन्छ । तर, गम्भीर बहस गर्न आवश्यक हुँदैन ।

सर्वहारावर्ग र कम्युनिष्टहरुले ‘सत्ता जन्माउन सफल भए तर श्रमिक जन्माउन सकेनन्’ नेकपाका महासचिव विप्लव भन्नुहुन्छ । यसको अर्थ समाजवादी सत्ताले सत्ता विलोपीकरणको दिशा समातेन बरु सुदृढ ग¥यो । रुपान्तरण भएन, सत्ता सुदृढ गर्नु भनेको साम्यवादको बाटो अवरुद्ध हुनु र जनतामाथि अधिनायकत्व लाद्नु हो । सत्ता अधिनायकत्वको विरुद्ध जनता विद्रोहमा उत्रिन्छन्् । सोभियत संघको विघटन हुनुमा यो मुख्य कारण रहेको छ । माओले कृषिमा व्यापक लगानी, आधुनिकीकरण, लघु उद्योगमा प्रोत्साहन र तल्लो तहका जनतामा व्यापक अधिकार तथा सशक्तीकरण गर्ने नीति लिनु भयो । रुसी अर्थतन्त्रको आलोचना गर्नुभयो । माओको मृत्युपछि त्यहाँ पनि प्रतिक्रान्ति भयो ।
क्रान्ति हुनसाथ जादूगरी शैलीमा कम्युनिष्ट पार्टीको श्रमिककरण हुन सक्दैन । यो कुरा रुस र चीनका अनुभवले पनि पुष्टि गरेका छन्् । अर्कोतिर स्वतन्त्र र आत्मनिर्भर अर्थनीति नभएको पार्टीले स्वतन्त्र नीतिहरु बनाउन सक्दैन वा दबाब झेल्नुपर्ने हुनसक्छ । जनतालार्ई उत्पादन प्रक्रियामा प्रशिक्षित गर्न पनि सकिन्न । सत्ताको विकल्प भनेको गँजडीगफ मात्र होइन । व्यवहारमा उत्रिनुपर्छ । व्यवहार भनेको विचारलार्ई लागू गर्ने, सिद्धान्तलार्ई भौतिक अस्तित्वमा अभिव्यक्त गर्ने प्रक्रिया हो । व्यवहारमा भ्रष्ट र पतितहरु सिद्धान्तमा पनि कमजोर हुन्न । भनिन्छ, खराब आचरण र व्यवहार खराब चिन्तनकै परिणाम हुन ।

हाम्रो पार्टीले देशव्यापी उत्पादनको कामलार्ई अघि बढाएको छ । सामुदायिक भवन र पार्टीका भवन, चौतारो, पुल–पुलेसा आदि निर्माण गर्ने गरिरहेको छ । सहिद, बेपत्ता, घाइते र अग्रजको आवास बनाएको छ । विद्यालय भवन (धादिङ), सामुदायिक भवन (रोल्पा), पार्टी भवन (ललितपुर र कपिलवस्तु), अग्रजहरुको आवास (उदयपुर र सर्लाही) यसका थोरै उदाहरण हुन् । यो क्रम भ्रुणको रुपमा रहेको छ । यो कामलार्ई अभियानकैरुपमा चलाउनुपर्छ । निर्वाहमुखी चेतना बोकेर पार्टीमा आएका ‘आया राम गया राम’ को वितण्डताबाट प्रभावित हुनुहुँदैन ।

उत्पादन र निर्माणको बहस चल्दै गर्दा क्रान्ति गर्ने पार्टीले निर्माण र उत्पादनमा किन जोड दिने ? प्रचारात्मक र बलिदानको गाथा अभिव्यक्त हुने काम मात्र गरेर भइहाल्यो नि ! भन्ने सोचाइहरु पनि छन्् । यो सोचाइमा इमानदारिता हुन सक्छ तर सही छैन । यो काम निम्न कारण गर्नैपर्छ–

१) आत्मनिर्भर पार्टी बनाउन र स्वतन्त्र नीति बनाउन स्वतन्त्र बजेट आवश्यक छ । गृहयुद्ध र राष्ट्रिय मुक्ति युद्धमा चीनमा उत्पादन ब्रिगेड नै थियो । तालिवानको वार्षिक बजेट नेपाल सरकारको भन्दा बढी थियो भनिन्छ । हामीले प्रारम्भ त गर्नैपर्छ ।

२) सत्ताले उत्पादन लुट्ने, काम गर्न नदिने र भौतिक संरचना भत्कायो भने जनता, प्रतिरोधमा उत्रन्छन्् र असन्तुष्ट हुन्छन्् । चितवनको चौतारो सशस्त्र प्रहरीले भत्काएपछि सरकार र प्रहरी बद्नाम भएको कारण नगरपालिकाले नै लगानी गरेर झन् राम्रो गरेर पुनर्निर्माण गरिएको उदाहरण छ ।

३) पार्टी र जनताका भौतिक संरचना भत्काउँदा, नष्ट गर्दा लुटपाट गर्दा सरकार अन्तर्राष्ट्रियरुपमा बद्नाम हुन्छ । यो गैरन्यायिक हत्यासरहको कार्य हो ।

४) जनताको सम्पत्ति सरकारले (सेना, प्रहरी, गुण्डा) क्षति पु¥याउँछ भने सत्तारुढ पार्टी, समर्थन गर्ने शक्ति र सरकारी सम्पत्ति नष्ट गर्ने नैतिक अधिकार विद्रोही पक्षलार्ई हुन्छ । यो क्रान्तिको लागि लगानीसरह हुन्छ । यस्ता विभिन्न कारणले गर्दा उत्पादन र निर्माणको काम आजदेखि नै गर्नुपर्छ ।

५) प्रहरी र सेनाले जनताको सम्पत्ति नहट गरे भने समानान्तर सत्ताको माग हुनेछ।

निष्कर्स: हामीले समाजवादी अर्थव्यवस्थाको समीक्षा र नयाँ सोचहरु बहसमा ल्याएका छौँ । माक्र्स–एंगेल्स, लेनिन, स्टालिन, माओका योगदानहरु महान् छन्् । तर, अग्रजको भजन गाएर वर्तमानको नेतृत्व हुँदैन । त्यसो भनेर समृद्ध अनुभवको ‘निषेध होइन, प्रतिस्थापन’ गर्न चाहन्छौँ । जसरी आइन्सटाइनले आईज्याक न्यूटनलार्ई निषेध गरे भन्नेहरु पनि थिए । तर, हकिङ्ग्सले भौतिक विज्ञानमा न्यूटनलार्ई आइन्सटाइनले प्रतिस्पर्धा गरेको तथ्य स्पष्ट गरेका थिए । समाज विज्ञानमा पनि हाम्रो प्रतिस्थापनको नियम लागू गर्न चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार