काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर (विषम) ले दमनबाट कहिल्यै पनि क्रान्ति नरोकिने बताएका छन् । चार वटा पार्टीहरुको संयुक्त विरोधसभालाई सम्बोधन गर्दै विषमले राज्यले क्रान्तिकारीलाई दमन गर्न खोजेपनि क्रान्ति नरोकिने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजपादी कम्युनिस्ट पार्टी, नेकपा र नेकपा माओवादी केन्द्र समाजवादीले देशभर अमेरिकी सहयोग परियोजना एमसीसी, सैन्य सम्झौता एसपीपी र नेकपा महासचिव विप्लव लगायतका नेता तथा कार्यकर्तामाथि जारी पक्राउ पुर्जीको विरोधमा संयुक्त विरोध सभाको आयोजना गरिएको थियो ।
सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिदै विषमले क्रान्तिकारीलाई दवाउन खोजे त्यसको प्रतिकार गर्ने बताए । ‘हामी नेपालमा शान्ति चाहान्छौँ, स्थायित्व चाहान्छौँ । हामीलाई जिस्काएर राज्यले जबरजस्त द्वन्दमा धकेल्न खोज्दैछ ।’, सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा नेता तथा कार्यकर्तालाई स–सम्मान रिहाइ गरेर झुटा मुद्धा खारेज गर्नुको सट्टा राज्य पक्राउ पुर्जी जारी गर्दैछ । राज्यले जबरजस्त द्वन्दमा धकेले हामी चुप लागेर बस्दैनौँ । त्यसको प्रतिकार गछौँ ।’
एक अर्को प्रसंगमा विषमले राज्यले विदेशीहरुको इसारामा नेपाललाई उपनिवेश बनाउन खोजे भियतनामी जनता जसरी लड्न तयार रहेको बताए । ‘अमेरिकाको दवावमा एमसीसी र एसपीपी जबरजस्त नेपालमा लाद्न खोजिदैछ । विदेशी सेनालाई नेपालमा भित्र्याउने, नेपाली सेनालाई अगाडी सारेर सहमति गर्न लगाउने र नेपाललाई युद्ध मैदान बनाउने रणनीति अनुसार राज्य लागेको छ ।’, उनले भने, ‘यसरी विदेशीको गुलामी भएर नेपाली जनतामाथि दमन गरिन्छ भने हामी हातमा दहि जमाएर बस्दैनौँ । भियतनामि जनता जसरी लड्न तयार छौँ ।’
नेकपाका अध्यक्ष ऋषि कट्टेलले चार पार्टीहरुले घोषणा गरेको आन्दोलनमा सहभागी हुन सबै जनतालाई आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै उनले सडकमा जनताको उपस्थिति कमजोर देखेर चार कम्युनिस्ट पार्टीलाई नजरअन्दाज गरेको भन्दै एमसीसी र एसपीपीका विरुद्धमा सडकमा आउन आग्रह गरेका हुन् । ‘देश भागवण्डामा चलेकाले विदेशीहरुले हेपिरहेका छन । यसको अन्त्यका लागि हामी संघर्षमा आएका छौँ । राज्यले यसलाई कमजोर नठानोस् ।’ उनले भने, ‘७ गतेको नेपाल बन्दलाई सफल पारेर राज्यलाई थप दवाव दिउँ । जसले गर्दा यो सरकार एमसीसी र एसपीपी नेपालबाट फिर्ता गर्न बाध्य होस् ।’
नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील)ले नेपालका राजनीतिक दलहरुले सिद्धान्त विर्सिएकाले जालझेल र षड्यन्त्रको धन्दा चलाएको बताए । ‘नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा आनाकानी गर्नु र पक्राउ पुर्जी जारी गर्नु जालझेल षड्यन्त्र हो । षड्यन्त्र गरेर राज्यले शान्ति विथोल्दै जबरजस्त युद्धमा धकेल्न खोजेको छ ।’, विरोधसभालाई सम्बोधन गर्दै सुशीलले भने, ‘यदी त्यस्तो हो भने नेपाल श्रीलंका बन्न सक्छ । महङ्गीका कारण नेपालमा १० देखि १२ लाख सेना जन्मिनेछ । त्यसको नेतृत्व हामी गर्न गछौँ । किनकी हामीसँग युद्दको नेतृत्व गरेको अनुभव छ ।’
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य राजेश्वरी सुवेदीले पनि सभालाई सम्बोधन गरेकी थिइन् । सभाको संचालन नेकपा केन्द्रीय सदस्य रामलाल विश्वकर्माले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.