हामी कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनौं, दमनको प्रतिरोध गछौं:सन्तोष बुढा मगर

डेली न्युजराप्ती       ८ भाद्र २०७९ १२:५४ मा प्रकाशित     1224 No Comments


३ बुँदे सहमति उलङ्घन गरिएपछि सुरक्षा गार्ड फिर्ता गरेका हौं: नेता सन्तोष
दाङ। नेकपाका सचिवालय सदस्य सन्तोष बुढा मगरले देउवा प्रचण्ड गठबन्धनको सरकारले महासचिव विप्लव, प्रकाण्डलगायत आफुहरुमाथि पक्राउ पुर्जी जारी गरेर ३ बुँदे सहमति उलंघन गरेकोले महासचिव विप्लवको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पीएसओ) फिर्ता गरेको बताउनुभएको छ । नेता बुढा मगरले सरकारको पछिल्लोे रबैयाका कारण सुरक्षा गार्ड (पीएसओ) फिर्ता गर्नुपरेको भन्दै सरकारले बाध्य भएर आफुहरुलाई भूमिगत हुन बाध्य पार्न खोजिरहेको बताउनुभयो । उहाँले सरकारले ३५ दिने पक्राउ पुर्जी काटेर गम्भीर षड्यन्त्र गरिरहेको बताउदै पार्टीले यसको सामना गरेर जाने बताउनुभयो । उहाँले भन्नुभयो, “३ बुँदे सहमति विपरित पक्राउ पुर्जी काटेर राज्यले गम्भीर बेइमानी गरेको छ ।” उहाँले राज्यले आफुहरुलाई दबाब दिएर आत्मसमर्पण गराउन खोजिरहेको भन्दै त्यो षड्यन्त्र कुनै हालतमा सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देउवा सरकारको त्यो दिवासपना मात्र हो ।” उहाँले पक्राउ पुर्जी जारी गरिएपछि नेपाल सरकार र नेकपाका बीच ३ पटकसम्म उच्चस्तरको भेटघाट र छलफल भएको समेत खुलासा गर्नुभयो । उहाँले भेटघाटको क्रममा सरकार पक्ष सहमति कार्यान्वयन गर्नेमा इमानदारिता नदेखाएको भन्दै ३ बुँदे सहमति कार्यान्वयन नगरिए जनताको बीचमा फर्किने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार दमनमा आयो भने झुक्दैनौं, जनताको बीचमा फर्किन्छौं ।” उहाँले पार्टीले यसका विरुद्ध जमेर प्रतिरोध गर्ने समेत बताउनुभयो । उहाँले प्रतिप्रश्न गर्नुभयो, “यदि सरकार दमनमा उत्रियो भने लड्ने कि आत्मसमर्पण गर्ने ? हामी कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनौं, प्रतिरोध गछौं ।”सरकारले घोषणा गरेको संघीय र प्रदेश चुनावबारे टिप्पणी गर्दै नेता बुढा मगरले देउवा सरकारले घोषणा गरेको चुनावको औचित्य नभएको बताउनुभयो । उहाँले नेकपामाथि दमन गरेर चुनाव सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हाम्रो पार्टीलाई जबर्जस्ती युद्धमा धकेलेर चुनावको घोषणा गर्नुको औचित्य छैन ।”सुरक्षा गार्ड फिर्ता गरिएको बारे नेपाल सरकारलाई जानकारी गराइएको भन्दै बुढा मगरले भन्नुभयो, “महासचिव विप्लवको सुरक्षा गार्ड फिर्ता गरिएको बारे सरकारलाई औपचारिक चिठी लेखेर जानकारी गराइएको छ ।” उहाँले यसबारे चार कम्युनिस्ट पार्टीको संयुक्त मोर्चाको बैठकमा समेत छलफल गरिने समेत बताउनुभयो ।पछिल्लो पटक सुरक्षा परिषदको बैठकले आगामी चुनावमा नेकपालाई मुख्य सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार