साफ महिला च्याम्पियनसिपमा पहिलोपटक भारत बिरुद्ध नेपालको सानदार जित

डेली न्युजराप्ती       ३१ भाद्र २०७९ २१:०३ मा प्रकाशित     155 No Comments


काठमाडौं – साफ महिला च्याम्पियनसिपमा नेपालले भारत बिरुद्ध सानदार जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराउदै नेपालले भारत बिरुद्ध सानदार जित निकालेको हो ।

पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी(बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरेकी थिइन् । मैदानको आफ्नै भागबाट आएको लङ पासमा उत्कृष्ट ड्रिबलिङ गर्दै प्रिति राईले रश्मीलाई पास उपलब्ध गराएकी थिइन् । खेलको सुरुवातमा भारतले दबाब बनाएपनि त्यसपछि नेपाल आक्रामक देखिएको थियो। दोस्रो हाफको सुरुवातमै भारतीय गोलरक्षकले लगातार उत्कृष्ट बचाउ गरिन् ।

५० औँ मिनेटमा अनिता जैँसीको उत्कृष्ट हेडरलाई भारतीय गोलरक्षकले गोल लाइनबाट जम्प गर्दै क्लियर गरिदिएकी थिइन् । एक मिनेटलगत्तै रश्मि घिसिङको प्रहारलाई पनि भारतीय गोलरक्षकले विफल बनाएकी थिइन् । ६५ औँ मिनेटमा प्रिति राईले डी(बक्सबाट गरेको प्रहार साइड बारको नजिकैबाट बाहिरिएको थियो ।

८३ औँ मिनेटमा नेपालकी कप्तानसमेत रहेकी गोलरक्षक एन्जिला तुम्बाहाम्पो लिम्बुले शानदार बचाउ गर्दै नेपालको संकट टारेकी थिइन् । नेपाल यो खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारीबिना नै उत्रिएको थियो । बिरामी भएका कारण सावित्रा सुरुवाती ११ मा थिइनन् । उनको स्थानमा सुरुबाटै खेल्ने मौका पाएकी प्रितीले शानदार प्रदर्शन गरिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपमा भारतलाई पहिलोपटक हराएको हो। यसअघि सम्पन्न पाँच संस्करणमध्ये चारवटामा फाइनल पुगेपनि नेपाललाई भारतले ती सबैमा निराश बनाएको थियो । नेपाल अर्को एक संस्करणमा भारतसँग पराजित भएर सेमिफाइनलबाट बाहिरिएको थियो।

नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोलले हराउँदै बंगलादेश फाइनल पुगेको हो। प्रतियोगिताको फाइनल आगामी सोमबार दशरथ रंगशालामा हुने छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार