एजेन्सी ८,असाेज । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन थप चर्किेएकाे छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परेर ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।
यसअघि १७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिराशतमै ज्यान गएको थियो । त्यसपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको हो ।
यो घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । इरानले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलन थप चर्किएको बीबीसीले जनाएको छ ।
झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् । एम्नेस्टी इन्टरनेसनलसहित मानवअधिकारवादी संघसंस्थाले प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.